|

काठमाडौँ : व्यवसायीहरूले अन्तरराष्ट्रियस्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनीस्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन्। 

बिहीवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ९औँ अन्तरराष्ट्रिय व्यापार मेलामा बोल्दै व्यवसायीहरूले यस्तो माग गरेका हुन्। उनीहरूले नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनीस्थल नभएकाले समस्या भोग्नु परेको बताए। 

व्यवसायीहरूले सरकारसँग विगत लामो समयदेखि माग गर्दै आए पनि प्रतिबद्धताअनुसार अहिलेसम्म काम गर्न नसकेको गुनासो गरे। उनीहरूले सरकारले नेपाली उत्पादनको निर्यात वृद्धिका लागि अन्तरराष्ट्रियस्तरमा गुणस्तरी व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनीस्थल नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा उपयुक्त प्रदर्शनस्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको गुनासो गरे। उनले औद्योगिक व्यापार मेलाहरूको आयोजनाहरूमा उद्योग वाणिज्य संघ संस्थाबाहेक अन्य संस्थालाई रोक लगाउन पनि सरकारसँग माग गरे।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले पनि नेपालमा व्यापार मेलाहरूलाई स्थिररुपमा अगाडि बढाउनका लागि स्थायी प्रदर्शनी भवन काठमाडौँ र प्रदेशहरूमा आवश्यक रहेको बताए।

उद्योगी व्यवसायीहरूले स्तरीय प्रदर्शनस्थल बनाउनका लागि सरकारले काठमाडौँको सेतोपुलमा ९ रोपनी र चोभारमा जमिन तयार पारेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मुकुन्दप्रसाद निरौलाले बताए। उनले निजी क्षेत्रसँग चाँडै छलफल गरेर दुईमध्ये कुन स्थानमा बनाउने भन्नेबारे टुङ्गो लगाउने बताए।

महासंघले आयोजना गरेको अन्तरराष्ट्रिय व्यापार मेलामा पाँच दिनसम्म चल्नेछ। मेलामा नेपाली मौलिक उत्पादनबाट बनेका सामग्रीदेखि भारत, चीन, बंलादेशमा बनेका वस्तु प्रदर्शनमा राखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.