|

पर्वत : लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाको दुर्गम ठाउँ मादी गाउँपालिका–१ सिक्लेसमा पुगेर प्रशिक्षण दिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा नै उपस्थित भएर सहभागीहरूलाई लैङ्गिक हिंसाको कारण, अवस्था र समाधानको उपायको बारेमा प्रशिक्षण दिएका छन्। स्थानीय जनप्रतिनिधि,  आमा समूह, होटेल व्यवसायी सङ्घ, भद्र भलाद्मी, बुद्धिजीवी, समाजसेवी, क्लबका पदाधिकारी लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

प्रशिक्षण गर्दै प्रहरी उपरीक्षक थापाले लैङ्गिक हिंसाबाट महिला, पुरुष वा अन्य लिङ्गी जो कोही पनि पीडित हुन सक्ने बताए। नेपालको सामाजिक संरचनामा शिक्षा, स्वास्थ्य, रोजगार, सम्पत्ति र निर्णय प्रक्रियामा महिलाको कम पहुँच रहेको तथा स्रोतको परिचालन, शक्तिको प्रयोगमा पनि महिलाले कम अवसर पाइरहेको उनको भनाइ छ। पुरुष प्रधान पारिवारिक संरचनामा पुरुषको नियन्त्रण बढी हुँदा पनि लैङ्गिक हिंसाबाट महिलाहरू बढी पीडित भएको उल्लेख गरे। तर लैङ्गिक हिंसा भनेको महिलामाथि हुने हिंसा मात्रै नभइ एक पक्षबाट अर्को पक्षमा पनि हुने थापाले बताए।

समाजको अवस्था हेर्दा लैङ्गिक हिंसाबाट महिला बढी पीडित रहेकोले यसको विरुद्धमा महिला र पुरुष सबैको ध्यान जान आवश्यक रहेको प्रहरी उपरीक्षक थापाले बताए। लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउनु, शिशु हत्या, शारीरिक हिंसा तथा खाना तथा स्याहार र स्वास्थ्य सुविधाको पहुँचमा छोरीमाथि गरिने विभेद, बाल यौन दुर्व्यवहार र शिक्षामा छोरीलाई गरिने भेदभाव, बाल वेश्यावृत्ति, महिला बेचबिखन, यौन दुर्व्यवहार, बलात्कार, श्रम शोषण, बाल विवाह, मन्जुरी बिनाको विवाह, विवाहपछि हुने घरेलु हिंसा, वृद्ध अवस्थाका वा एकल महिलाप्रति हुने दुर्व्यवहार नेपाली महिलामाथि प्राय भइरहेका दुर्व्यवहार भएको उनको भनाइ छ।

कार्यक्रममा सहभागी सिक्लेसका वडाध्यक्ष देवीजंग गुरुङले ग्रामीण क्षेत्रमा पनि उपस्थित भएर लैङ्गिक हिंसाको बारेमा जानकारी दिएकोमा प्रहरीलाई आभार व्यक्त गरे। लैङ्गिक हिंसा बिरुद्धको अभियान होस वा अन्य सचेतनामूलक कार्यक्रमहरू अधिकांश बजार केन्द्रित भएरै सकिने भए पनि कास्की प्रहरीले भने बजारबाट टाढाको बस्तीमा पुगेर हिंसाका बारेमा सिकाउँदा हिंसा न्यूनीकरणमा सहज हुने उनको भनाइ छ। सो अवसरमा बोलेका स्थानीय बासीले कास्कीका प्रहरी  प्रमुखको उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम भएकोमा खुसी व्यक्त गरे।

सोही अवसरमा सिक्लेसमा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको कक्षा नौ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई समेत बाल अधिकार, बालबालिकामाथि हुन सक्ने अपराध तथा अपराधबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी र साइबर अपराधबाट बच्ने उपायहरूको बारेमा प्रहरी उपरीक्षक थापाले नै प्रशिक्षण दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.