|

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।

बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबीघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताएका हुन्।

उनले उज्यालो अभावकै कारण अकालमा ज्यान गुमाउनुपर्ने कुराको अन्त्य गर्न महानगर लागिपरेको बताए। उनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने बताए।

मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए।

उनले दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुने बताए।

उनले भने, ‘हामीले यो रिङ रोडमा धेरै दुर्घटना परिघटना भइरहेका छन्। तर त्यसको मुख्य कुरा भनेको बत्ती नबलेर नै हो। कुसुन्तीमा अहिलेसम्ममा २४ जना मान्छे अकालमै मृत्यु भयो, धोबिघाट कीर्तिपुर जोन बाटोमा ३४ जनाको अकालमा मृत्यु भयो। तर ती घटनाहरु भइरहँदा प्रायः रात्रिकालीन बत्ती नभएको कारणले नै हो। हामीले त्यहाँ बत्ती बाल्नको निमित्त १० दिन भित्रमा टेण्डर छाप्दैछौँ। त्यसपछि ललितपुर महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बल्छ। यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ। १ करोड २० लाख विद्युत प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ।'

मेयर महर्जनले रात्रीकालीन अवस्थामा जहाजमा चढेर काठमाडौं उपत्यका हेर्दा उज्यालो देखिने शहर ललितपुर हुने बताए। महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि

चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो। महानगरले पहिलो चरणमा ६६९ थान सडक बत्ती जडान भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.