|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरूको भुक्तानी दिए मात्रै अर्थतन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताए।

उनले अहिले पनि अर्थतन्त्र संकटमा रहेको बताए। उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे।

उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताए।

उनले भने, ‘अर्थतन्त्र संकटमा छ, यसमा धेरै बहस गर्नै परेन। कसले के गीत गाउँछ, त्यो छुट्टै कुरा हो। कसले आफ्नो फेस सेभ गर्नका निम्ति के भन्छ त्यो अलग कुरा हो। तर जसरी भयावह छ की, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो। घाँटी घाँटी नै अठ्याउन थाल्यो की भन्ने अवस्था अलि होइन। त्यत्ति धेरै निराशा बाँड्न पनि हुँदैन। साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौँ। श्रीलंका नै बन्न थाल्यो भन्ने होइन। भुक्तानीको कुरा छ, भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान व्यहोरिरहेका छौँ। हामी आफैँ माग्ने पक्ष जस्तो भएका छौँ। सरकारको एउटा पार्टनर भए पनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, दौडिरहनुपर्ने, भनिरहनुपर्ने छ। अघिल्लो आर्थिक वर्षमा जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भए पनि त्यसलाई भुक्तानी दिनुपर्छ। हामीले धेरै भुक्तानी गरिसक्यौँ केही बाँकी छ, लागिरहेका छौँ।'

मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.