|

काठमाडौं : दोलखाको फलेक हुँदै चीनबाट साढे ११ किलो सुन तस्करी प्रकरणका प्रतिवादी ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत दोलखाले ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदै ३ जनालाई धरौटी र २ जनालाई साधारण तारेखमा छाड्न आदेश गरेको हो।

दोलखा प्रहरीले पटक पटक गरी साढे ११ किलो सुन बरामद गरेको थियो भने सुन तस्करीको संलग्न १४ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुसहित गिरोहमा संलग्न २६ जनाविरुद्ध जिल्ला अदालतमा दायर अभियोगपत्रको थुनछेक बहसमा न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार आदेश दिएका हुन्।

श्रेष्ठको इजलासले चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन आदेश दिएको छ।

उनीहरुले धरौटी रकम नबुझाएकाले अहिलेसम्म थुनामुक्त नभएका दोलखा प्रहरीले जनाएको छ। प्रतिवादीहरु सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न आदेश भएको छ। गिरोहका दावा भनिने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनामा पठाएको हो।

सुन तस्करीको घटनामा संगठित अपराधको कसुरसमेत आकर्षित हुने भएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले पनि अनुसन्धान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.