|

काठमाडौँ : नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन इन्जिनियसहितको टोली परिचालन गरेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रमा बासिन्दासँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन विज्ञहरूसहितको टोली परिचालन गरेको हो।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरूसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए। उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेमा अभियानले ध्यान दिने पनि बताए। लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्ग डिजाइन गरेर भए पनि लोकमार्गको दूरी छोटो बनाउने विषयमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताए।

उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभई मध्यपहाडी लोकमार्गबाटै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको बताए।

उनले भने, ‘योपटकको यात्रामा पुष्पलाल लोकमार्गलाई अझ छोटो पार्ने उपायतर्फ हाम्रो ध्यान जान्छ। कम्तिमा डबल लेनमा यसको स्तरोन्नति गर्नेमा ध्यान दिनेछौँ। दूरी छोटो गर्ने सन्दर्भमा ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन कहाँ गर्ने त्यो अध्ययन गर्छौं।’

नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली–मेची अभियान शुरु गरेको हो। तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४।०६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलोपटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए।

भट्टराई २०६८ मा प्रधानमन्त्री भएका वेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो। १ हजार ८७९ किलोमिटरमध्ये ४६२ किलोमिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ।

पाँचथरको चियो भञ्ज्याङबाट शुरु हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ। लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेड एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.