|

काठमाडौँ : सन् २०१२ तिर समलिंगी विवाह गरेका ३५ वर्षीय सन्तोष राई (दिया)को न्यूरोड आकाशे पुलको शौचालयमा कार्तिक १२ गते बेहोस भेटिए।

दियाको कार्तिक २५  गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। उनी रत्नपार्कको सार्वजनिक शौचालयमा सरसफाइ गर्थे। दियाको मृत्यु भएको २१औँ दिनमा मात्रै परिवारले थाहा पायो।

‘मायाको पहिचान नेपाल’ले परिवारलाई मृत्यु भएको खबर दिएपछि दियाको पोष्टमार्टम भएको छ। आफन्त कोही नपुग्दा २२ दिनदेखि शिक्षण अस्पतालको शव गृहमा राखिएको दियाको शव परिवारले शनिवार बुझेका छन्। 

मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री (मधु), सचिव सुरेन्द्र पाण्डे र सुरेश भुजेल (नाम परिवर्तित)ले दियाको परिवार पत्ता लगाएका थिए। 

शुक्रबार शिक्षण अस्पताल पुगेर दियाको पहिचान गरेका उनीहरूले ललितपुरको कुसुन्तीमा बस्ने आमा, दाई, भाउजुलाई घरमै पुगेर मृत्युको जानकारी दिएका थिए। 

उनीहरूले शुक्रबार मुश्किलले दियाका आफन्त बस्ने घर पत्ता लगाएको बताए। घर पत्ता लगाएर मृत्युको खबर दिएका उनीहरूले शनिवार जनसेवा प्रहरी कार्यालयमा निवेदन दिन लगाएका थिए। जनसेवा प्रहरीले परिवारको निवेदन लिएर शवको पोष्टमार्टम र शव बुझाउने पत्र दिएको थियो। 

दिया यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य थिए। उनले घरमा संस्थामा काम गर्छु भनेका उनका दाईले बताए। 

‘हामीलाई संस्थामा काम गर्छु भन्थ्यो, घर नआएको पनि ६ वर्ष भएको थियो, कहाँ गयो होला भनेर आमा चिन्तित हुनुहुन्थ्यो,’दियाका दाईले भने, ‘त्यस्तो बनेर हिडेको रहेछ, उहाँहरू (मधु, सुरेन्द्र र सुरेश) हिजो आएर भनेपछि आमा रातभरी रोएर बस्नु भयो।’ 

दिया नील हिरा समाजमा गइरहन्थे तर उनलाई रोजगारी थिएन। विहान, बेलुकाका छाक टार्न दियाले शौचालयमा काम गर्नु परेको थियो।
‘संस्थामा काम गर्ने भने पनि शौचालयमा बस्दो रहेछ,’दाईले भने, ‘घरमा बस्न धेरै अनुरोध गर पनि बसेन।’
 
दियाका दुइ दाई छन्। बुबाको १० वर्ष अघि नै मृत्यु भएको थियो। बुबाको काजक्रियामा आउँदा अब त्यसरी बाहिर नजान भनेको उनकी भाउजुले बताइन।

‘एउटा पसल राखेका छौँ, पसलमै बस्नु न बाबु भनेको थिए,’ भाउजुले भनिन्,  ‘मान्नु भएन, पछि त आउनै छाड्नु भयो।’ 

दियाको खोजी गरिरहे पनि पत्ता लगाउन नसकेको परिवारले एकै पटक मृत्युको खबर सुन्नु पर्यो। दियाका दुई दाइलाई पुख्र्यौली घर कहाँ हो भन्ने समेत पत्तो छैन।

‘बुबा आमा नै अरुको घरमा आएर काम गर्नुहुन्थ्यो, हामी यतै हुर्कियौँ, ’दियाका दाइले भने,‘आमाको माइती समेत थाहा छैन, हाम्रो पुख्र्यौली घर कहाँ हो कहाँ।’

मायाको पहिचान नेपालको पहलमा शनिवार दियाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। शव गृहमा राख्दाको खर्च मध्ये १३ हजार रुपैयाँ मायाको पहिचान नेपालले सहयोग गरेको छ। 

आर्थिक अवस्था कमजोर भएका दियाको परिवारलाई शव निकाल्न सहयोग गरेको उपाध्यक्ष मधुले बताए। ​दिया भनेर पहिचान बनाएर सन्तोषले अस्पतालमा रिजन श्रेष्ठ भनेर नाम टिपाउँदा पत्ता लगाउन केही समय लागेको मधुले बताए। 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्न मायाको पहिचान नेपालभन्दा अगाडि स्थापना भएका संघ संस्थाको सहयोग नहुँदा समलिंगी विवाह गरेका दियाले विष सेवन गरेर प्राण त्याग गर्नुपरेको उपस्थित केहीले सुनाए।

मृत्यु हुँदा समेत आफूलाई घगरान एक्टिभिष्ट भन्नेहरुको सहयोग पाएनन् दियाले। भर्खरै खुलेको मायाको पहिचान नेपालले सदस्यहरुबाट सहयोग संकलन गरेर दियाको शव व्यवस्थापन गर्यो। 

पशुपति आर्यघाटमा दियाको शवमा मायाको पहिचान नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएको छ। १३ मंसिरमा लमजुङको दोर्दी गाउँपालिकामा पहिलो इन्द्रेणी विवाह दर्ता गराउन सफल माया गुरुङ्ग दियाको मृत्युमा भावविह्ल भइन्। 

अन्तिम श्रद्धाञ्जलीमा माया रोइन। ‘मेरो भन्दा अगाडि समलिंगी विवाह गरेका थिए, ’मायाले भनिन्, ‘मेरो पहिलेदेखि नै चिनाजान थियो, दियाको आत्माले शान्ति पाओस, यस्ताे मृत्यु कसैकाे नहाेस्।’ 

वेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका एक व्यक्तिको शव वेवारिसे अवस्थामा रहेको सुनेको बताए। यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको यसरी अकालमा ज्यान गइरहेको छ। 

 ‘मैले पनि सुनेको थिए,’ बस्नेतले मायासँग भने,  ‘तपाईहरुले व्यवस्थापन गर्नु भएछ, धन्यवाद छ, यहाँ राज्यले केही गर्दैन।’ 
बस्नेतले दुर्गा प्रसाईंको आन्दोलमा पक्राउ परेको भनेर गलत प्रचार भएको प्रष्टिकरण पनि दिए। 

केही सञ्चारमाध्यमहरुले आफ्नो बारेमा भ्रमपूर्ण अफवाह फैलाएको उनले बताए। 

‘वेवारिसे अनागरिकको सेवामा खटिरहेको छु, लाश जलाउने काममा आफैँ लागेको छु, असहायहरुलाई खाना खुवाउने गरेको छु, ’बस्नेतले भने, ‘मलाई जिउँदा लाशहरुसँग डर छैन, राजनीतिक स्वार्थ पूर्तिका लागि समाज सेवाको खोल ओड्नेहरुसँग कुनै डर छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.