|

काठमाडौं : २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए। १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन्।

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनीसमेत हुन छाडेको छ।

उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ। सरकारले फाहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ।

फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ। उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए।

किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे। उत्पादन भएको फलफूल तरकारीसमेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ।

यस क्षेत्रका किसानहरु लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन्। ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २,ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे।

उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गरे। कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु,काउली, गोलभेंडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताए।

उनले बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको दुखेसो गर्नुभयो। उहाँले कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेका बताए।

उनले फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरिएको बताए।

त्यस्तै, उक्त क्षेत्रका अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ। कृषक बजगाईंले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानविय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए।

उनले ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको बताए। उनले उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरुको महेनत समेत खेर जान लागेको बताए।

ककनी फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले पनि कृषि उत्पादन अन्नबालीदेखि फलफूलमा विभिन्न रोगहरु लाग्नाले उत्पादन ह्रास आउन थालेको बताए।

उनले यो क्षेत्रमा उत्पादन हुने सुन्तला, कागती र मौसमहरुमा किरा लाग्ने थालेको बताए। उनले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने बताए।

उनले राज्यले काठमाडौं उपत्यकाले उब्ज्याएको फोहोरको रोग नुवाकोट ककनीवासीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको बताए।

अर्को स्थानीय कृषक मनिष ढुङ्गानाको पीडा पनि अरु किसान र स्थानीयको भन्दा फरक छैन। कृषक ढुङ्गानाले मानविय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि उत्पादनमा ह्रास आउन थालेको बताए।

उनले काठमाडौं उपत्यकाको फोहोर अस्तव्यस्त रुपमा नुवाकोट सिसडोल र बञ्चरेडाँडामा फाल्दा फोहोरको दुर्गन्ध कम गर्न हालिएको केमिकलहरुले मानवीय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको पनि बताए।

उनले भने,‘राज्य काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानवीय स्वास्थ्य समस्या प्रमुख असर हो। मानवीय स्वास्थ्य समस्या मात्रै नभएर फोहोरको गन्धको कारण कृषि बालीहरु उत्पादनमा समेत असर परेको छ। जसको असरले कृषि उत्पादनमा ह्रास आउन थालेको छ। काठमाडौं उपत्यकाको फाहोर अस्तव्यस्त रुपमा फोहोर फालेको छ। अझ फोहोरको दुर्गन्ध कम गर्न विभिन्न केमिकलहरु प्रयोग गरेको छ। तर फोहोरको गन्धले भन्दा पनि केमिकलले मानविय स्वास्थ्यमा बढी प्रभाव पार्ने थालेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.