|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले धरौटीमा बुझाएका तीनजनासहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने भएको छ। 

उच्चले धरौटीमा छाड्न आदेश दिए पनि केन्द्रीय कारागारमा रहेका तीन जनाले आइतबार धरौटी बुझाएर पनि रिहा भएनन्। धरौटी बुझाउनेहरू हरिभक्त महर्जन, नरेन्द्र केसी र शमशेर मियाँ थिए।

उनीहरूमध्ये हरिभक्तले १५ लाख, नरेन्द्र र शमशेरले जनही १०/१० लाख धरौटी बुझाएका हुन्। उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेकाले रिहा नगरिएको केन्द्रीय कारागारका प्रमुख ललित बस्नेतले जानकारी दिए।

उनीहरुलाई आज कार्यालय खुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइने उनको भनाइ छ। धरौटी बुझाएका तीनजनासहित साधारण तारेखमा छाड्न आदेश भएका आषिश  बुढाथोकीलाई पनि त्यतै बुझाइने बस्नेतको भनाइ छ। उनीहरुको मुद्दा अख्तियार र  सम्पत्ति शुद्धीकरणमा पनि भएकोले छाड्न नसकिएको बस्नेतले जानकारी दिए। 

उच्चले यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राई र आङटावा शेर्पालाई थुनामै पठाउने काठमाडौं जिल्ला अदालतको आदेश  सदर गरेको थियो। यस्तै सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ। 

 टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न उच्च आदेश दिएको थियो।  धरौटी नबुझाएका अन्यको हकमा भने धरौटी बुझाएपछि निर्णय हुने प्रमुख बस्नेतले बताए। 

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको थियो। उनको मुद्दामा न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशका लागि पठाइने भएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.