|

पर्वत : विद्यार्थीको संख्या घट्न थालेपछि पर्वतमा पहिलो पटक दुई क्याम्पस गाभ्न लागिएको छ।

२०४८ सालमा स्थापित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा खुलेको शिवालय बहुमुखी क्याम्पस ‘मर्ज’ गरेर सञ्चालन गर्ने तयारी गरिएको हो। अहिले गुप्तेश्वरमा स्नातकोत्तरसहित २६२ शिवालय बहुमुखी क्याम्पसमा २६८ विद्यार्थी अध्ययनरत छन्।

गाभ्ने तयारीस्वरूप दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठ उपसमिति गठन गरिएको छ। क्याम्पस मर्जका लागि कानुनी प्रावधानको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाका समेत प्रस्तुत गर्ने काम यिनै उपसमितिले गर्नेछन्।

भोलानाथ शर्माको संयोजकत्वमा विधान मस्यौदा उपसमिति, कमलनाथ शर्माको संयोजकत्वमा इतिहास लेखन उपसमिति, इन्द्रमान खत्रीको संयोजकत्वमा चन्दादाता संकलन उपसमितिको गठन गरिएको छ। यसैगरी पृथ्वीनारायण शर्माको संयोजकत्वमा जनशक्ति आवश्यकता लेखाजोखा तथा नियुक्ति सिफारिस उपसमिति र मीनप्रसाद श्रेष्ठको संयोजकत्वमा जिन्सी सम्पत्ति अभिलेख संकलन उपसमिति गठन गरिएको छ।

एकीकरणलाई प्रभावकारी बनाउनका लागि विषम कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक अभियान सञ्चालन उपसमिति, विष्णु नेवारको संयोजकत्वमा समुदाय सम्बन्ध परिचालन उपसमिति र कमलनाथ पोख्रेलको संयोजकत्वमा आन्तरिक लेखा परीक्षण उप समिति गठन गरिएको छ।

क्याम्पस एकीकरण गर्नका लागि निर्णय लिनुपूर्व समितिले विभिन्न व्यक्तिको समेत राय लिएर आफ्नो सुझाव क्याम्पसका व्यवस्थापन समितिसमक्ष पेश गर्नेछन् एकीकरण समितिका संयोजक गोविन्द पहाडीले ती समितिको काम कर्तव्य र अधिकार समेत सार्वजनिक गरिएको जानकारी दिँदै तिनका सुझावका आधारमा क्याम्पस गाभिने बताए।

दुवै क्याम्पस समुदायका साझा सम्पत्ति भएकाले सबै पक्षको सहयोग र सहकार्यमा क्याम्पसको एकीकरण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष वसन्त कुमार कर्माचार्य बताउँछन्। क्यापसको एकीकरणमा सबै प्रकारका कानुनी प्रावधान समाधान गरेर छिटो भन्दा छिटो एकीकरण गरिने शिवालय बहुमुखी क्याम्पसका अध्यक्ष हरि ओम शर्मा लामिछानेले बताए।

पब्लिक क्याम्पस संघ, पर्वतका अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्ष वसन्तकुमार कर्माचार्य र हरि ओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरू सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्यदलले ६ महिनाअघि शुरु गरेको अध्ययन र सहकार्यबाट तयार भएको एकीकरण दस्ताबेजको आधारमा दुवै क्याम्पसलाई एकीकरण प्रक्रिया टुङ्गोमा पुर्‍याउन लागिएको हो। बैठकले पाँच सदस्यीय कार्यदलको विस्तार गरी १३ सदस्यीय अधिकार सम्पन्न कार्यदल गठन गरी ६ बुँदा रहेको कार्यादेश स्वीकृत गरेको थियो। गत माघ १६ गते भित्र दुवै क्याम्पसले वार्षिक साधारण सभा सम्पन्न गरी एकीकरणको प्रस्तावलाई अनुमोदन गरिसकेका छन्।

जिल्लाभर हाल १२ वटा क्याम्पस सञ्चालनमा छन्। विद्यार्थी अभावले सदरमुकाममै रहेका क्याम्पस गाभ्नुपर्ने अवस्था आएको वेलामा गाउँमा रहेका क्याम्पसको अवस्था यो भन्दा कमजोर छ। विद्यार्थीको संख्या न्यून हुँदा गाउँ-गाउँमा रहेका क्याम्पस पनि बन्द हुने अवस्थामा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.