|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले मिटरब्याजी र सहकारी पीडितका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको हो।

बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसाबले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको पनि बताए। उनले गठबन्धनले देश बन्छ भन्ने आत्मविश्वासमा ठेस पुर्‍याएको पनि एमालेको निष्कर्ष रहेको बताए। उनले देशलाई संकटबाट मुक्त गर्न नेकपा एमालेले निर्णायक भूमिका खेल्ने बताए।

ज्ञवालीले भने, ‘गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य संकटग्रस्त बन्दै गएको छ। मन्त्रीहरू नै तस्करी र भ्रष्टाचारमा मुछिएका छन्। मन्त्री राष्ट्रिय झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन जाने तर राजीनामा दिन तयार नहुने, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने। यी दोषमा मुछिएका मन्त्रीहरू तत्काल बर्खास्त हुनुपर्छ।’

उनले सरकारका गलत काम र सरकारले चलाएको तस्करी र भ्रष्टाचारमार्फत खोलेको अर्को अनियमितता कारण देश गहिरो आर्थिक मन्दीमा फस्दै गएको ठहर एमालेको रहेको बताए। उनले तस्करी र भ्रष्टाचारमा मन्त्रीहरू नै मुछिए पनि कारबाही गर्न नसकेको, छानबिन आयोगले दोषी देखाउँदा पनि राजीनामा नदिने मन्त्रीहरूलाई बर्खास्ती गर्न नसकेको बताए।

उनले सरकारले १० लाखमा नागरिकको जीवन साट्ने काम गरेको बताए। उनले महँगी, मिसावटका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको पनि बताए। उनले सरकारको अकर्मण्यताका कारण भूकम्प पीडितले राहत नपाएर ज्यान गुमाउनुपरेकाले सरकारले विशेष महत्त्व दिन आवश्यक रहेको बताए।

ज्ञवालीले भने, ‘मिटरब्याज पीडितमा हाम्रो चासो छ। कानून पारित भए पनि दोषीले न्याय पाएनन्। पैदलयात्रा गरेर काठमाडौँ आउनुपर्ने बाध्यता छ। उनीहरूका माग तत्काल पूरा गरियोस्। सहकारी पीडितहरूले विभिन्न ठाउँमा आन्दोलन गर्नुभएको छ, ठगीका जिम्मेवारलाई तत्काल कारबाही गर्नुपर्छ। सहकारीलाई निषेध गर्ने काम गर्नु हुँदैन। दुग्ध उत्पादक किसानले ६ अर्बभन्दा बढी भुक्तानी नपाएको भन्नेछ, त्यो समस्या तत्काल पूरा होस्।’

पार्टीले सडक दुर्घटना बढ्दा पनि सरकारले चासो नदिएको, शिक्षा क्षेत्रमा सरकारको हस्तक्षेप उदांगो भएको, सरकार कूटनीतिक मामिलामा चुकेको निष्कर्ष पार्टीको रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.