|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका र काम गर्न नसक्ने मन्त्रीहरुलाई फिर्ता बोलाउन माग गरेका छन्। उनले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टी वरिपरी राख्न नहुने पनि बताएका छन्।

बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले दाग लागेका मन्त्रीहरुलाई फिर्ता बोलाउन र काम गर्न नसक्ने मन्त्रीहरुलाई विश्राम दिन माग गरे। उनले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टी वरिपरि राख्न नहुने बताए।

‘हामी अहिले सरकारमा छौँ‚ राम्रोसँग काम गरौँ। भ्रष्टाचारी एउटा पनि नउम्कियोस्। ०४६ सालपछि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस्‚’ उनले भने‚ ‘काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिउँ। दाग लागेको मन्त्रीलाई घर पठाऔँ अनि काम गरेर देखाऔँ। भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भन्नुपर्छ।’

महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताए। उनले यसो गर्न सकेमा कांग्रेसको शक्ति बढ्ने दावी गरे। उनले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए।

उनले ०४६ सालपछाडि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि गरे। आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमात्र सहकारी ठग्ने, जग्गा कीर्ते गर्ने र नागरिकता कीर्ते गर्नेहरुलाई कारबाही गर्न सकिने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.