|

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चैत १ गतेदेखि १५ गतेसम्म तराई—मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। उक्त अभियानको रुट (मार्ग) का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको छ। 

अभियान झापाको चन्द्रगढीबाट शुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ। हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।

बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले बैठकमा माओवादी विशेष रुपान्तरण अभियानका क्रममा धेरै खट्नेलाई सम्मानपत्र दिने र काम नगर्नेलाई कारबाही गर्ने निर्णय भएको बताए। 

उनले धेरै राम्रो काम गर्ने र काम नगर्नेहरुको नाम शुक्रवारको बैठकपछि सार्वजनिक गर्ने बताए। उनले चैतपछि ३ वटा अभियान चलाउने बताए।

‘आजको एजेण्डा अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा एउटा दल नेताको कुरा‚ मधेशमा पनि विश्वासको मतबारे, भूकम्पको पुनःनिर्माणको सम्बन्धमा थिए‚’ उनले भने, ‘इतिहासमै पहिलो पटक पार्टीले कामको आधारमा मूल्यांकन गरेको छ। राम्रो गर्नेलाई सम्मानपत्र दिने, ठिकै गर्नेलाई धन्यवाद दिने, राम्रो गर्नुस् भन्ने, नराम्रो गर्नेलाई कारबाही गर्ने, घटुवा निलम्बन, चेतावनी हुनसक्छ। ३ वटा अभियान चलाउँछौँ। तराई-मधेश जागरण अभियान झापाबाट उद्घाटन हुन्छ चैत १ गते। अर्को उत्तर दक्षिण अभियान चल्छन्।’

बैठकमा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए। स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.