|

ताप्लेजुङ : निर्माणाधीन तमोर करिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मंगलवार सकिए भएसँगै तमोर करिडोरले चीनलाई जोडेको हो।

तमोर करिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा लिने गरिएको छ। तमोर करिडोरअन्तरगत लेलेप–ओलाङ्चुङगोला सडकखण्डको जङ्गिननजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माण मंगलवार साँझ सकिएको हो।

करिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम शुरु भएको थियो। कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण शुरु भएको ६ वर्षपछि मात्र काम सम्पन्न भएको हो।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ।

उनका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दूरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो। उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमार्फत ट्र्याक निर्माण भइरहेको छ।

लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ।

यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर करिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ।

ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो।

टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम संकलन गरी ट्र्याक निर्माण गरेका थिए। नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब २ महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनी एलाइट जेभीका प्रमुख सम्पर्क व्यक्ति पेम्बाठिले शेर्पाले भने आउँदो नयाँ वर्ष मनाउन सवारीसाधनमार्फत टिपताला पुग्नेगरी मर्मत तथा पुनर्निर्माणको काम हुने बताए।

अब ओलाङ्चुङगोला बस्तीसम्म यातायात सञ्चालन हुने स्तरको सडक निर्माण गर्न करिब एक महिना लाग्ने र ओलाङ्चुङगोलादेखि टिपतालासम्म अर्को एक महिना लाग्न सक्ने उनको भनाइ छ। चैत मसान्त अगावै ट्र्याक मर्मत तथा पुनर्निर्माण गरिसक्ने गरी काम शुरु गरिएको पनि उनले जानकारी दिए।

हाल सदरमुकाम फुङ्लिङदेखि ६८ किलोमिटर दूरी रहेको सुकेपानीसम्म यातायातका साधान सञ्चालन हुँदै आएका छन्। सुकेपानीदेखि टिपतालासम्म भने ट्र्याक मर्मतका साथै पुनर्निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुन सक्ने बताइएको छ।

बर्खा मौसममा भने तमोर नदीसहित दर्जनौँ अन्य साना ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुढ्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ।

तमोर करिडोरलाई नेपाल, भारत र चीन जोड्ने सडक भएकाले त्रिदेशीय सडक मार्ग पनि भन्ने गरिएको छ। भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी २९९ किलोमिटर रहेको बताइएको छ।

करिडोर सडकअन्तरगत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको र मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ।

बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.