|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले बिरोध गरिरहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले लोकतन्त्र सिकाउन खोज्ने काँग्रेसले आफूलाई बोल्नका लागि मात्रै लोकतन्त्र ल्याएको भनेको हो? भन्दै प्रश्नसमेत गरे। उनले काँग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भए पनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए।

उनले देशको नेतृत्व गर्न नपाउने छटपटीमा काँग्रेसका युवा नेताहरु तड्पिएको बताए। उनले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न काँग्रेसलाई आग्रह गरे। उनले काँग्रेसले हामी बोलिरहन्छौँ, तँ सुनिराख, तर बोल्न पाउँदैनस् भन्ने ध्येयका साथ आरोप लगाइरहेको बताए।

उनले भन्‍नुभयो, ‘हामीलाई उहाँहरुले लोकतन्त्र सिकाउनुहुन्छ, अझ युवाले। उहाँहरुलाई के थियो भने एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ। तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटि भएको छ। अचम्म लाग्छ। जनताले त भोट हालिहाल्छ नि तपाईले राम्रो काम गर्नुभयो भने। वाकतन्त्र, वाकतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, ए हाम्रो ७० वर्षको, ५० वर्षको इतिहास छ, लौ न त ठिकै छ, तपाईले नै सिकाएको लोकतन्त्रअनुसार हामीले पनि त बोल्न पाउँछ होला, तपाईले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला। तपाईले प्रश्न नै प्रश्न गर्नुभयो, गाली नै गाली गर्नुभयो, अब तपाईहरुले यतिसम्म गर्नुभयो की कहाँ के बोल्नुहुन्छ भन्ने बिर्सिनुभयो, त्यस कारणले म त्यो सम्झाइदिन्छु, मेरा कमी कमजोरी के हो, मेरो मुखबाट उत्तर दिने मौका दिनुपर्छ, प्रश्न मात्रै दिने जाँचमा उत्तर नदिने भए प्रश्नको मतलव भएन। उत्तर दिन दिनुसभन्दा होइन, होइन, होइन, बोल्न पाउँदैनस्, तैँले बोल्न पाउँदैनस्, तँ सुनि मात्रै र, हामी गाली गरिरहन्छौँ, तैँले बोल्न पाउँदैनस्। गज्ज्व छ। गज्ज्वको लोकतन्त्र सिकाउनुभएछ।’

उपसभापति अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक-दुई लाख रुपैयाँसम्म दिने बताए। उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको बताए।

उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरू कुनै कारोबारमा सही नगरेको दाबी गरे।

श्रममन्त्री अर्यालले कुनै पनि दिन देशको कानूनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको बताए। उनले केही गर्छु देशका लागि भनेर आउनेलाई कस्टडीमा राख्दै जाने हो भने नुवाकोटको जेल छिटै उद्घाटन हुँदै गरेको र जेल भर्ने लक्ष्यका साथ आरोप लगाइएको हो भने आफूहरु गएर बस्न तयार रहेको बताए।

उनले देशमा जेलमा नबसेको मानिसले राजनीति गर्न हुँदैन भन्ने नेपाली कांग्रेसको बुझाइ हो भने जेलमा गएर बस्न स्वीकार रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.