|

काठमाडौं : फोहोर विसर्जनमा अवरोध गर्ने १३ जनालाई प्रहरीले बन्चरेडाँडाबाट पक्राउ गरेको छ। आज बिहान काठमाडौं उपत्यकाको फोहोर बोकेका टिप्परहरुलाई स्थानीयहरुले रोकेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको  सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो। अधिकारीका अनुसार पक्राउ परेकाहरुलाई बालाजु प्रहरी वृत्तमा राखिएको छ।

उनीहरुबारे आजै थप निर्णय हुनेछ। अहिले भने सहज रुपमा फोहोर व्यवस्थापन भइरहेको उनको भनाइ छ। ४० वटा टिप्पर फोहोर लिएर बन्चरेडाँडा पुगेका छन्। विगतका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीय बासिन्दाले आजदेखि फोहोर विसर्जनम पूर्वघोषणा अनुसार नै अवरोध गरेका थिए। ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुंगानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेश गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहोर विसर्जनमा रोक लगाएको बताए।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार ५ सय टन फोहोर विर्सजन हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.