वीरमा बिग्रिएको सिटी स्क्यान मर्मत गर्ने छैन सुरसार

|

काठमाडौँ : अझै पनि सरकारी ठूला अस्पतालमा गर्नुपर्ने सिटी स्क्यान, एमआरआईजस्ता परीक्षण गराउन विरामीले धेरै दिन पर्खनु पर्छ‚ छिटै पालो पाउँदैनन्।

फलस्वरुप वीर अस्पताल, भरतपुर अस्पतालजस्ता ठूला संघीय सरकारी अस्पतालहरुमा विरामीले यस्ता परीक्षण गर्न हप्तौँ पालो कुर्नुपर्ने बाध्यता छ भने तत्कालै गर्नुपर्ने परीक्षण गर्न निजी अस्पताल जानुपर्ने बाध्यता छ।

यसो हुनुको प्रमुख कारण सरकारी ठूला अस्पतालहरुमा सिटी स्क्यान, एमआरआई गर्ने उपकरणहरु नहुनु र भएका उपकरणहरु पनि बिग्रिएपछि समयमा नै मर्मत नहुनु हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर रहेका ११ वटा संघीय अस्पतालसहितका केही  विशिष्टिकृत सेवा दिने अस्पतालमा  जम्मा २० वटा सिटी स्क्यान मेसिन रहेका छन्। जसमा हाल जम्मा १६ वटा सिटी स्क्यान मेसिन सञ्चालनमा रहेका छन्।

कोभिड-१९ महामारीको समयमा सरकारले धेरै स्वास्थ्य उपकरणहरु किनेको थियो जसमध्ये सिटी स्क्यान मेसिनहरु पनि रहेका थिए। 

त्यस वेला विराटनगरस्थित कोशी प्रादेशिक अस्पताल, काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको थियो। 

११ संघीय अस्पतालमा २० वटा सिटी स्क्यान

कोभिड महामारीपछि संघीय ठूला अस्पतालमा भएका यी मेसिनहरुको अवस्था के कस्तो छ भनेर व्यवस्थापन महाशाखाले एशियाली विकास बैंकको सहयोग तथा लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा एउटा सर्वेक्षण गरेको थियो। 

सर्वेक्षणमा हाल देशभरिका ११ वटा संघीय अस्पतालमा २० वटा सिटी स्क्यान रहेका र तीमध्ये १६ वटा सञ्चालनमा रहेको पाइएको थियो।

वीरका ४ वटामध्ये ३ वटा सञ्चालनमा

विरामीको अत्यधिक चाप हुने देशकै ठूलो सरकारी अस्पताल वीरमा ४ वटा सिटी स्क्यान मेसिन रहे पनि हाल ३ वटा मेसिन सञ्चालनमा छन्।

यी मेसिनले दिनमा ३५ जनाको दरले विरामीको परीक्षण गरिरहेको उक्त सर्वेक्षणमा सहभागी लाइफलाइन इन्टरप्राइजेजका बायो मेडिकल इन्जिनियर भास्कर रिजालले बताए। 

उनका अनुसार हाल वीरमा बिग्रिएको मेसिन सन् २०१५ मा २० करोड रुपैयाँमा खरिद गरिएको थियो। अहिले उक्त मेसिन मर्मत गर्न करिब २० लाख रुपैयाँ लाग्ने देखिएको समेत उनले बताए। 

‘वीर अस्पतालमा ४ वटा सिटी मेसिन रहेछन् जसमध्ये हाल ३ वटा सञ्चालनमा रहेका छन भने एउटा सिटीको चार्जर, बोर्डलगायत पाटपुर्जा बिग्रिएको पाइयो जुन बनाउन २० लाख रुपैयाँ जति लाग्छ‚’ बायो मेडिकल इन्जिनियर रिजालले भने।

यता वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले भने अस्पतालमा सञ्चालनमा रहेका ३ वटा सिटी मेसिनले विरामीको दैनिक परीक्षण गरिरहेको र एउटा बिग्रिएको सिटी मेसिन भने बनाउन नसकिरहेको स्वीकार गरे। 

वीरका निर्देशक डा पौडेलले भने‚ ‘सिटी स्क्यान मेसिनमात्रै होइन अन्य बिग्रिएका मेसिन भनेकै समयमा हामी बनाउन सक्दैनौँ। त्यसको मुख्य कारण वीरमा अहिलेसम्म बायो मेडिकल इन्जिनियर छैनन्। यसले गर्दा बिग्रिएका मेसिनहरु समयमै मर्मत गरेर सञ्चालनमा ल्याउन हामीलाई समस्या भइरहेको छ।’

कोशीको सिटी स्क्यान मर्मत गर्न नसकिने

व्यवस्थापन महाशाखाले हालै सार्वजनिक गरेको देशभरिका अस्पतालको सिटी स्क्यानको अवस्थासम्बन्धी उक्त रिपोर्टमा हाल कोशी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र नरदेवीमा रहेको नरदेवी आयुर्वेद अस्पतालमा सिटी स्क्यान भए पनि सञ्चालनमा छैनन्। 

कोशीमा रहेको सिटी स्क्यान मर्मत गर्नै नसकिने गरी बिग्रिएको छ भने सशस्त्र प्रहरी अस्पतालको सिटी स्क्यान भने मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेको देखिएको छ।

नरदेवी आयुर्वेदिक अस्पतालमा रहेको सिटी स्क्यान भने जडान गरेर राखिएको तर सञ्चालनमै नआएको देखिएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा रहेका १/१ वटा सिटी स्क्यान भने हाल सञ्चालनमा छन्।

टेकु अस्पतालले हाल दैनिक ५ जना विरामीको मात्र सिटी स्क्यान गरिरहेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.