|

काठमाडौं : जातीय विभेद नेपाली समाजको सबैभन्दा ठूलो समस्या बनेको छ। जसले समाजका हरेक तह र तप्काका मानिसहरूलाई व्यक्तिगत, मानसिक र सामाजिक रूपमा असर पारिरहेको छ।

विभेद निम्त्याउने द्वन्द्व, त्यसले व्यक्ति र समाजमा पार्ने असरलाई समेटेर बनेको नेपाली सिनेमा पुजार सार्की जेठ १० गतेदेखि प्रदर्शनमा आउँदै छ।

विकास सुवेदीको लेखनमा रहेको उक्त सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन्। सुवास भुसालले निर्माण गरेको सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, अन्जना बराइली, परीक्षा लिम्बू लगायतको अभिनय रहेको छ।

कास्कीको कास्कीकोटमा छायांकन् गरिएको उक्त सिनेमाले जातीय विभेद हटाएर समतामूलक समाजको निर्माणमा नयाँ ‘डिस्कोर्स’ तयार पार्न भूमिका खेल्ने लेखक सुवेदीको दाबी छ। सिनेमामा आर्यन पुजार, प्रदीप मैतबहादुर,  परीक्षा गौमाया र अन्जना सार्कीकी छोरी बनेर अभिनय गरेका छन्।

लुक्समा आफ्नै पिताको नक्कल गरेका आर्यन

'पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ। सिनेमाका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। सिनेमाका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागेपछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्नेबित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,’ आर्यन भन्छन्।

आर्यनको लुक्स बाहिरिएपछि बुवासमेत खुसी भएका थिए। ‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,’ आर्यनले सम्झिए। यस सिनेमामा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन्। अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्।

यसमा आर्यन पुजारी छन्। उनको प्रेम अञ्जनासँग हुन्छ। ‘यस सिनेमाको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन’, आर्यनले कथाबारे बताए।

आफ्नो चरित्र आफ्ना लागि चुनौतीपूर्ण लागेको उनले बताए। ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर सिनेमा अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,’ आर्यन भन्छन्।

सिनेमा करियरको सुरुवातदेखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो। तर, सो सिनेमाले भने उनको छवि बदल्न सकेन। उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन्। यो सिनेमा ब्लकबस्टर हुनेमा कुनै शङ्का नमानेका उनले आगामी दिनमा फरक भूमिका गर्न पाउँदा खुसी हुने बताउँछन्।

यो सिनेमाले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन्। सिनेमाकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र सिनेमामा काम गर्न रुचाउँछन् भन्ने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन्।

आर्यन भन्छन्, ‘सिनेमाले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ। ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ।’

मैतबहादुर बनेका प्रदीप खड्का

अभिनेता प्रदीप खड्काले कैयन सिनेमामा सिनेमामा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाए। पहिलो सिनेमा 'स्केप' भए तापनि ‘प्रेमगीत’बाट दर्शकमाझ लोकप्रिय बनेका उनले सिनेमा ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तरता दिए। तर, जसै ‘प्रकाश’ रिलिज भयो, उनलाई दर्शक र सिनेमाकर्मीले हेर्ने दृष्टिकोणमा तात्त्विक फरक देखियो। कारण थियो, उनले निभाएको चरित्र। यिनै प्रदीप पुनः फरक चरित्रमा दर्शकमाझ आउँदै छन्।

पुजार सार्कीमा भने उनी ‘मैतबहादुर’ बनेका छन्। ‘मैतबहादुर’ समाजको त्यो पात्र हो जसले अन्तर्जातीय प्रेम गरेको छ। उसले आफ्नो प्रेम प्राप्तिको लागि जे पनि गर्न तयार छ। मैतबहादुरको वास्तविकता के हो र उसको प्रेम प्राप्तको सङ्घर्ष कस्तो छ?

यस सिनेमामा प्रदीपको पात्र ‘मैतबहादुर’को पेसा बाजा बजाउने छ, जो दलित समुदायबाट प्रतिनिधित्व गर्छ। प्रदीपले आफ्नो पात्रले नेपाली समाजलाई सिनेमाहरूमा देखाइने गरेको ‘स्टेरियोटाइप’बाट बाहिर निस्कन सजग गराउने विश्वास गर्छन्।

‘विदेशी सिनेमाले नेपाल देखाउँदा बहादुर, गोर्खाली या शेर्पा नै देखाउँछन्। हामीलाई पनि कुनै शोषित समाज या सामन्ती समाजलाई ‘स्टेरियोटाइप’ गरिएको भान हुन्छ। उनीहरूले तराईवासीको फिल्म बनायो भने पानी पुरी र कपाल काट्ने नै देखाएको जस्तो देखिन्छ’, उनले भने, ‘त्यो चिज नेपाली सिनेमामा नहोस् भन्नेमा सजग छु। मेरो चरित्र भनेको दलित समुदायबाट प्रतिनिधित्व गर्ने हो, तर उसले आफूलाई कसरी हेर्छ त भन्ने चाहिँ नयाँपन हो।’

सिनेमा ‘पुजार सार्की’ले मुख्यतया जातीय विभेदविरुद्धको कथा बोल्छ। प्रदीप आफैँ दलित पात्र बनेर अभिनय गरिरहँदा भविष्यमा अवरोध पो आउने हो कि भन्ने कुरामा उनी पहिले नै प्रस्ट थिए। ‘सही काम गरिएको छ भने त्यसको आउट पुट गलत हुँदैन भन्नेमा म प्रस्ट छु। कसैले आजको दिनमा विभेद छैन, यो कुरा किन अगाडि ल्याइरहेको हो भनेर भन्यो भने पनि यो कला र साहित्य हो।

अहिले विश्वयुद्धको, हिट्लरको सिनेमा बनाउन नपाउने भन्ने त हुन्न होला। काला जातिलाई जुन शोषण गरियो, त्यस विषयमा सिनेमा बन्न बन्द गर्नुपर्ने पनि होइन होला। नेपालको परिप्रेक्ष्यमा पचासौँ वर्षदेखि एउटा वर्ग आन्दोलनरत छ। तर पनि उनीहरूले आजको दिनमा पनि विभेदका घटना व्यहोरिरहेका छन्’, उनी भन्छन्।

प्रदीपको बुझाइमा छुवाछुत र जातीय विभेद विरुद्धका कानुन बने पनि ती कानुनबाट कतिपय वञ्चित छन् त कतिपय दण्डित। उनको दाबी मान्ने हो भने ‘पुजार सार्की’ले आजको दिनमा समेत हुने गरेको विभेदको समस्या माथि प्रश्न उठाउँछ।

प्रदीपले वास्तविक जीवनमा भने उनले कलेज जीवन सुरु गरेपछि मात्र सञ्चारमाध्यमका समाचारमार्फत जातीय विभेदका कुरालाई बुझेका थिए। ‘म ललितपुरको एकान्तकुनामा जन्मिएँ। मलाई जातीयताका आधारमा विभेद हुन्छ भन्ने धेरै पछि मात्र थाहा भयो। १२ कक्षा पढुन्जेल मेरा साथीहरू कुन जातको र कुन समुदायको भन्ने थाहा थिएन। सबै जना आफैँ जस्तो देख्थेँ। तर जब परिवार बाहिर आएर मिडिया बुझ्न थालेँ, अनि मात्र विभेद पनि हुँदो रहेछ भन्ने थाहा पाएँ,’ प्रदीपले बताए।

आफूलाई निर्देशक दिनेश राउतले ‘मैतबहादुर’को चरित्र दिनु पनि आफ्नो क्षमतामा विश्वास गरेर हो भन्ने प्रदीपलाई लाग्छ, ‘निर्देशकलाई पनि मेरो ‘नेचर’ अनुसार पनि मैतबहादुर नै ठिक लाग्यो कि। उहाँले म एक्टिभ छु र चरित्र पनि मिल्छ भन्ने विश्वास गरेर मलाई यो भूमिका दिनुभयो भन्ने लाग्छ।’

आजकल प्रदीप वास्तविकतासँग नजिक चरित्रमा अभिनय गर्न मन पराउँछन्। ‘‘लार्जर देन लाइफ भनेर स्वाट्ट बाइकबाट चस्मा लगाएर ओर्लिने भन्दा पनि ‘ए ! यो त हाम्रो गाउँको मान्छे’, ‘ए ! यो त नेपाली हो’ र यो चाहिँ ‘रिलेट’ गर्न सक्ने किसिमको हो भन्ने खालको चरित्र मन पराउँछु,’ प्रदीपले भने।

'पुजार सार्की'मा आफूलाई प्रमाणित गर्ने मौका पाएकी अञ्जना

अभिनेत्री अञ्जना बराइलीको पहिलो सिनेमा ‘महापुरुष’ हो। पहिलो सिनेमामा अडिसनमार्फत छानिएकी अञ्जनाले 'पुजार सार्की’को छनोट पनि अडिसनबाटै दिनुपर्‍यो। यो अडिसन भने 'क्यारेक्टर अडिसन' थियो।

गत वर्षको तिहारको माहौलमा सबै रमाइरहँदा एक दिन निर्देशक दिनेश राउतले अञ्जनाको इन्स्टाग्राममा सन्देश लेख्दै मोबाइल नम्बर मागे। अञ्जनाले आफ्नो नम्बर दिएपछि दिनेश र अञ्जनाबिच पहिलो पटक कुराकानी भएको थियो। चर्चित गीत ‘घुमी घुमी’मा अञ्जनाले गरेको अभिनय हेरेर दिनेशले ‘पुजार सार्की’का उनलाई कास्ट गर्ने सोच बनाएर कुरा अघि बढाएका थिए।

अञ्जनाले आफूलाई भनिएको क्यारेक्टर डिजाइनअनुसार मैयाँ पात्रका लागि अडिसन दिइन्। अभिनयसँगै लुक टेस्टको पनि कुरा आएपछि उनले दुईपटक लुक टेस्ट दिइन्। ‘महापुरुषमा पनि अडिसन दिएकाले अडिसन दिन मलाई गाह्रो भएन। तर, पहिलो लुक टेस्टमा क्यारेक्टरको टोन बढी डार्क भएको भन्ने कुरा आएपछि दोस्रोपटक लुक टेस्टमा पास भएपछि फिल्ममा जोडिएँ,’ अञ्जनाले सम्झिइन्।

‘पुजार सार्की’मा जोडिनुअघि नै उनले कौसी थिएटरमा एक महिनाको अभिनय कक्षा लिइसकेकी थिइन्। डेढ महिनाको कक्षा भए पनि ‘पुजार सार्की’को वर्कसप सुरु भएकाले उनले एक महिनाको मात्र अभिनय कक्षा लिइन्।

सिनेमामा अञ्जनाको जोडीको रूपमा अभिनेता आर्यन सिग्देल छन्। आर्यन उनको सानै देखिको ‘क्रस’ हुन्। आफ्नै ‘क्रस’सँग अनस्क्रिनमा जोडिन पाउँदा उनलाई उत्तिकै डर भएको थियो।

‘मैले धेरै सिनेमामा काम गरेको छैन। त्यसमाथि यो फरक विधाको मजबुत विषय भइसकेपछि आफ्नो चरित्रलाई अझ मजबुत कसरी बनाउने भन्ने डर हुन्छ। अझ मेरो जोडी मभन्दा अग्रज हुनुहुन्छ। आर्यन दाइले ‘तिमीलाई मसँग अभिनय गर्दा गाह्रो भइरहेको छ भने भन्नु’ भन्दा मलाई थप ऊर्जा प्राप्त हुन्थ्यो। मैले धेरैपटक रिटेक खाँदा पनि उहाँ कहिल्यै रिसाउनुभएन। ‘यस्तै हुन्छ’ भनेर ढाडस दिनुहुन्थ्यो। सिनियर स्टार यति सरल हुन्छन् होला भन्ने कल्पनासमेत थिएन,’ उनले भनिन्।

अञ्जनाले ‘पुजार सार्की’मा स्थानीय सार्कीकी छोरीको भूमिका निभाएकी छन्। उनी समाजले ठूलो जात भन्ने गरेको अर्थात् ब्राह्मणको छोरासँग प्रेममा परेकी हुन्छिन् तर, समाजले भने सम्बन्ध स्वीकार गर्न गाह्रो मान्छ।

‘त्यो सम्बन्धलाई दिगो सम्बन्धमा परिणत गर्ने बेलासम्म के कति बाधा अड्चनहरू आउँछन् र के कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ। म समाजबाट दबिएको पीडित, त्यसमाथि पुजारसँगको सम्बन्धका कारण समाजले बहिष्कार गरेपछि झन् पीडित चरित्रमा छु। सानो जात हुँदाहुँदै पनि प्रेम सम्बन्धले झन् बढी दबिएको र छोरी मान्छे भइसकेपछि के कति कुरा फेस गर्नुपर्छ भन्ने कुरा मेरो चरित्रले देखाउँछ’, आफ्नो चरित्रबारे अञ्जना भन्छिन्।

अञ्जनाले यो सिनेमामा काम गर्नुभन्दा अघि जातीय विभेदका घटनाबारे नसुनेकी भने होइनन्। तर, किन यस्ता घटना हुन्छन् भन्ने कुरा स्क्रिप्ट पढेपछि र वर्कसपमा बसेपछि मात्र थाहा पाइन्। ‘स्क्रिप्ट पढ्दै जाँदा र स्क्रिप्टअनुसार दृश्य बनाइरहँदा यहाँ पुगेर यतिको हिंसा हुने रहेछ भन्ने थाहा पाएँ। स्क्रिप्टले यो सबै सहजै बुझाउँथ्यो। स्क्रिप्ट पढिसक्दा यहाँ हिंसाको अवस्था यसरी हुँदो रहेछ भन्ने थाहा भयो,’ उनले भनिन् ।

परीक्षाका लागि भोक मेटाउने सिनेमा बनेको पुजार सार्की

 ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिएकी अभिनेत्री परीक्षा लिम्बू ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्। परीक्षाले यस सिनेमामा अडिसनमार्फत अभिनय सुरक्षित गरेकी थिइन्। उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन्। ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ। मलाई चिन्नु हुनेले सिनेमाको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो। त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ। म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन्।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो। लवजकै कारण परीक्षालाई यस सिनेमामा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो। यसको लागि सिनेमाको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो। यो सिनेमाको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन्।

परीक्षा यस सिनेमामा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।

‘पुजार सार्की’ सिनेमामा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ। सिनेमामा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन्।‘सिनेमामा म मगर समुदायको प्रतिनिधित्व गर्छु। हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ। त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ। प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो सिनेमामा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन। त्यो अनुभवका लागि म भाग्यशाली पनि छु।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको। परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ। ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ। किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु। मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन्। ‘भोक लागेको बेला जे खाए पनि मीठो हुन्छ। मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो। तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मीठो खाने कुरा खान पाएजस्तै भयो,’ परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ। पुजार सार्कीमा भने ती सिकेका कुरा लागू गर्ने कोसिस गरेकी छु। तीनवटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ।’

परीक्षालाई ‘पुजार सार्की’बाट ठूलो आस छ। उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ। ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो। अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। सिनेमाले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ। कुनै बेलाको सती प्रथा हट्यो। त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाइ हो’, उनी भन्छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.