|

पर्वत : अहिले कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन। सर्वोच्च अदालतमा यसबारेमा मुद्दा परेपछि अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् नगर्न भनेको छ।

अदालतले दिएको यो आदेश स्थानीय तहहरूले पालना गरेर आफ्नो आम्दानीको स्रोतलाई बन्द गरेर राखेको भए पनि अवैध रूपमा हुने उत्खनन् भने रोकिएको छैन। अदालतको आदेशले राज्यका निकायलाई उत्खननमा रोक लगाएको भए पनि अवैध रूपमा निकाल्नेहरूलाई झनै सजिलो भएको छ।

कुनै हालतमा पनि कालीगण्डकी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले नयाँ शैलीको अभ्यास सुरू गरेको छ।

प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले यस्तै अवधारणामा रहेर शालिग्राम शिला पाइने एक मात्र कालीगण्डकी नदीमा नयाँ अभ्यास गरिएको हो। म्याग्दी सदरमुकाम बेनी बजारबाट करिब चार किलोमिटर टाढा रहेको प्रसिद्ध गलेश्वर धामबाट पर्वत सदरमुकाम कुश्मा बजारसँग जोडिएको पवित्र तीर्थस्थल मोदीवेणीधामसम्मको भागमा रहेका शिलाहरूमा भगवानका नाम लेख्न सुरू गरिएको हो। 

कुनै हालतमा पनि कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुश्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा 'शालग्राम नाम' चित्राङ्कन गरिएको छ ।

समितिले ‘कालीगण्डकी नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जर्गेना गरौँ’ भन्ने नाराका साथ जीवित चक्राङ्कित दिव्य शिलाको संरक्षणका लागि कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्व सम्पदा सूचीमा समावेश गर्न सचेतना अभियानहरू सञ्चालन गर्न पनि आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.