|

तेहरान : इब्राहिम रइसी इरानी सत्ताको शीर्ष स्थानमा पुग्नै लागेका थिए तर आइतबार हेलिकप्टर दुर्घटनामा परी उनको निधन भयो। इरानका सर्वोच्च नेता ८५ वर्षीय आयातोल्ला–अली खामेनीको उत्तराधिकारी बन्न अग्रपंक्तिमा रहेका ६३ वर्षीय रइसीको अजरबैजानको सिमाना भ्रमणपछि यात्रा गरिरहेका वेला हेलिकप्टर दुर्घटनामा परी निधन भएको हो।

अब खामेनीको ठाउँ कसले लिन्छ भन्ने अड्कलबाजी सकिएको बिबिसीले उल्लेख गरेको छ। इरानका कट्टरपन्थी राष्ट्रपतिको निधनले देशको नीतिमा परिवर्तन हुने अपेक्षा गरिएको छैन र यसले कुनै ठूलो झट्का पनि नलाग्ने विश्लेषकहरू बताउँछन्। तर अब एक यस्तो सरकारीतन्त्रको परीक्षण हुनेछ जसमा निर्वाचित र अनिर्वाचित दुवै ठाउँमा रुढिवादी कट्टरपन्थी हावी हुनेछन्।

च्याटम हाउस थिंक ट्यांकमा मध्यपूर्व र उत्तरी अफ्रिका कार्यक्रमका निर्देशक डा. सनम वकील भन्छन्, ‘सरकारीतन्त्रले उनको मृत्युमा व्यापक प्रदर्शन गर्नेछ। साथै कार्यक्षमता देखाउन संवैधानिक प्रक्रिया पालना पनि गरिनेछ। यसबीचमा रुढिवादी एकता र खामेनीका तर्फबाट इमान्दारी कायम राख्ने नयाँ अनुहारको खोजी गरिनेछ।’​

इस्लामिक क्रान्तिपछि न्यायपालिकामा काम गर्न थालेका रइसीले केही शहरमा वकालत समेत गरे। डा. सनमको विश्लेषणमा सन् १९८० को दशकमा ठूलो संख्यामा राजनीतिक बन्दीलाई सामूहिक फाँसी दिने काममा रइसीलाई जिम्मेवार ठान्नेले भने खुशी मनाउनेछन् र उनको मृत्युले सत्ता कमजोर होस् भन्ने अपेक्षा समेत गर्नेछन्। ‘इरानी सत्ताका लागि उनको राजकीय अन्त्येष्टि भावनात्मक रूपमा दुःखद हुनेछ र इरानको शासन यसरी नै चलिरहनेछ भनी बताउने एउटा मौका पनि’ उनले भने‚ ‘विश्वले यो घटनालाई हेरिरहेकोबारे उनीहरू जानकार छन्।’ 

‘पछिल्लो ४० वर्षभन्दा पहिलेदेखि पश्चिमा देशहरूले इरान टुक्रिनेछ र सकिनेछ भन्दै आएका छन्’‚ तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्दी भन्छन्‚ ‘तर चामत्कारिक ढंगले यो अहिले पनि यहीँ छ र आउने कैयौं वर्षसम्म रहनेछ भन्ने मेरो अनुमान छ।’

अर्को महत्त्वपूर्ण सर्वोच्च नेता चुन्ने ‘एसेम्बली अफ एक्सपर्ट’मा इस्लामिक धर्मका ज्ञाता मौलवीको पद रहेको छ। सर्वोच्च नेताको चुनावलाई लिएर इरानमा विभिन्न अड्कलबीच केही नाम चर्चामा छन्‚ तीमध्ये सर्वोच्च नेताका छोरा मोजतबा खामेनी पनि छन्। यो चुनावका बारेमा डा. सनम भन्छन्‚ ‘रइसी सम्भावित उत्तराधिकारी थिए। उनी अपेक्षाकृत युवा र निकै इमान्दार, सिस्टमका लागि प्रतिबद्ध विचारक थिए र इरानीले उनलाई राम्ररी चिनेका, बुझेका थिए।’

रइसीको निधनको आधिकारिक पुष्टि हुनुअघि आयातोल्ला खामेनीले एक्समा पोस्ट लेख्दै इरानीहरूले चिन्ता गर्नु नपर्ने र मुलुकसँग जोडिएका मामिलामा कुनै व्यवधान नआउने बताएका थिए। 

राष्ट्रपतिको चुनाव नयाँ चुनौती

अब इरानका लागि विद्यमान राजनीतिक चुनौती राष्ट्रपतिको चुनाव गराउनु हो। हालका लागि उपराष्ट्रपति मोहम्मद मोखबरलाई राष्ट्रपतिको जिम्मेवारी दिइएको छ। ५० दिनभित्र नयाँ राष्ट्रपतिको चुनाव गराउनुपर्नेछ। 

राष्ट्रपति चुनावमा मतदान गर्नका लागि अपिल गरिनेछ तर मार्चमा भएको संसदीय चुनावमा निकै कम मतदान भएको रेकर्ड बनेको थियो। चुनावमा उदारवादी र सुधारवादी समर्थकहरूको ठूलो संख्याले चुनाव बहिष्कार गरेको थियो। सन् २०२१ मा भएको राष्ट्रपतीय चुनावपछि रइसी राष्ट्रपति बनेका थिए। यो राष्ट्रपतिको चुनावले खामेनी र सत्तामा बसेका शीर्ष व्यक्तिहरूलाई आफ्नो प्रवृत्ति बदल्न र मतदातालाई राजनीतिक प्रक्रियामा पुनः सामेल हुने अवसर प्रदान गर्नेछ’‚ लन्डनस्थित न्यूज वेबसाइट अमवाज डट मिडियाका सम्पादक मोहम्मद अली शाबानी भन्छन्‚ ‘तर दुर्भाग्य सरकारका तर्फबाट यस्तो कदम उठाउने संकेत देखिएको छैन।’

रइसीको खेमाबाट अहिलेसम्म कोही स्पष्ट उत्तराधिकारी देखिएका छैनन्। बर्लिनस्थित थिंक ट्यांक एसडब्ल्यूका भिजिटिङ फेलो हामिद्रेजा अजिजीको विचारमा यो रुढीवादी समूहभित्र अधिक कट्टरपन्थी व्यक्तिहरूको खेमा छ। अब नयाँ संसद्‌भित्र र स्थानीय स्तरमा खिचातानी बढ्नेछ र रइसीको स्थान लिने व्यक्तिले चुनौतीपूर्ण एजेन्डा र सीमित अधिकार पाउनेछन्। 

इरानको अन्तिम फैसला लिने अधिकार भने सर्वोच्च नेतासँग छ। केही महिनाअघि इजरायल-गाजा संघर्षका क्रममा इरान र इजरायलबीच तनाव बढेको थियो। त्यस वेला राष्ट्रपतिसँग महत्त्वपूर्ण अधिकार थिएन जुन स्थितिले खतरनाक अवस्था पैदा गरिदिएको थियो। तनाव संघर्षमा बदलिने आशंका गरिदियो। 

रइसीको कार्यकालका क्रममा इरानले गम्भीर अन्ताराष्ट्रिय प्रतिबन्ध, अव्यवस्था, भ्रष्टाचारका कारण वित्तीय कठिनाइको पनि सामना गर्नुपरेको छ। ४० प्रतिशत बढी मुद्रास्फिती, इरानको मुद्रा रियालको मूल्यमा पनि गिरावट देखिएको छ। यो सबैबीच इरानमा ठूलो संख्यामा प्रदर्शन समेत भएको थियो। २०२२ सेप्टेम्बरमा २२ वर्षीया युवती महसा अमिनीको मृत्युपछि उक्त प्रदर्शन भड्किएको थियो। महसालाई इरानको धार्मिक पुलिसले पक्राउ गरेको थियो। उनीमाथि ‘हिजाब’ नियमको उल्लंघनको आरोप थियो।

ठूलो संख्यामा महिला सहभागी उक्त प्रदर्शनको केही हप्ताअघि राष्ट्रपति रइसीले हिजाब कानुनलाई थप कडा बनाउन आदेश दिएका थिए। नियम पालना गर्न नचाहने महिलाका लागि सर्भिलेन्स क्यामेरा लगाइएको थियो। सामाजिक सञ्जालमा हिजाब नियमको विरोध गर्नेलाई सजाय दिन थालिएको थियो। महिलाहरूले आफूहरूमाथि लगाइएका प्रतिबन्धविरुद्ध रोष प्रकट गर्दै सर्वोच्च नेता र पूरै व्यवस्थाविरुद्ध खुलेर प्रदर्शन गरेका थिए। मानवअधिकारवादी संगठनले उक्त प्रदर्शनमा सयौँ मानिसको मृत्यु भएको र हजारौँलाई हिरासतमा लिइएको दाबी गरेका थिए। 

उदारवादी नेता हसन रुहानीको सन्दर्भमा शाबानी भन्छन्‚ ‘इरानको इतिहासमा भएको राष्ट्रपति चुनावमा सबैभन्दा कम मत हासिल गरेर राष्ट्रपति बनेका रइसीसँग रुहानीको जस्तो लोकप्रिय जनादेश थिएन।’ अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन र रइसीको टोलीबीच भएका अप्रत्यक्ष कुराकानीमा पनि निकै कम प्रगति देखिएको थियो। 

इरानी राष्ट्रपती रइसीसँगै हेलिकप्टर दुर्घटनामा विदेशमन्त्री हुसैन अमीर अब्दुल्लाहियनको पनि निधन भएको छ। उनले विश्वसामु तेहरानको मुद्दा पेश गर्ने र अन्ताराष्ट्रिय प्रतिबन्धको प्रभाव कम गर्ने कार्यमा अहं भूमिका निर्वाह गरेका थिए। इजरायल–गाजा युद्धका क्रममा कूटनीतिक मामिला सम्हालेका उनी इरानको सहयोगीहरूसँगको बैठकमा पनि देखा परेका थिए। उनी अरब र पश्चिमा देशहरूका विदेशमन्त्रीहरूसँग मिलेर तनाव कम गर्ने दिशामा कार्यरत देखिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.