भारतबाट मह आउँदा नेपाली उत्पादन बिकेन

|

काठमाडौँ : नेपालमा केही वर्षयता महको उत्पादन बढे पनि बिक्री हुन नसक्दा किसानको घरमै थन्किएको छ।

भारतीय व्यापारीले विनाभन्सार शुल्क भित्र्याउने सस्तो महका कारण गुणस्तरीय भएर पनि नेपाली मह विक्री हुन नसकेको सरोकारवालाहरू बताउँछन्। नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेका अनुसार नेपालमा व्यावसायिक मौरीपालनबाट उत्पादित ४ हजार ९४५ मेट्रिक टन महमध्ये दुई हजार मेट्रिक टन पनि विक्री हुन सकेको छैन। ‘व्यावसायिक रूपमा एपिस मेलिफेरा जातको मौरीबाट उत्पादन गरिएको ३ हजार ५४५ र एपिस सेरेनाको १ हजार ४ सय मेट्रिक टनमध्ये ३१ सय बढी मेट्रिक टन मह बाँकी छ’‚ महासंघ अध्यक्ष घिमिरेले भने। 

गत वैशाख २६ देखि ३० गतेसम्म चलेको पाँचौँ राष्ट्रिय मह मेलासम्म बिक्री भएर बाँकी रहेको मेलिफेराका २ हजार ८ सय मेट्रिक टन र सेरेनाको ३ सय ३४ टन गरी अझै ३ हजार १४३ मेट्रिक टन मह नबिकेर किसानकै घरमा थन्किएको छ। मह मेलामा भीर मौरी, कठोरी मौरी लगायत स्थानीय र रैथाने मौरीको मह प्रदर्शनी र बिक्रीमा राखिएको थियो। 

खपतको आधा उत्पादन पनि स्टक

देशभर झण्डै ९ हजार मेट्रिक टन मह खपत हुने अनुमान गरिएको छ। गतवर्ष ८ हजार मेट्रिक टन मह खपत भएकोमा यो वर्षको वार्षिक खपत लगभग ९ हजार मेट्रिक टन अनुमान गरिएको महासंघले जनाएको छ। घरेलु उत्पादनले खपत धान्न सक्दैन तर उत्पादन भएको थोरै परिमाणको मह पनि सबै विक्री नहुनुले बजारीकरणमा ठूलो समस्या देखिएको छ। 

व्यापारीले चकलेट बनाउने सुगर सिरपहरू ल्याएर यहाँ मह भन्दै बेच्ने गरेका पाइएको छ। महमा भन्सारदर पनि नभएकाले भारतबाट ल्याएर सस्तोमा बेचिदिन्छन् जसले गर्दा पनि नेपाली मह बेच्न किसानलाई समस्या भएको देखिन्छ। ‘अन्य देशमा सस्तो लागत र ल्याउन भन्सार पनि नलाग्ने भएपछि नेपाली बजारमा विदेशी महले राज गरेको छ’, घिमिरेले भने, ‘उपभोक्ताले पनि गुणस्तर हेर्दैनन्, सस्तो खोजेर मिसावटयुक्त मह खाइरहेका छन्। भारतबाट आउने महको तुलनामा हाम्रो लागत र विक्री मूल्य महँगो छ। त्यसकारण बजारमा नेपाली मह राम्ररी बिक्री हुनै सकेन।’

बजार मूल्य

व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी सुजन पोखरेल नेपाली महको बजारीकरणमा समस्या देखिएको र भारत लगायत अन्य मुलुकबाट ठूलो मात्रामा मह आयात भइरहेको बताउँछन्। 

नेपाली महको बजार मूल्य अहिले ९ सयदेखि एक हजार रुपैयाँ प्रतिकेजी छ। किसानको उत्पादन लागत, खरिद मूल्य, प्याकेजिङ, बजारीकरण, होलसेल, खुद्रा व्यापारीलाई राखेर फरक–फरक मूल्य पर्न जान्छ। ‘भारतबाट लगभग १९७ रुपैयाँ प्रतिकेजीमा मह नेपाल आइपुगेको छ, जब कि नेपाली महको उत्पादन लागत मूल्य ४५० रुपैयाँ प्रतिकेजी छ’‚ पोखरेलले भने, ‘यसरी भारतबाट आएको सस्तो महसँग लागत नै धेरै भएको हाम्रो नेपाली महले प्रतिस्पर्धा गर्न सकेन।’ 

नेपाल स्थानीय एपिस फ्लोरिया, एपिस डोर्साटा, एपिस लेबोरियोसा, एपिस सेरेना जातका मह उत्पादक मौरीको वासस्थान रही आएको छ। अन्य प्रजातिहरू हिमालयन क्लिफ बी (एपिस लेबोरियोसा), विशाल मौरी (एपिस डोर्सटा) र बौना मौरी (एपिस फ्लोरा) जंगली प्रजातिका मौरी हुन्। नेपालमा समुद्री सतहबाट ७० मिटरदेखि ४ हजार २०० मिटरको उचाइमा मह उत्पादन हुन्छ। 

नेपालमा मौरी चर्ने स्रोत एवं वनस्पतिअनुसार मह फरक प्रकार र स्वादमा पाइन्छ। विशेषगरी अधिक उत्पादन हुने मिक्स फ्लोरा खालको हुन्छ। त्यसबाहेक चिउरीको मह पनि अधिक उत्पादन हुन्छ भने रुदिलो, तोरी, फापर, लिची, असारे, गोरखमुन्डी झार लगायतका वनस्पतिजन्य स्रोतबाट मह उत्पादन हुन्छ जसको स्वाद र रंग सबै फरक हुन्छ। नेपालमा तोरीको मह बढी मात्रामा उत्पादन हुन्छ र स्टकको समस्या पनि तोरीको महमै देखिएको छ। 

मौरीबाट मह, कुट, शाही खुराक, प्रपोलिस, मौरी विष प्राप्त गर्न सकिन्छ। मौरीले परागसेचन सेवाबाट खेतीबालीका उत्पादकत्व र जैविक विविधताको संवर्धनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्छ। केही दशकयता विदेशबाट ल्याइएको यूरोपेली मौरी एपिस मेलिफेराको व्यावसायिक पालन गरिदै आएको छ। स्थानीय जंगली मौरीको घट्दो संख्या र घरपाला एपिस सेरेनाको र एपिस मेलिफेराको कमजोर गोला व्यवस्थापनका कारण पर्यावरणीय सेवा–परागसेचन र मह उत्पादनमा नकारात्मक प्रभाव पर्न थालेको पनि देखिएको छ। 

मौरीपालक महासंघका अध्यक्ष घिमिरेका अनुसार मौरीपालनमा चरनक्षेत्रको कमी पनि एउटा समस्या हो। पालिका, जिल्ला र प्रदेशले एकबाट–अर्कोमा जाँदा रोक लगाउने, निषेध गर्ने अवस्था सिर्जना हुँदा उत्पादनमा असर पारेको उनले बताए। 

महको अवधि र स्रोत

सामान्यतया गाउँघरमा महको कुनै अवधि हुँदैन र जति पुरानो त्यति राम्रो हुन्छ भन्ने चलन छ तर वैज्ञानिक रूपमा पुरानो भए पनि कसरी राखिएएको छ भन्नेमा महको गुणस्तर भर पर्छ। ‘धेरै तापक्रममा स्टोर भएको छ, पाँच सात वर्ष भइसकेको छ भने हाइड्रोक्सिमिथाइल फरफ्यूरलहाइड–एचएमएफ (मह भण्डारणमा तापक्रम परिवर्तनको संकेतक) को मात्रा बढ्छ र त्यो खान योग्य हुँदैन। तर सामान्यतया राम्ररी भण्डार​ गरिएको भए दुईतीन वर्षसम्मको महको गुणस्तरमा कुनै समस्या हुँदैन’‚ पोखरेलले भने।  

नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बरप्रसाद रेग्मी लघु, घरेलु तथा साना उद्योग आफ्नै प्रयासमा टिकिरहेको भन्दै मौरीपालक किसानहरूमा समेत वित्तीय पहुँचको समस्या देखिएको बताए। कच्चा पदार्थ, लगानीको अनुमान, उत्पादनको बजारको अवस्था नहेरी एकले गरेको देखेर अर्कोले त्यही गर्न खोज्दा पनि रुग्ण अवस्थामा पुग्ने गरेको उनी बताउँछन्।  

‘मह मौलिक उत्पादन हो। घरघरमा घार छ तर मह उत्पादन गर्ने किसान धेरै समस्यामा छन्। ‘राज्यले अन्ताराष्ट्रियस्तरको गुणस्तर कायम गर्ने प्रविधिसम्म किसानको पहुँच पुर्‍याउन नसक्दा बजारीकरणमा समस्या भएको छ’‚ रेग्मी भन्छन्‚ ‘उद्योग दर्तादेखि उत्पादनलाई बजारसम्म पुर्‍याउँदा झन्झटिलो प्रक्रियाका कारण अन्य घरेलु उत्पादन जस्तै महले पनि अन्ताराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन। अब स्थानीय तहसँग समन्वय, सहकार्य गरेर किसानहरूको उत्पादन, बजारीकरणमा देखिएको समस्या समाधानमा लागेको उनले बताए। 

कृषि मन्त्रालयको तथ्यांकअनुसार सन् २०१९।२० मा राष्ट्रिय मह उत्पादन ३ हजार ९९७ टन रहेकोमा २०२०।२१ मा बढेर ५ हजार १६८ मेट्रिक टन पुगेको थियो। अघिल्लो आव २०७९।८० मा ६ सय १८ मेट्रिक टन मह आयात भएको थियो भने ५ मेट्रिक टन मह निर्यात भएको छ। चालू आवको चैत महिनासम्म ६२३ मेट्रिक टन मह आयात भइसकेको छ भने ४ मेट्रिक टन मात्र बाहिर निर्यात भएको छ। त्यसमा धेरैजसो मह भीर मौरीको अमेरिकामा एक किलोको ६ हजार ७ सय रुपैयाँमा बिक्री भएको छ। 

‘भन्सार विभागको तथ्यांक हेर्दा स्थानीय भीर मौरीको मह प्रतिकेजी ६–७ हजार रुपैयाँसम्म निर्यात भइरहेको छ’‚ पोखरेलले भने, ‘केही मेलिफेराको मह पनि निर्यात भएको छ। यस्तो मह २८८ रुपैयाँ प्रतिकेजी मलेसिया निर्यात भएको छ जुन औपचारिक च्यानलबाट नभई व्यापारीले व्यक्तिगत सम्पर्कका आधारमा बेचेको पाइएको छ।’ आयातित महमध्ये ९९ प्रतिशत भारतबाट भित्रिएको छ। विनाभन्सार शुल्क नेपालमा आइपुग्दा प्रतिकेजी १९७ रुपैयाँ पर्न जाने पोखरेल बताउँछन्। मुलुकभर अहिले लगभग २ लाख ४९ हजार ६८० मौरी रहेको अनुमान गरिएको छ।

महकाे हार्भेस्ट

चरनमा लगेको मौरीले फूल एवं वनस्पतिको रस चुसेर ल्याई चाकामा राख्छ र त्यो ८०  प्रतिशत टालेपछि मह काढ्न योग्य हुन्छ। नेपाल सरकारबाट स्वीकृत भइसकेको असल मौरीपालन अभ्यासअनुसार मह उत्पादन गर्ने, त्यसलाई हनीमार्टको एकद्वार नीतिबाट नेपाली ब्रान्ड बनाएर गुणस्तरीय मह बेच्ने योजना बनाइएको पोखरेलले बताए। उनी भन्छन्, ‘किसानले मौरी पालन गरी मह बेचेर जीविकोपार्जन गर्नसक्ने सम्भावना धेरै छ तर होडबाजी गरी बजार बिगार्ने प्रवृत्तिले अर्को समस्या देखिएको छ। महसँगै यसका विविध उत्पादन जस्तैः मैन, मौरीघारबाट पनि किसानले आय आर्जन गर्न सक्छन्’‚ उनले भने। 

नेपाली महको गुणस्तर नभएर बजारीकरणमा समस्या भएको होइन। नेपालको महको गुणस्तर विश्वमै उत्तम मानिन्छ। नेपालभित्रै पनि मह खानुपर्छ भन्ने जनचेतना बढाउन आवश्यक छ। दिनको एकपटक एक चम्चा गुणस्तरीय मह खानुपर्छ भन्ने अवधारणा बढाएर भारतीय बजारबाट आउने महमा पनि नियमन गर्नसके स्थानीय नेपाली उत्पादन बचाउन सकिने पोखरेल बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.