|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अझै तलसम्म पुगेको छैन। जसले गर्दा उसले नेतृत्व गरेका तीनैतहका सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना भइरहेको छ। संघीय संरचनामा गएपछिको नयाँ संरचना प्रदेश सरकार यो सन्दर्भमा सबैभन्दा अलमलमा परेको बताइन्छ। केन्द्र र स्थानीय तहको चेपुवामा परेको बताइउने प्रदेश सरकारमा पनि नेकपाकै नेतृत्व छ।

तर, तीनैतहका सरकारको गति भने अझै सुस्त छ। यही सन्दर्भमा नेकपा नेतृत्वको अहिलेको सरकारको कामको गति, नेकपाको भविष्य र प्रदेश १ मा पार्टी एकताको प्रक्रियाको विषयमा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेसँग थाहा सम्वाददाता अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश : 

प्रदेश १ मा पार्टी एकताको प्रक्रिया कहाँसम्म पुग्यो? 

एकताको हिसाबले १४ जिल्लामध्ये १३ वटा सकिएको छ। उदयपुरको सकिँदा सबैतिर सकिन्छ। महानगरपालिकाको विषय चाहींँ अध्यक्ष र सचिव केन्द्रीय नेतृत्व सचिवालयबाटै तय गर्नुपर्ने हुन्छ। त्यहीकारण विराटनगर बाँकी रहेको हो। 

 स्थानीय तहको र वडास्तरको एकता चाहिँ कहिले सकिन्छ?

अधिकांश स्थानीय तहको सकिएको छ। जिल्ला बन्‍नुभन्दा अगाडि नै स्थानीय तहबाट हामीले सिध्याएर ल्याएका छौं। वडादेखि गाउँपालिका अधिकांश सकियो। मोरङको भने पहिलेको अध्यक्ष र सचिवले राजीनामा गर्ने र नयाँ अध्यक्ष र सचिव बनाउने भन्दा अलिकति समय लाग्यो। त्यसले पनि तल्ला कमिटीको सिफारिस गरिसकेको छ। सिफारिस र अनुमोदन पालिका तहको भइसकेको छ। अब तल गाउँ तथा वडाहरूको पनि सम्पन्‍न गर्ने गरी पार्टी लागेको छ। 

कमिटीमा एकता भइसके पनि भावनात्मक एकता चाहिँ कहिले हुने ?

नीतिमा एकता भइसकेपछि भावनामा एकता नमिल्नुपर्ने कारण हुँदैन। पार्टी एकता भएपछि भावना पनि मिल्दै जान्छ। तर, व्यवहारमा कति गति लिएर जानसक्छ भन्ने कुरा हाम्रो दायित्व निर्वाह गर्न हाम्रा नेता कार्यकर्ताको कमिटीले कति जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्छ त्यसमाथि भर पर्ने कुरा हो। मलाई के विश्वास छ भने गर्नुपर्ने धेरै काम जाम लागेर बसेको छ। पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित संगठन, नीति, सिद्धान्त, सांगठनिक जीवनलाई गति दिने अन्य वैचारिक कामहरू बासी परेको वा बाँधिएर रहेको कुरा पनि छ, त्यसलाई गति दिनुछ। 

अर्को कुरा पार्टीले नै सरकार सञ्चालन गरिरहनु परेको सन्दर्भमा प्रदेश सरकारको कुरा र स्थानीय सरकारले गरिरहेको काममा पार्टीको नेतृत्व र पार्टीको नीतिसँग गाँसिएर प्रभावकारी हिसावले जानु आवश्यक छ। अब गति दिएर जान्छ। हिजो पार्टी एकीकरणको सन्दर्भले गर्दा कमिटीहरूले पार्टीगत काम तथा सरकारमार्फत् गर्ने काममा भएको कमीलाई हटाएर अघि बढ्छ। 

कतिपय जिल्ला र पालिकाहरूमा दोहोरो जिम्मेवारीले पनि विवाद निम्त्याएको छ नि?

दोहोरो हुनु अनौठो र नयाँ कुरा होइन। किनभने एउटा मान्छेले पार्टीको नेतृत्व पनि गर्छ र पार्टीकै सरकार भएकोले सरकारको नेतृत्वमा रहेर पनि काम गर्छ। खाली समयको बाँडफाँडमा कसरी मिलाउन सक्छ भन्ने छ। त्यस्ता कतिपय विशिष्ट ठाउँ र विशिष्ट व्यक्तिमा केही समस्या होला। तर, आमरुपमा हाम्रो यत्रो पंक्ति अलग-अलग जिम्मेवारीमा छ। त्यसले गर्दा धेरै असर हुँदैन। जस्तो यहाँको मुख्यमन्त्रीले पार्टीले दिएको मन्त्रालयको काम गर्नुहुन्छ। जिल्लाका इन्चार्जहरू धेरैजसो फ्रि हुनुहुन्छ जिल्लाका पनि प्रदेशका पनि। सांसद पनि इन्चार्ज भएर काम गर्नसक्छ। डे टु डे काममा अप्ठ्यारो पर्ने गरी कुनै पनि दोहोरो जिम्मेवारी छैन। 

तपाईको पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारले वा तपाईंका पार्टीले जितेका स्थानीय पालिकाले जनताको मन जितेर काम गर्न सकेन भन्‍ने लागेको छ कि छैन ?

प्रदेश सरकारले पार्टीमा बसेर सल्लाह गर्ने, रिपोर्ट गर्ने, छलफल गरेर योजना बनाउने र बनाएका योजना कसरी कार्यान्वयन भए भन्‍ने कुराको रिपोर्ट लिने-दिने अभावमा पनि एक वर्ष काम भएको छ। अब अहिले पार्टी बनिसकेको छ। पार्टी बनेकोे सन्दर्भमा १ नम्बर प्रदेशमा नीतिले के समेट्नुपर्छ भन्‍ने कुरा पार्टीको सुझाव त्यहाँ लागू भएको छ। त्यही नीतिभित्र बसेर बजेट निर्माणमा पार्टीको सहभागिता भएको छ।

बजेट कार्यान्वयन गर्दा पार्टीका तत् ठाउँमा जितेका निकायमार्फत बजेटलाई एकीकृत ढंगले कसरी लागू गर्ने भन्‍ने विषयमा पनि पार्टीको भूमिका रहन्छ।पार्टीको संलग्नतापछि हिजोको भन्दा राम्रो गतिका साथ सरकार सञ्चालनको नीति र व्यवहारमा गति आउँछ। हिजोभन्दा प्रभावकारी ढंगले अगाडि बढ्छ।

अझ हामीले के मूल्यांकन गरिरहेका छौँ भने हिजो कतिपय ठाउँमा बजेटको जस्तो ढंगले सदुपयोग हुनुपर्थ्यो। त्यस्तो नभएको फिल भएको कुरालाई अब सदुपयोग गर्न पार्टी कमिटीको भूमिका के हो ? पार्टी कमिटीले जनतामा लाने कुरा के हो ? त्यसलाई उनीहरूको सक्रियतामा कसरी प्रभावकारी पार्नुपर्छ भन्ने कुरासहित जाने हुँदा अब प्रभावकारीता अझै बढ्छ। 

अहिलेसम्मका कामप्रति देशभरका जनतामा निराशा भएको छ? बजेट कार्यकर्तालाई दिइएको छ। आफूखुसी योजना पारिएको छ। यस्तो बेथितिलाई रोक्न प्रदेश १ मा पार्टीले के गर्छ?

हाम्रो नेपालमा यथार्थतामा भन्दा ठीक/बेठीक क्षेत्रमा प्रचार बढी भएको छ। यहाँले उठाएको कुरामा पनि कार्यकर्ता आधारित बजेट बाँडियो, अनुपयुक्त ढंगले, पक्षपातपूर्ण ढंगले बजेट बाँडियो भन्‍ने कुरा आइरहेको छ, त्यो अनुचित हो। तर, त्यो यथार्थमा कति भएको छ, कुन ठाउँमा, कुन विषयमा, कुन मन्त्रालयमामार्फत भएको छ ? प्रजातन्त्रमा यी कुरा आउने कुरालाई स्वागत गरिन्छ।

आएका कुरालाई तथ्यमा आधारित भएर खोजी हुन्छ। खोज्दा भेटिएका कमजोरीलाई नियन्त्रण गरिन्छ नभेटिएका कुराको प्रचारबाजी गर्ने कुरामा पनि जनचेतना फैलाउने काम गरिन्छ। जे भनिरहनु भएको छ, अलिक धेरै मनोगत छन्, केही त्यस्ता भएका छन् भने तत्सम्बन्धित कमिटी, पार्टी, मन्त्रालय विभाग अथवा निकायमा खोजी गर्ने र उपर्युक्त समाधान गर्ने काम गरिन्छ। 

 दुईतिहाइ मत प्राप्त सरकारले काम गर्न नसकेको त हो नि, संघमा पनि प्रदेश र स्थानीय तहमा पनि होइन र?

आवश्यकता त अहिलेभन्दा धेरै गर्नुपर्ने हो। तर, बच्चा पाउनेबित्तिकै बच्चाले तुरुन्तै बोलोस्, हिँडोस् भन्ने खालको अपेक्षा गर्ने जस्तो कतिपय कम्युनिष्ट पार्टीले सत्ता चलाएलगत्तै सबै जीवनस्तर माथि उक्सिहाल्ने, सबै समानतामा गइहाल्ने, ठूलो आमूल परिवर्तन केही समयमै भइहाल्ने हुनुपर्छ भन्ने किसिमको अपेक्षा छ।

तर, त्यसको एउटा प्रक्रिया हुन्छ। प्रक्रियामा मैले केही त्रुटि देखेको छैन। किनभने एउटा बच्चा जन्मेपछि बयस्क हुन जस्तो प्रक्रियाबाट गुज्रनुपर्छ, जति समय लिनुपर्छ। त्यही गतिमा अहिलेको सरकारले पनि आवश्यकतालाई सम्बोधन गर्ने उसको सीमा हुन्छ। तर, पनि आकांक्षा र चाहनालाई पूर्ति गर्नको लागि स्पिड त लिनुपथ्र्यो। तर, लिन कति सम्भव छ। 

हाम्रो क्षमता, योग्यता, अवस्था, स्थिति सबै कुरालाई हेर्दा निराश हुनुपर्ने, यसले गर्नुपथ्र्यो यसले गरेन भन्ने विषय जसरी बाहिर आएको छ। त्यस्तो होइन भन्ने मेरो बुझाइ छ। अहिले नै कुरा आउने बित्तिकै आत्तिनुपर्ने अवस्था होइन। किनभने जन्मिनेबित्तिकै बच्चा बोल्दैन, जन्मेपछि त्यसको निश्चित अवधि लिन्छ, स्वस्थ्य बच्चा छिटो बोल्छ, अलिकति समस्या भएको बच्चा ढिलो बोल्छ, बुबा आमाले चाँडो बोलिदेओस्, बढोस् भन्ने त हुन्छ नै तर हुँदैन नि त।

त्यसैले कम्युनिष्ट पार्टीको सरकारले थुप्रै चाँजोपाँजो मिलाउने, धेरै खालका बाहिरबाट हुने असहयोग, भित्रैबाट हुने असहयोगको वातावरण हामी आफैँभित्र भएका समस्यालाई चिर्दै अगाडि बढ्ने अवस्था छ। अहिलेको अवस्था सन्तोषजनक छ ठीक छ भन्ने होइन गर्नु अरू पर्छ। तर, आत्तिहाल्नुपर्ने अवस्था भने होइन। 

सरकारको लोकप्रियता खस्किरहेको अवस्थामा अब अर्को निर्वाचनसम्म नेकपाको भविष्य अहिलेको जस्तो रहिरहला र?

यो सरकारले बाँकी रहेका दिनमा काम गर्दा अहिलेको भन्दा उल्लेखनीय सहमति प्राप्त गर्छ। सहयोग प्राप्त गर्छ र उल्लेख्य हाइहाइको अवस्था सिर्जना हुन्छ। आगामी दिनमा काम गर्ने अझै धेरै अधारहरू प्राप्त हुन्छ र अझै बलियो अवस्था सिर्जना हुन्छ भन्ने मलाई लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.