गण्डकी आउने पर्यटक महिनामै नौ हजारले बढायौँ

|

पोखरा : मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार बन्यो। तत्कालीन गण्डकी र धौलागिरी अञ्चल गाभिएर गण्डकी प्रदेश पनि बन्यो।

यो छुट्टै सरकार भएकोले यसले आफैँ बजेट ल्याउने, आफैँ कार्यक्रमहरू ल्याउने गर्न थाल्यो। प्रशस्त पर्यटकीय सम्भावना देखेर गण्डकी सरकारले आफ्नो प्रदेशको समृद्धिको मूलआधार नै पर्यटनलाई मान्यो।

पर्यटनलाई आफ्नो मूलआर्थिक आधार मानेको सरकारले होमस्टेलाई अनुदान, प्रदेशका महत्वपूर्ण ठाउँहरूको परिचय समेटिएको पुस्तक प्रकाशन र गोष्ठी सेमिनारबाहेक उल्लेख्य काम भएको देखिँदैन।

आन्तरिक पर्यटनको आधा वर्ष बितिसक्दा के प्रगति भयो? फेवातालको बीचमा टापु बनाएर १० हजारको कफी खुवाउने कुरा पनि सार्वजनिक कार्यक्रम नै गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसँग थाहा खबरका लागि सन्तोष अधिकारीले गरेको कुराकानी :

गण्डकी प्रदेशभित्र पर्यटन गतिविधिमा के के प्रगति भए?

हामीले गण्डकी प्रदेश सरकार गठन भइसकेपछि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यौँ। पर्यटकीय गन्तव्‍यहरू छनोट गर्ने काम गर्‍यौँ। ११० गन्तव्‍यहरू छनोट गरेर केहीमा पर्यटन पूर्वाधारहरू पनि निर्माण भएका छन्।

१६ वटा डिपिआर बनेका पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार निर्माण भएका छन्। ४८ वटा पैदल मार्ग, ५० वटा पार्क, २७४ होमस्टे निर्माण गरेर पर्यटन पूर्वाधारमा राम्रो थालनी गरेका छौँ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्‍यौँ। अर्को हामीले आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९, छिमेकी मित्रराष्ट्र भ्रमण वर्ष २०२०, र गण्डकी प्रदेश भ्रमण वर्ष २०२२ घोषणा गर्‍यौँ।

२०२१ मा हाम्रै पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान हुन्छ। अरू पूर्वाधारहरूको निर्माण भइरहेका छन्। पर्यटन क्षेत्रमा भएका मोटामोटी कामहरू यिनै हुन्।

होमस्टेसम्म जानेबाटो नबन्ने होमस्टेमा करोडौँ खर्चेर पर्यटक कसरी जाने?

गण्डकी प्रदेशको होमस्टेको सबैभन्दा ठूलो महत्वपूर्ण पाटो भनेको प्रकृति हो, संस्कृति हो। गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहका हरेकका भिन्नभिन्न संस्कृति छ, महत्व छ, भिन्नभिन्न आकर्षण गन्तव्य हुन सक्छन्। कतिपय ठाउँमा होटल नहुन सक्छन्। होटलको न्यूनतम सुविधा पाउनेगरी बस्न, खानका लागि होमस्टेहरूले एकदमै राम्रो सपोर्ट पुर्‍याएको छ। जुन ग्रामीणस्तरमा छ।

गाउँमा स्वरोजगारसमेत सृजना गरेको छ। गाउँबाट पलायन भएकाहरूलाई गाउँमै रोक्ने, विदेश गएका हरूलाई रोजगारी हुने, गाउँको, संस्कृति, रीतिरिवाजको संरक्षण पनि हुनेछ।

अहिले गण्डकी आउने पर्यटकको संख्या मासिक नौ हजारको दरले बढेको छ। पर्यटकहरूको आकर्षण बढ्दो छ। पर्यटकीय क्षेत्रमा पूर्वाधारको अभाव थियो। हाम्रो होमस्टेले त्यसलाई परिपूर्ति गर्ने काम गरेको छ।

फेवातालको विषयमा उजुरी परेको छ, संयोजक तपाईं नै हो काम किन नभएको?

उजुरी भएको हामीले पनि सुनेका छौँ। अदालतबाट सुनेको भने छैन। तर, हामी सर्वोच्चले गरेको फैसला कार्यान्वयमा लागेका छौँ। अब छिट्टै फेवातालको सीमांकन हुन्छ। यो नापी विभागले गर्नुपर्ने काम भएकोले प्रधानमन्त्रीको कार्यालय हुँदै भूमिसुधार मन्त्रालयबाट नापी पुगेर काम हुन्छ।

फेवातालको बीचमा टापु बनाएर १० हजार रुपैयाँ कप कफी खाने ठाउँ बनाउने भनेर सार्वजनिक कार्यक्रममै बोल्नुभो। जे पनि बोल्ने? योभन्दा धेरै आलोचना पनि त खेप्नुभयो के भन्नुहुन्छ?

हामीले नयाँनयाँ सपना देखेका छौँ पर्यटन क्षेत्रमा त्यस्तो गन्तव्‍य बनाऔँ भनेर आलोचना गर्नेहरूले गरिराखून्। हामी कसरी नयाँ ठाउँ बनाउने, नयाँ प्रोडक्टहरू ल्याउने भनेर लागि परेका छौँ।

हामीले यहाँको प्रकृतिलाई, संस्कृतिलाई प्रचार गरेर कसरी महँगा पर्यटक भित्र्याउने, कसरी महँगा पर्यटकको केन्द्र हाम्रो प्रदेश बनाउन सक्छौँ भनेर छलफलका विषय उठान गरेका हौँ।

त्यसका लागि बजेट एलोकेट गरेर, सर्वे गरेर, अध्ययन गरेर जानका लागि हामी निरन्तर लागिरहेका छौँ। भएको क्यापासिटीले अब पर्यटक धान्दैन।

यसमा नयाँ पूर्वाधारहरू थप्नुपर्छ भनेका छौँ, नयाँ प्याकेजका कार्यक्रम भनेका छौँ, दुईतले बस ल्याउने कुरा गरेका छौँ, ११ वटै जिल्लामा के गर्ने, नयाँ कुरा नयाँ कुरा गरिरहेका छौँ। हाम्रो कामलाई हेरेर मूल्यांकन गरौँ। पर्यटन मन्त्रीले जेपायो बोल्दो रहेछ कि रहेनछ भनेर।

आन्तरिक हवाई उडान पनि कथा नै भयो नि?

त्यसका लागि प्रदेश सरकार निरन्तर लागिरहेको छ। यही भदौ ३० गते मनाङको हुन्डे विमानस्थलमा हवाई उडान सुरु गर्ने तयारी गरेका छौँ।

यो महिनापछि पर्यटकीय सिजन पनि सुरु हुन्छ। त्यसमा लागिरहेका छौँ। सिमरा र नेपालगञ्जको लागि पनि हामीले तयारी गरिरहेका छौँ।

यो क्यानको कुरा हो। हामीले सहजीकरण गर्ने एयरलायन्सले उडान गर्ने हो। पर्यटन व्‍यवसायीहरूसँग कुरा गरेका छौँ। हामी योबाहेक सातै प्रदेशमा पोखराबाट हवाई यात्रामा आऊजाऊ गर्न कसरी सकिन्छ भनेर लागिपरेका छौँ।

आन्तरिक पर्यटन वर्ष २०१९ को आधा समय सकियो। केही काम भएको त देखिँदैन नि?

हामीले अपेक्षा गरे अनुसारका पर्यटक आऊलान्। अब आगामी असोज १० गते सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा गर्नका लागि यहाँको पर्यटनका नेतृत्वकर्ताहरू जाने, यहाँको बारेमा

जानकारी गराउने, जिल्ला समन्वय समिति, अरू स्थानीय तहलाई पनि त्यसमा सहभागी गराउने तयारी गरिरहेका छौँ। कमिटीहरू बन्ने प्रक्रिया अघि बढेको छ।

स्थानीय तहले कत्तिको सहयोग गरेका छन्?

हम्रो यो मुख्य कार्यक्रम भयो। हामीले सहकार्य गरिरहेका छौँ। पर्यटक जाँदा धेरै फाइदा नै स्थानीय तहलाई छ। उहाँहरूले पनि अब पर्यटनलाई प्राथमिकता दिनुहुन्छ भन्ने लाग्छ।

महान् चाड आउँदै छन् त्यसमा आन्तरिक पर्यटनलाई जोड्ने, मेरो गाउँ, मेरो ठाउँ भन्ने कार्यक्रमलाई अभियानकै रूपमा चलाउँदै छौँ। यति भएपछि स्वत: गाउँगाउँमा पर्यटन विकास हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.