आँखा चिम्लेर रकम दिने र कुनै प्रमाण नराख्ने गर्दा समस्या

|

बागलुङ : खाडी मुलुक कतार ! चिसोको समयमा मुटु छुने चिसो र गर्मीको समयमा खपिनसक्नुको घाम ! देशको कानून, मानवअधिकार, मजदुरको अधिकार र रहनसहनसमेत पचाउनै कठिन !

कतारको घाम र चिसोभन्दा युरोपका शहरहरूको सुविधाभोग गरेरै काम पाए त्यहाँ पुग्ने सपना खाडी पुगेका हरेक नेपालीले देखेका हुन्छन्। बागलुङ नगरपालिका–६ सिमका विष्णु शर्माको पनि यस्तै सपना थियो। 

कतार पुगेको केही समयपछि विष्णुको मोबाइलमा घण्टी बज्यो। सामाजिक सञ्जालमा आएको सन्देशले विष्णुको मोबाइलमा आँखा मात्रै परेन, मनै फुरुङ्ग भयो।

पोल्याण्ड शहरमा रहेका एक जना आफन्त पर्नेले उनलाई मामा नाता लगाएर सन्देश पठाए। गाउँमै मावला भएकाले सन्देश पठाउनेले उनलाई मामा भन्थे। कुराकानी हुँदै गयो। 

केही समयमा युरोप जाने सपनाको विषयमा विष्णुले जानकारी गराए। मामा नाता लगाएर बोलेका ती एजेन्टले विष्णुलाई युरोप पुर्‍याउने बचन मात्रै दिएनन्, प्रकृयाका लागि आवश्यक रकम भनेर पैसासमेत मागे।

युरोप जाने सपना बोकेका विष्णुले कतारमा दुःखले कमाएको दुई महिनाको पारिश्रमिक जम्मा गरेर श्रीमतीलाई पठाए र एजेन्टको खातामा ५० हजार रुपैयाँ जम्मा गराए। एजेन्टले आफ्नो नभएर साथी बताउने एक जनाको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाए। अनि शुरू भयो ठगीको श्रृङ्खला।

​विष्णुले पैसा बुझाएको दुई वर्ष समय बित्यो। युरोपमा आवेदन दिन लाग्ने खर्च भनेर पैसा माग्ने बेला एजेन्टले बढीमा तीन महिनाका लागि पोर्चुगलको वर्क परमिट बनाउने र छ महिनामा उडाउने भनेका थिए। काम नभए तत्कालै पैसा फिर्ता गर्ने सहमति थियो।

तर, यस्तो सहमति गरेको दुई वर्ष बितिसक्दा अहिले पोल्याण्डमा रहेका ती एजेन्टको सामाजिक सञ्जाल बन्द छन्। फोन लाग्दैन। ‘सामाजिक सञ्जालमा फोटोसहित बेइज्जती गरेपछि अर्कैको फोनबाट सम्पर्क गरेर पैसा दिन्छु भनेको थियो, उसको नाम चाहिँ अहिले नभनौं,’ कतारमा रहेका विष्णुले थाहाखबरसँग भने, ‘पैसा जम्मा गरेको भौचरमात्रै छ, त्यही पनि अरूका नाममा, पैसा लिने एउटा र दिएको अर्को हुँदा समस्या भयो।’

विष्णु मात्रै होइनन्‌, कतारमै रहेका पोखराका रामचन्द्र पौडेल, दुवैमा रहेका बागलुङ नगरपालिका वडा नं. ६ कै नारायण आचार्य र म्याग्दीको पुलाचौरका नविन पौडेलले पनि ५० हजार रुपैयाँका दरले निजलाई पैसा बुझाएका थिए।

‘चिनेजानेको मान्छे, काम होला भनेर दुःख गरेको पैसा फसाइयो, अहिले न काम भयो, न त पैसा फिर्ता हुन्छ,’ शर्माले भने, ‘सामाजिक सञ्जालमा लेखेपछि उसका आफन्त सम्पर्कमा आउँछन्‌ र दिन्छौं भन्छन्, धेरैपटक भयो, पछि हराउँछन्।’ 

यस्तै समस्या काठेखोला गाउँपालिका–२ का शंकर सुनारले पनि भोगेका छन्। सामाजिक सञ्जालमा पोष्ट गरिएको सूचनाका आधारमा उनले त्यहाँ उपलब्ध ह्वाट्सएप नम्बरमा सम्पर्क गरे। एजेन्टले पनि साउदीको क्लिनर कम्पनीमा काम र मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाई हुने बताएपछि सुनारले विदेश जाने निर्णय गरे।

सामाजिक सञ्जालमार्फत एक महिनाजति कुराकानी भयो। एजेन्टले भनेअनुसार सुनारले वैदेशिक रोजगारको लागि आवश्यक पर्ने कागजात तयार गरे। प्रकृयाको लागि भन्दै पहिलो पटक २० हजार रुपैयाँ आइएमइमार्फत पठाए। 

काम छिटो हुने भन्दै फेरि पूरै एक लाख ४० हजार रुपैयाँ पठाउन भनेपछि सुनारले ऋण खोजेरै मागेअनुसार रकम पठाए। सबै रकम पठाएपछि प्रकृया सकिएको भनेर ह्वाट्सएपमार्फत काठमाण्डौ बोलाएका एजेन्ट बेपत्ता भए। निजसँग सम्पर्क हुने अन्य कुनै नम्बर वा ठेगाना थिएन।

आफू ठगीमा परेको थाहा पाएपछि रकम फिर्ताका लागि प्रयास  गर्दा पठाएको बैंक एकाउन्ट पनि सम्बन्धित एजेन्टको नभएर हार्डवेयर पसलको र स्वयम् व्यक्तिसमेत नेपाल नभएको पुष्टि भयो। ऋण खोजेर एजेन्टलाई रकम बुझाएको रकम फिर्ताको लागि उनलाई कानूनी जटिलता त्यति बेला भयो, जति बेला आवश्यक कागजात साथमा भएन।

बागलुङ नगरपालिका–५ का दिलबहादुर किसानको पीडा पनि उस्तै छ। फेसबुकमा चिनजान गरेको व्यक्तिले कतार लैजाने र त्यसको लागि ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएपछि उनले रकम उपलब्ध गराए। रकम बुझाएपछि एजेन्ट सम्पर्कविहिन !

न साथमा पैसा, न विदेश ! ठगीमा परेपछि न्याय खोज्दै जिल्ला प्रशासन बागलुङ पुगेका सुनार त्यतिबेला अचम्ममा परे-जब प्रशासनले आवश्यक प्रमाणसहित निवेदन पेश गर्न आग्रह गर्‍यो। 

प्रशासन वा प्रहरी र सरोकारवाला निकायले प्रमाणबिना नै पीडितलाई न्याय दिन नसक्ने अधिवक्ता राम शर्मा बताउँछन्। ‘एजेन्टका समेत सहायक एजेन्ट हुन्छन्, कारोबार र कागज फरक हुन्छन्, त्यसैले युवा ठगिन्छन्,’ शर्मा भन्छन्, ‘सजग नबन्दा र प्रमाण नराख्दा युवाहरूले पैसा फसाइरहेका छन्।’ 

वैदेशिक रोजगारीमा जान खोजेका युवाहरू सामाजिक सञ्जाल र प्रत्यक्ष भेट वा अन्य माध्यमबाट ठगिने क्रम बढिरहेको छ। ठगिएका युवाहरूसँग न पैसा असुल्ने प्रमाण हुन्छ, न त ठग्नेहरूसँग चिनजान र भेटघाट।

सुरक्षित आप्रवासन परियोजना बागलुङका संयोजक मीनप्रसाद उपाध्यायका अनुसार विश्वासका आधारमा रकम बुझाउने, एजेन्टको व्यक्तिगत विवरण जानकारी नलिने र कानूनी उपचारको लागि आवश्यक प्रमाण जुट्ने कागजपत्र नहुँदा कठिन हुने गरेको छ।

‘बागलुङका चार स्थानीय तहसँगको सहकार्यमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा दैनिक जसो ठगीका गुनासा आउने गरेका छन्,’ उनले भने, ‘कानूनी प्रकृयामा आवश्यक पर्ने कुनै प्रमाण नहुँदा मुद्दा अगाडी बढाउन कठिन हुने गरेको छ।’ वैदेशिक रोजगारीमा जाने आकांक्षा बोकेका युवाहरूलाई छिमेकी तथा आफन्तले नै ठगेका धेरै उदाहरण रहेको उनी बताउँछन्‌। 

ठगीमा परेको उजुरी गर्न कम्तिमा पनि वैदेशिक रोजगार प्रयोजनको रकम उपलब्ध गराएको प्रमाण खुल्ने बैंक भौचर, एसएमएस वा तमसुकजस्ता प्रमाण आवश्यक हुने अधिवक्ताहरू बताउँछन्‌। बैंकमार्फत रकम उपलब्ध गराएको प्रमाण भएपनि त्यसको प्रयोग नखुल्दा समस्या हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.