भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्या कमी हुँदै आएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप संक्रमित भएका छन्।
यो संख्या अघिल्ला दिनको भन्दा कम हुँदै गएको हो। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले संक्रमण घटेको जनाएको छ। पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले संक्रमितको संख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। त्यसैगरी सक्रिय अवस्थामा रहेका संक्रमितको संख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ।
सक्रिय संक्रमितको संख्या घटेर ७० दिनपछि पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरूले जानकारी दिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमणमुक्त भएकाहरूको दर ९५.८० रहेको छ। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको छ। ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त भएकाहरूको कुल संख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख ६ हजार ७९१ पटक कोरोना परीक्षण गरिएको छ भने २६ करोड १९ लाखलाई खोप लगाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।