|

काठमाडौं : ललितपुरको गोदाबरी नगपालिकाको बडिखेलका रामेश्वर आचार्यलाई जनै पूर्णिमा आउनुभन्दा केही महिनाअगाडिदेखि नै भ्याइनभ्याइ छ। यस वर्ष भदौ ६ गते आइतबार जनै पूर्णिमा परेको छ। उक्त दिन बिहान जनै मन्तर्नुभन्दा अगाडि नै साढे ७ हजार जनै तयार पार्नुपर्ने भएकाले उनलाई भ्याइनभ्याई भएको हो।

विधिपूर्वक मन्त्र उच्चारणसहित रुद्री पाठ गर्दै ऋषि र पितृहरुलाई तर्पण गरी जनैको धागोको पूजा गरी जनै मन्तर्ने गरिन्छ। कतिले रामेश्वरसँग मन्तरेको जनै किन्छन् भने कतिले आफ्नै घरमा लगेर मन्तर्ने गरेका छन्।

जनै बनाउनका लागि बिहानदेखि राती अबेरसम्म उनी खटिरहन्छन्। ५० औँ वसन्त पार गरिसकेका आचार्यले १७ वर्षको उमेरदेखि जनै बनाएर घरको आवश्यकता पूरा गरिररहेका छन्। जनै बेचेर उनले वार्षिक करिब डेढ लाख रुपैयाँ खुद नाफा कमाउँछन्। यति कमाउन उनले १० हजार मात्र लगानी गर्छन्।

‘धागो किन्न १० हजार जति लगानी गर्छु,’ उनले भने, ‘धागोको खर्च जोगाएर करिब डेढ लाख जति त नाफा नै कमाउँछु।’ उनले करिब साढे सात हजारवटा जनै बनाउँछन्।

मेहेनतबाट भएको कमाइबाट आफू सन्तुष्ट भएको आचार्य बताउँछन्। ‘म एकदम सन्तुष्ट छु,’ उनले भने, ‘यसबाट आफ्नो संस्कृति पनि जोगाउन मद्दत पुग्ने, पैसा कमाइ पनि हुन्छ।’

उनले गाईबस्तु पालेर दुध पनि बेच्दै आएका छन्। यसैगरी आफ्नै बारीमा तरकारी खेती गरेका छन्। घर नजिकैका छिमेकी र इँटा भट्टाका मजदुरहरुले उनको तरकारी किन्ने गरेका छन्। 

‘म बिहान साढे ४ बजेदेखि ५ बजेसम्म गाई दुहुनुभन्दा अगाडिसम्म जनै बनाउँछु,’ उनले भने, ‘दिउँसो एकछिन आराम गरेर १ बजेदेखि ३ बजेसम्म जनैकै काममा जुट्छु। त्यसपछि राति खाना खाएपछि एकछिन जनै बनाउँछ्।’

उनले एउटा जनैको २० रुपैयाँ लिने गरेका छन्। एक लाछी धागोबाट ३० वटासम्म जनै बनाउँछन्। श्रीमती विजया र छोरा ईश्वरसँगै बस्दै आएका उनलाई जनै बनाउन परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन्।

‘जनै बनाउने काम सजिलो छैन। लगानी थोरै भए पनि मेहेनत ज्यादा छ,’ उनले भने, ‘मलाई परिवारका सदस्यबाट यो काममा सहयोग छ।’

करिब ३० वर्षअघिदेखि जनै बनाउने काम गर्दै आए पनि उनले व्यावसायिक रुपमा उत्पादन गर्ने भने १५ वर्षअघिदेखि मात्रै सुरु गरेका हुन्। उनले पहिले धागो संगेल्न बासको किलामा फनफनी बेर्ने गरेको थिए। अहिले भने मेसीनबाट धागो संगेल्ने गरेको उनले बताए।

बजारमा अन्य खाले जनै आए पनि आफूले उत्पादन गरेको जनै धेरैले रुचाउने गरेको उनी बताउँछन्। ‘मैले विशेषगरी माग अनुसारका स्थानमा जनै पुर्‍याउने गरेको छु,’ उनले भने, ‘बडिखेल, गोदावरी, किटीनी, विष्टगाउँ, डाडागाउँ, झरुवाराशी, तासिन्चोक, न्यौपानेगाँउमा पुर्‍याउने गरेको छु।’

जनै लिएपछि पैसा दिन कसैले आनाकानी नगर्ने उनको अनुभव छ। ‘पैसा सजिलै दिने गरेका छन्,’ उनले भने, ‘राम्रो जनै छ, पैसा जति परे नि तिर्छौँ भन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.