|

काठमाडौं : आज कुशे औंशी मनाइँदै छ। यो पर्व हरेक वर्षको भाद्र कृष्ण औंशीका दिन मनाइन्छ। कुशे औंशीका दिन ब्राह्मणहरूले विधिपूर्वक कुश काट्ने गर्छन्। यस दिन काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ। त्यही कुश वर्षभरि गरिने देव तथा पितृ कार्यमा प्रयोग गर्ने प्रचलन छ।

तर‚ देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पछिल्लो समय अभाव हुँदै गएको छ। मानवीय कृयाकलापले गर्दा कुश अभाव भएको प्रयोगकर्ताहरू बताउँछन्। भक्तपुर बालकोटका दीपक ढुंगेलले कुश उम्रने ठाउँमा विभिन्न संरचना बन्दा र कुशप्रति आस्था घट्दा यसको उत्पादन कम भएको बताउँछन्।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ। नुहाउँदा‚ जप गर्दा, दान गर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वकासाथ हेर्दछन्।

कुश घरघर बाड्ने भनिए पनि कुशको अभाव भएकाले औंशीका दिन कुश बाँड्न नै समस्या हुने जजमानी गर्नेहरूले बताउँछन्। ललितपुर बडिखेलका दामोदर आचार्यले घरमै रोपेका कुश मुसाले खाइदिँदा औंशीका लागि बाड्न अभाव भएको बताए। ‘कुश नै छैन, के गर्नु मुसाले कुशको जरा नै खाइदिने भएकाले त्यत्ति कुश नै भएन,’ उनले भने, ‘कुशे औंशीका लागि बिहानै एक जना जजमानका घर गएर कुश काट्नु छ, त्यहीको कुश सबैतिर बाँडिन्छ।’

चापागाउँका माधवप्रसाद शर्माको पनि व्यथा उस्तै छ। ‘बारीमा लगाएको कुश यसपाली त्यत्ति मात्रामा आएन,’ उनले भने, ‘लेलेबाट ल्याउने भनिएको कुशको घारी नै अविरल वर्षाले गर्दा पहिरोले लग्यो। यसपाली अत्याधिक वर्षा हुँदा ठाउँठाउँमा कुश लगाएका घारी र कुश लगाएका खेत बारीका काल्ला पनि भासिएका र बिग्रिएका छन्।’

काठमाडौं उपत्यकामा कुश आफ्नै बारीमा नभएर पनि अरुकोमा माग्ने चलन छ। तर‚ पछिल्लो समय कुशको ब्यापार हुन थालेको छ। कतिले कलंकी, टेकु, हनुमानढोका, मंगलबजार, असन, इन्द्रचोकमा गएर कुश किन्ने गरेका छन्। धादिङ, नुवाकोट र काठमाडौं जिल्लाकै आसपासबाट ल्याइएका कुश बेच्ने गरिन्छ। बागडोलका गेहेन्द्र राज अर्यालले भने कालीमाटीबाट एक हजारमा एक कल्ली कुश किनेका छन्।

पछिल्लो समय कुशलाई जोगाउने र यसको खेती गर्ने चलन कम हुँदै पनि गएको गोदावरी लेलेका जेष्ठ नागरिक भुना सिल्वाल बताउँछन्। अहिलेका पुस्ताले कुशको महत्व नबुझेकाले यस्तो अवस्था आएको उनको बुझाइ छ।

हिन्दू धर्ममा कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ। कुनै पनि होम–यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइने परम्परा छ। देवीदेवताको पूजा, पैतृक कर्म ,प्राण प्रतिष्ठा, प्रायश्चित, स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिने शास्त्रीय मान्यता छ। कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी देव कार्यमा साहिँली औंलामा र पितृकार्यमा चोर औंलामा लगाउनु, श्राद्धमा कुशलाई कम्मरमा सिउरिनु, यज्ञमा विष्टरका रुपमा प्रयोग गरिने चलन एवं विधि छ।

कुशको वैज्ञानिक दृष्टिकोणबाट पनि महत्व छ। दुधलाई फाट्नबाट जोगाउन कुशकै प्रयोग गरिन्छ। कुशबाट बुनेको गुन्द्री वा चटकीमा बस्दा स्वास्थ्यलाई राम्रो हुने भनाइ गाउँघरमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.