बिहान १० बजेर २ मिनेटमा टीकाको उत्तम साइत

|

काठमाडौं : नेपालीहरूको महान् चाड बडादशैँको मुख्य दिन शुक्रबार विजया दशमी मनाइँदैछ। विजया दशमीमा आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व दशैँ हो। मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा दशैँ मनाउने परम्परा चल्दै आएको छ।

घटस्थापना गरिएको स्थानमा थापिएको देवीलाई नै नवमीका दिनसम्म पूजा गरी विजया दशमीका दिन विसर्जन गरी त्यहीको जमरालाई प्रसादका रूपमा लगाइदिने चलन छ।

टीका अगाडि कलशको जलको अभिसेक पनि लिने चलन छ। यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ। नेपाल पन्चाङ्ग निर्णायक समितिले विजया दशमीका दिन टीका लगाउने उत्तम साइत विहान १० बजेर २ मिनेटमा रहेको जनाएको छ।

यस्तै विहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवतीलाई विसर्जन गरिने शुभ साइत रहेको समितिका अध्यक्ष प्रा कृष्ण खनालले जानकारी दिए। समितिले विजया दशमीको टीकाका लागि शुभ साइत निर्धारण गरिरहँदा कतिले यो साइत अगाडि र कतिले भने यो साइत पछाडि टीका लगाउँदैछन्।

वास्तवमा समितिले निर्धारण गरेको साइतमा मात्र नभई दिनभर नै टीका लगाउँदा पनि शुभ हुने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए। विजया दशमीका दिनभर नै टीका लगाउँदा राम्रो हुने उनले बताए।

यो साइत खोज्नेका लागि मात्र हो, उनले भने, 'शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीका प्रसाद ग्रहण गर्न साइत चाहिँदैन। विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थान अनुसार यो फरक फरक छ।

राम्रा-राम्रा पोशाकमा सजिएका, निधार भरी दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरूको विशेष चहलपहल देखिन्छ।

पोहोरको तुलनामा कोरोना संक्रमणको दर कम भएकाले पनि धेरैले यसपालि दशैँ धुमधामसँग मनाइरहेका छन्। कति स्थानमा विजया दशमीका दिन मात्र टीका लगाउँछन् भने कति स्थानमा कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ। 

दशैँका किम्बदन्ती 

भगवान रामले रावणमाथि विजय पाएको उत्सवका रूपमा दशैँ मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ। रावणको अत्याचारलाई परास्त गर्न मर्यादा पुरूषाेत्तम रामले नौ दिन सम्म विभिन्न नौ देवीको उपासना गरी दशौँका दिन रावणलाई बध गरेको खुसीयालीमा दशैँ मनाउन थालिएको हो। 

यसैगरी नवदुर्गा भवानीले चण्डमुण्ड, सुम्भ निसुम्, रक्तविजसहित दानव महिषासुरलाई बध गरेको खुसीयालीमा दशैँ मान्ने गरिएको किम्बदन्ति छ। विभिन्न नौ देवीले दानवलाई मारेको स्मरणमा नवरात्रका नौ दिन अर्थात घटस्थापना देखि नवमीसम्म देवीको पूजा गरिन्छ। विभिन्न शक्ति स्वरूपा देवीका मन्दिरहरूमा देवीको दर्शन गर्नाले शक्ति प्राप्त गर्ने जनविश्वास छ।

दशैँमा आएका परिवर्तन

व्यक्तिहरूमा कोभन्दा कोकम भन्ने होडबाजी बढेको छ। कसले कति दक्षिणा दिने भन्ने परिपाटी बढ्दो छ। विचारमा दशैँ दक्षिणाको नभएपनि व्यवहारमा यसको परिवर्तन अझै आएको पाइदैन।

पहिले-पहिले दशैँ भन्नेवित्तिकै टाढा टाढाबाट व्यक्तिहरू आफ्नो घरमा जाने गर्थे। तर अचेल त्यो त्यत्ति सान्दर्भिक भइरहेको छैन। दशैँका बेला गाउँगाउँमा लिङ्गे पिङ हाल्ने गरिन्छ। तर पहिलेको तुलनामा पिङ हाल्ने क्रम पनि हराउँदै गएको छ।यसो हुनुमा पहिलो कारण त व्यक्तिमा पिङ प्रतिको चासो घट्नु तथा पिङका लागि चाहिने बाँसको पर्याप्तता नहुनु पनि यसका कारण हुन्। 

दशैँका नौ दिनलाई नवरात्री भनिन्छ। यो बेलामा विभिन्न शक्तिपीठ तथा दुर्गा भवानीका मन्दिरहरूमा गई पूजाअर्चना गरिन्छ। पहिले-पहिले मन्दिरमा घण्टाैँ  लाइन बसेर दर्शन गर्ने दर्शनार्थीहरू अचेल बाहिरैबाट मन्दिर परिक्रमा गरि घर फर्कन्छन्।

पहिले मौखिक अथवा सांगीतिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान हुन्थ्यो। तर अहिले कत्तिले काड नै बनाएर छापेका छन्। सामाजिक संजालमा शुभकामना पनि पठाइरहेका छन्।

दशैँका बेला मन्दिरमा भीड

बडादशैँको बेला उपत्यकामा रहेका देवीका मन्दिरहरू र शक्तिपीठमा भक्तजनको घुँइचो लागेको छ। उपत्यकाका गुहेश्वरी , शोभाभगवती , रक्तकाली , श्वेतकाली , दक्षिणकाली, नक्साल भगवती, मैतीदेवी, बज्रयोगिनी, ईन्द्रायणी, भद्रकाली, सङ्कटा, नरदेवी, विजेश्वरी, बज्रबाराहीलगायतका मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ। देशका  विभिन्न मन्दिर तथा शक्तिपीठहरूमा पनि अष्टमी र नवमीका दिन भीड लाग्ने गर्दछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.