डडेल्धुरा : स्थानीय भाषामा ‘देहिजाँत’नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न भएको छ।
बिहीबार साँझ सुरु भएको मेला शुक्रबार बेलुकी सम्पन्न भएको हो। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा मेला लागेको हो।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो।
गतवर्ष कोरोनाका कारण नित्य पूजामा मात्र सीमित भएपनि यो वर्ष भने भव्य रूपमा सम्पन्न भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजाआराधना सुरु भएको थियो। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गरियो।
बिहानको पूजाआजापछि दिउँसो दाइनदामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नचाइएको थियो।
देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए।
विगत वर्षझैं यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालु भक्तजनले मेला भरेको उनको भनाइ छ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडास्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजाआराधना गर्न पुगेका थिए।
किंवदन्तीअनुसार परापूर्व कालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो।
आफूले खान ल्याएको खिचडीले टालेर रगत रोकिएपछि देवी उत्पन्न भइ दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःखसुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्थ्यो।
वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
बिहान ४ बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको थियो।
उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्रीवितरण गर्दछन्।
देहिजाँत तस्वीरमाः
तपाईंको ईमेल गोप्य राखिनेछ ।