|

काठमाडौं : फागुन १० गते अभिनेता पल शाहको जन्मदिन हो। रियल हिरोको उपमा पाएका पल अभिनित फिल्म 'म यस्तो गीत गाउँछु २' पनि प्रदर्शनको मुखमा रहेको छ।

यतिवेला अभिनेता पलको चर्चा सर्वत्र छ। उनी जन्मदिन र प्रदर्शनको मुखमा रहेको फिल्मका कारणभन्दा गायिका समीक्षा अधिकारीसँगको विवादका कारण बढी चर्चामा छन्। 

केही महिनाअघि पल र समीक्षाको सम्बन्धलाई लिएर सञ्चारमाध्यममा समाचार बनेका थिए। पलले प्रेम सम्बन्धमा पारेर समीक्षालाई धोका दिएको र कुरा प्रहरीसम्म पुगिसकेको खबर बाहिर आएको थियो। यद्यपि दुवैले फेसबुकमा स्टाटस लेख्दै यस्ता समाचारको खण्डन गरेका थिए। 

एक महिनाअघि समीक्षाले आफूले पहिले लेखेको स्टाटस कसैको अनुनयमा लेखेको र त्यो सत्यताभन्दा धेरै पर रहेको बताएपछि उक्त घटना फेरि चर्चामा आएको थियो। 

सोमबार रातिदेखि दुईवटा अडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन्। एउटा अडियोमा पल र समीक्षा दुवैको आवाज सुनिएको छ। जसमा पलले समीक्षालाई आफूहरूबीच भएको कुरा सामान्य रहेको भनेर बुझाउन खोजिरहेका छन्। उक्त अडियोमा अन्य व्यक्तिको आवाज पनि सुनिएको छ। 

यसैगरी अर्को अडियोमा समीक्षाले आफ्नो र पलको भेट हुँदादेखिका घटनाको विवरण सुनाइरहेकी छन्। सुरुमा पलले नै आफूलाई प्रेम गर्छु भनेर नजिकिएको र स्वार्थ पूरा भएपछि टाढिन खोजेको समीक्षाको आरोप रहेको छ। 

सार्वजनिक अडियोमा पलले आफूले समीक्षालाई नराम्रो केही नगरेको बताएका छन्। उनले भनेका छन्, 'यति सानो कुरामा यति ठूलो कदम लिनुपर्छ जस्तो मलाई लाग्दैन। पेटमा बच्चा भएको भए अर्कै कुरा हुन्थ्यो। विवाह गर्नैपर्छ स्विकार्नुपर्छ भन्न मिल्थ्यो।'

अडियोमा पलले समीक्षालाई कानुनी बाटोमा नजान तथा यो घटना बाहिर नल्याउन आग्रह गरेको सुनिन्छ। उनले यसले दुवैको करिअर र परिवारलाई पनि असर गर्ने भन्दै समीक्षालाई त्यसो नगर्न भनेका छन्। समीक्षाले भने ती कुरा पहिले नै विचार पुर्‍याउनुपर्ने बताएकी छन्। 

त्यस्तै अर्को अडियोमा समीक्षाले पलसँग पहिलो भेट डेढ वर्षअघि गीत छायांकनको क्रममा भएको बताएकी छन्। उनले भनेकी छन्, 'पहिले त्यो मान्छे त्यति मन पर्दैनथ्यो। मैले दाइ भन्थेँ। ऊ चाहिँ धेरै बोल्न खोज्थ्यो। केयर गर्थ्यो।'

बढी नै ख्याल राख्न थालेपछि आफूलाई पनि मन पर्न थालेको उनले बताएकी छन्। 

'एक वर्षपछि मेरो गर्लफ्रेण्ड छे। जे जे भयो त्यो सबै भुलिदेऊ भन्यो'‚ समीक्षाले भनेकी छन, 'मैले परिवारलाई भनेँ। त्यसपछि पुलिसमा केस हाल्ने कुरा उठ्यो।'

प्रहरीमा जाने कुरा भएपछि पलले दुई वर्षपछि बिहे गर्ने मौखिक सम्झौता भएको उनले बताएकी छन्। 

मिडियामा समाचार आउन थालेपछि पलले हामीले एक अर्कालाई बचाउनुपर्छ भन्दै स्टाटस लेखेर पठाएको र सोही स्टाटस समीक्षाले फेसबुकमा हालेको बताएकी छन्। 

दुवैले समाचारको खण्डन गरेपछि दर्शकमा पल र समीक्षाबीच केही छैन भन्ने परेपछि पलको रवाफ फेरि फेरिएको उनले बताएकी छन्। उनले भनेकी छन्, 'एक महिनाअघि सबैलाई यिनीहरूबीच केही छैन भइसक्यो, अब तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु भन्यो।'

आफूले उसको कुरा नमानेपछि विभिन्न धम्की समेत आएको र विभिन्न षड्‌यन्त्र गरिएको समीक्षाको आरोप छ। 

दुवै अडियो बाहिरिएपछि पलले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त अडियोमा सुनिने संवाद यो घटनासँग सम्बन्धित नरहेको बताएका छन्। 

पलले भनेका छन्, 'फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने क्रममा रेकर्ड गरिएका संवादलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ।' 

साथै सञ्चारमाध्यमले एउटा पक्षबाट मात्रै समाचार लेखेको गुनासो पलले गरेका छन्। त्यस्तै समीक्षाले आफ्नो चाहना भनेको पललाई उचित सजाय दिनु रहेको बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.