|

विराटनगर : भोजपुरका १८ वर्षीय विश्व राई सिंगापुर पुलिसको तयारीमा छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कस्तुरी एकेडेमीमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनलाई लाहुरे बन्ने सपनाले तानेर साँझको समय सुनसरीको धरान बजारको तीनकुनेको सडकसम्म पुर्‍याउँछ।

बाल्यकालमा पढाइका लागि भोजपुरदेखि अरूण तरेर संखुवासभाको सदरमुकाम खाँदबारी पुगेका थिए। त्यही बेलादेखि नै लाहुरे बन्ने सपना देखेका विश्व बताउँछन्। त्यही सपना बोकेर उनी धरानको तीनकुने रोडमा दैडिरहेका छन्। व्यायाम र दौडका लागि उनी दैनिक साँझ ५ बजे घरबाट निस्किन्छन्।

‘लाहुरे बन्ने मेरो सानैदेखिको सपना हो,’ विश्वले भने, ‘बिहान कलेज जान्छु, दिउँसो पढाइलाई फोकस गर्छु। दैनिक साँझको ५ बजे रनिङका लागि निस्किन्छु।’

विश्वसँगै उनका साथीहरू इटहरीको तरहराबाट दौडेर धरानको बुढासुब्बा मन्दिरसम्म पुग्ने गरेका छन्। नेपालमा पढाइको प्रमाणपत्र हातमा भए पनि अवसर कम भएकाले लाहुरे बन्ने सपना सजाएको उनीहरू बताउँछन्।

विश्वसँगै तीनकुने रोडमा दैडिएका कतिका लाहुरे हुने सपना साकार भइसकेको छ। कतिको सपना विलिन भइसकेको छ।

‘मसँगै दौडिने केही सिंगारपुरे लाहुरे भए, कोही नेपाली लाहुरे,’ उनले सुनाए, ‘कसैको सपना यतै विलाएको पनि छ।’ लाहुरे बन्न तालिम केन्द्रहरू पनि धेरै छन्। तर‚ विश्व घरमै बसेर तयारी गरिरहेको बताउँछन्।

खोटाङका १७ वर्षीय लक्ष्मण गुरुङ पनि विश्वसँगै साँझ धरानको तीनकुने सडकखण्डमा दौडिन्छन्। सिंगापुरे लाहुरे बन्ने सपना बोकेर खोटाङबाट धरान झरेका उनी  कक्षा १२ मा अध्ययनरत छन्। उनी धरान रोडमा पढाइ र लाहुरे सपनालाई एकै साथ लिएर दौडिरहेका भेटिन्छन्।

लाहुरे भएर पैसा कमाउने र परिवारलाई सुखमा राख्ने सपना सजाएका युवाहरू कम छैनन्। धनकुटा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लाबाट धरान झरेर तालिम केन्द्रमा नै बसेर तालिम लिनेहरूको संख्या प्रसस्तै छ। यस्तै संख्यामा घरमा नै बसेर व्यायम गर्नेहरू पनि छन्। उनीहरू बेलायत, सिंगापुरे लाहुरे बन्ने सपना सजाएर धरानको रोडमा हरेक साँझ‚ बिहान कडा कसरत गदै गरेको भेटिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.