तपाईं/हाम्रो गाउँ, टोलमा चोरीडकैतीका घटनाहरू भइरहन्छन्। कहिले टेलिफोनको तार चोरी हुन्छ, कहिले बाइक, साइकल चोरी हुन्छ, कहिले खानेपानीको मिटर, कहिले ढलको ढक्कन, कहिले मन्दिरको घण्ट त कहिले जुत्ताचप्पल समेत चोरी हुन्छ।
हाम्रो टोलमा एकपटक कसैले ढलको ढक्कन उडाइदिएछ। रातको समय कार्यालयबाट फर्किँदै थियो अकिञ्चन, अलिकतिले ढलभित्र खसेन। सम्झिल्याउँदा गल्तीले मिस्टेक भा भए त बिजोग हुने रैछ जस्तो लाग्छ।
फलामले बनेको ढक्कन कवाडीले राम्रै मोलमा किन्दो हो।यता चोरीको आइडिया निकाल्नेलाई पनि डोज चाहिएको हुँदो हो। डोज भन्नाले जानिफकार पाठकहरूले कुरो बुझिहाल्नुभो होला। नबुझ्नेहरूलाई सरल भाषामा बुझाउनुपर्दा नाम खुलेका लट्ठ पार्ने पदार्थहरू।
जे होस्, टोलको मन्दिरबाट देवीदेवताहरू चाहिँ गायब नभइसकेका हुनाले रक्षा गर्न भ्याए।
तर मन्दिरबाट देवीदेवताहरू नै पनि चोरी हुन्छन् बेलाबेलामा।केहि समय अघि कालिमाटीबाट कामदेवको मूर्ति चोरी भयो भन्ने समाचार आयो। तर विस्मित भइएन। यस्ता घटनाहरू हामीलाई सामान्य लाग्न थालिसक्यो।
बडे बडे देशोँमे ऐसी छोटी छोटी घटनाएँ होती रहती हे।
यो देशका देवीदेवताहरूलाई पनि बडो गाह्रो छ। आफू जोगिने कि भक्तजनहरूलाई जोगाउने? विरक्त लागेर होला, देवीदेवताहरू पनि पलायन हुन थालेका छन्। युवाशक्तिले छोडदै गएको देश दैवीशक्तिले समेत छोडिदिँदै जाँदा आसुरीशक्तिको कब्जामा पो जान थालेको हो कि?
के गर्नु, यसरी पलायन भएका देवीदेवताहरूले विप्रेषण पठाउँदैनन्।बरू सहकाल नै लिएर जान्छन्। विप्रेषण पठाउने भा भे त सरकारले वैदेशिक रोजगार प्रवर्द्धन विभाग मार्फत् होइन संग्रहालयमा रहेका देवीदेवताहरूलाई पनि विदेश पठाउँथ्यो होला हगि।
चोरिएका हाम्रा देवीदेवताहरू विदेशका ठुलाठुला संग्रहालयहरूमा मात्र होइन, निजी संकलकहरूका कलागारहरू अर्थात् ग्यालरीहरूमा समेत भेटिन थालेका छन्।
तर जुन चोरीको घटना यहाँ प्रस्तुत गर्न गइरहेको छु, त्यसले एकदमै खुंखार अनि व्यवसायिक चोरहरूलाई अचम्भित पार्ने देखिन्छ।
यस्तो घटनाले चोरहरूलाई थप उत्प्रेरित गर्ला कि भन्ने डर त छ। हुन त यस स्तरका चोरीका घटनाहरू हाल जो बाइडन राजा रहेको स्वस्थानी व्रतकथामा वर्णित शाल्मली द्विप अर्थात् संयुक्त राज्य अमेरिकादेखि चेकोस्लोभाकियासम्म पनि भएकै रहेछन्। तर अक्षर खुट्याउन नसक्ने चोरहरूले थाहा नपाए पनि समाज अल्लि सुरक्षित रहन्छ कि भनेर नखुलाएको हुँ। अब अक्षर खुट्याउन सक्ने चोरहरूले त के नै बाँकी राखेका छन् र ?
घटना ज्यादै अचम्मको भएकोले उल्लेख नगरी मनले मानेन।
घटनास्थलतिरै लाग्ने हैन त ? त्यसो भए जाऊँ न त बिहारतिर बिहार गर्न।
कहाँ रेलको टिकट काट्न लागिराख्या भन्या?
गत सोमबार अर्थात् अप्रिल ४, २०२२ (चैत्र २१, २०७८) को अपरान्ह। केहि व्यक्तिहरू बिहार राज्यको अमियावार गाउँको आरा नहरमा आए, ग्यास कटरहरू र बुलडोजर साथमा लिएर। सिँचाइ विभागका अधिकारीहरू हौँ भनी चिनाए आफूहरूलाई। पुल जीर्ण, जोखिमपूर्ण भइसकेको र वर्षात शुरू हुनुअघि नै हटाउनु भन्ने 'माथिबाट' आदेश आएको भन्दै गाउँलेहरूलाई मनाए।
गाउँलेहरूले नपत्याउने कुरो पनि भएन। पाँच वर्ष अघि नजिकै अर्को पुल बनिसकेपछि त्यो पुरानो पुल प्रयोगमा पनि थिएन। माथिको आदेश भनिसकेपछि त्यहाँ स्थित सरकारी अधिकारीहरूको सहयोगसमेत प्राप्त भयो। त्यत्रो ठुलो संरचना टुक्राटुक्रा पारेर मोटरमा हाले अनि ती 'सरकारी अधिकारीहरू' गए।
ती कहाँ गए ? यी पंक्तिहरू लेख्दै गर्दा प्रहरीले ती व्यक्तिहरूको खोजी गरिरहेको छ।
किन खोजी गर्नुपर्यो? प्रश्न उठ्ला।
किनभने तिनीहरू वास्तवमा सरकारी अधिकारीहरू थिएनन्, कवाडीवालाहरू थिए, चोरहरू थिए ती।
यो कुरो शनिबार थाहा लाग्यो, फर्स्ट इन्फमेशन रिपोर्ट दर्ज भयो अनि राज्य प्रहरी हर्कतमा उत्रियो।
त्यसो त कवाडीवालाहरूले आआफ्नै गतिमा पुलका सामानहरू उडाइरहेकै हुन्थे। तर अस्थिपञ्जरकै रूपमा भए पनि पुल खण्डित अस्तित्वमै भए पनि झुण्डिरहेकै थियो गत सोमबारसम्म।
ठिक त्यसरी नै जसरी नानाथरी नेताहरूले दशकौँसम्म ज्यूनार गरे पनि, जति नै अतिक्रमणमा परे पनि, साँचो अन्तै बुझाइएको भए पनि देश भन्ने जिनिस अझै बाँकी नै छ। त्यसैले त कुनै बेला 'पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ, कुन शक्तिका सामुमा कहिले हामी झुकेथ्यौँ' भन्दै बडो गर्वसाथ गाउने हामीहरू 'सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भै फैलिएका मेची महाकाली' पनि गर्वसाथ नै गाइरहन्छौँ ।
आरा नहरमाथि झुण्डिएको अस्थिपंजरसदृश पुल चोरी हुँदा अकिंचन चाहिँ स्नातकोत्तर तहको अन्तिम वर्षका कक्षाहरूतिर फर्किएको छ।
बडो रसिलो तरिकाले वित्तशास्त्र अर्थात् फाइनान्स पढाउँदै हुनुहुन्छ एकजना प्राध्यापक। प्रसङ्ग आएको छ तत्कालीन शानेवानि अर्थात् शाही नेपाल वायुसेवा निगमका कर्मचारीहरूको खानेबानीको।
रातिको ड्युटी (ग्रेवयार्ड सिफ्ट) का कारण कक्षामा झुल्न बाध्य हाम्रो सानो समूह समेत तन्मयतासाथ सुनिरहेको छ सरको जिवन्त प्रस्तुति।
कस्तो थियो त उनीहरूको 'खानेबानी'? त्यसो त शानेवानि नेवानि अर्थात् नेपाल वायुसेवा निगम भइसक्ता पनि खानेबानी त छुटेको छैन कि?
ओल्ड ह्याबिट्स डाइ हार्ड भन्छन् नि त।
हवाइजहाजका स-साना कुराहरूबाट भोजन शुरू गर्ने। नटबोल्ट खाने, चुक्कुल, कब्जा खाने। स्टियरिंग व्हिल खाने, पांग्रा खाने, पखेटा खाने। खाँदै जाने, खाँदै जाने। आफूले मात्रै खाने होइन नि, खुवाउने पनि। खान पनि जान्नु पर्छ त्यसै भनिएको होइन नि।
एवं रीतले नियमित खाँदै गएपछि पुरै जहाज नै खान सकिन्छ रे बडो कलात्मक ढङ्गले।
अकिंचनको प्रस्तुति वित्तशास्त्रका प्राध्यापकको जस्तो सुरूचिपूर्ण हुनै सक्तैन। त्यस्तो एन्गेजिंग तरिकाले पढाउनुहुन्थ्यो उहाँ।
जे होस्, प्राध्यापकले इङ्गित गर्नुभएको खानेबानीलाई इन्क्रिमेंटल अप्रोच भनूँ। तर हामीलाई यो बिस्तारै खानेबानीवाला इन्क्रिमेंटल अप्रोच चाहिएको छैन। जाबो एउटा जहाज खान वर्षौँ लाग्ने इन्क्रिमेंटल अप्रोचको कामै छैन यस देशमा।
शायद यहि अप्रोचका कारण थाइ एयरवेजसँगै अपरेशन शुरू गरेको शानेवानि नेवानिको रूपमा अझै अस्तित्वमा छ। के यो दु:खको कुरो होइन? भला एउटा संस्थान डुबाउन एक युग लगाउनेहरूले कसरी देश बनाउन सक्छन्?
पक्कै सक्तैनन्, त्यसैले त हामीलाई चाहिएको छ -याडिकल अप्रोच। होइन त नेताज्यूहरू?
वास्तवमा त्यो बिहारवाला घटना हाम्रा लागि पथप्रदर्शक हुनसक्छ।यस्तै सोच्नुहुन्छ होला आफ्ना दलहरूलाई प्रचण्ड बहुमतले विजयी गराउन लागि पर्नुभएका हाम्रा भाग्यविधाताहरू। विषय वा प्रसङ्गले यस पंक्तिको अर्को अर्थ लाग्न गएको भए अकिञ्चन क्षमा माग्दछ।
एउटा कुरा खुसुक्क भन्छु है यहाँहरूलाई। निर्वाचन आउँदैछ, दलहरू चुनाव खर्च जुटाउन प्राणपणले लागिपरेका छन्। यता युक्रेन मामिलामा रूस र उत्तर एटलान्टिक सन्धि सङ्गठनबिच तनाव बढदा र पश्चिमा राष्ट्रहरूले रूसविरुद्ध नाकाबन्दी लगाउँदा रूसको मूलत: योरोपकेन्द्रित खनिज तेल कारोबार प्रभावित भएको छ। खनिज तेल आपूर्तिमा अवरोधका कारण तेलको मूल्य आकाशिएको छ।यसका कारण नेपाल लगायतका देशहरूमा वस्तु तथा सेवाहरूको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदैछ।
देशको अर्थतन्त्र सङ्कटको भूमरीमा परेका बेला निर्वाचन खर्च उठाउन पक्कै पनि सजिलो हुँदैन। के गर्ने, सुपारी, केराउ, मरिचको आयात खुला गरिदिएर मात्रै हुने भए त हुन्थ्यो नि!
हुन त दशकौँ देश जनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, मानावाधिकार आदि उच्च आदर्शहरूका लागि लडेका नेताहरूलाई खुरूक्क आफ्नै खल्तीबाट पैसा खर्चेर निर्वाचन लडनुस् भन्न पनि कसरी भन्ने र?
उहाँहरूले बडो दु:खले आर्ज्याको सम्पत्ति खर्च गरेर चुनाव लड्छु भन्ने कुरा पनि भएन। सम्मान उहाँहरूले ग्रहण गर्नु, हामीहरूजस्ता अकिञ्चनहरूले त्यसको भारी बोक्नु पो उपयुक्त हो त, कि कसो पाठकहरू?
चुनाव जिते त ठिकै छ।नेताज्युहरूले लगानीको उचित प्रतिफल पाउनुहोला।खर्च उठाउँला, हारियो भने नि? योरोपेली, अमेरिकी मापदण्डको जीवन कसरी जिउन सकिन्छ चुनाव हारिसकेपछि? अझ जमानत नै जफत भयो भने त इज्जत, प्रतिष्ठा सबै माटोमा मिलेन?
लेखेर राख्नुस् पत्रकारज्यू, आफ्नो जायजेथा खर्चेर चुनाव लड्ने कुरै हुँदैन हाम्रा भाग्यविधाताहरूले। त्यसो भए खर्च कसरी जुटाउने त? थाहा नास्ति।
आर्थिक संकट र आसन्न निर्वाचनको यस समयमा अकिञ्चनको अकिञ्चनहरू अर्थात् आमनागरिकलाई सुझाव छ: अलि बढी होस् गर्नुस् है यस समयमा।
दल र तिनका नेताहरू निर्वाचन जित्न आवश्यक क्यासको व्यवस्था गर्न दिनरात खटिरहेको बेला जे पनि हुन सक्छ नि, भन्दिया छ है अहिले नै।
तपाईंको ईमेल गोप्य राखिनेछ ।