डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।
मंगलबार देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल्धुरा सातै तहमा एमाले र नेपाली कांग्रेस बीपीको चुनावी तालमेल छ।
बसपार्कको चुनावी सभामा भने देउवाले मल्लको नामसमेत उच्चारण गरेनन्। उनले आश्वासन मात्रै बाँडे। उनले डडेल्धुरालाई सुदूरपश्चिमको राजधानी बनाउन सकिने भन्दै भोट मागे।
उनले कांग्रेसका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे। कांग्रेसलाई स्थानीय तहमा जिताए आफूलाई काम गर्न सहज हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवा बागबजार क्षेत्रको सडक चौडा पार्ने, बसपार्क निर्माण गर्ने, मेडिकल कलेज स्थापना गर्ने, प्राविधिक कलेज सञ्चालन गर्ने, विमानस्थल निर्माणलगायतका सबै काम चाँडै गर्ने आश्वासन दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।