|

काठमाडौं : नेपालमा ६ प्रतिशत जनसंख्या अति अपाङ्गताबाट गुज्रिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा अपाङ्गतामध्ये ६ प्रतिशतमा कठिन खालको अपाङ्गता भएको बताएको हो।

अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महाशाखाले आज गरेको कार्यक्रममा शाखाका डा. प्रसन्न नापितका अनुसार अपाङ्गता भएकामध्ये धेरै बालबालिकामा कुपोषणको समस्या रहेको देखिएको समेत बताए। ‘अपाङ्गता भएकाहरूमा कुपोषणको समस्या भएको पाइएको छ भने धेरैमा मधुमेह जस्ता दीर्घ रोगहरू समेत भएको देखिएको छ,अपाङ्गता भएका व्यक्तिलाई तीन गुणा बढी मधुमेह हुने सम्भावना हुन्छ र अपाङ्गता भएको बच्चा कुपोषित हुने सम्भावना दुई गुणा बढी हुन्छ’‚ डा. नापितले भने।

सन्‌ २०१५ को अध्ययनले नेपालमा अपाङ्गता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४.८ प्रतिशतको स्वास्थ्य सूचनामा पहुँच नभएको र २९.२ प्रतिशतको अन्य स्वास्थ्य सेवामा पहुँच नभएको उल्लेख गरेको छ।

सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि विविध निकायसँग समन्वय गरेर काम गर्दै आएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालले अपाङ्गतासम्बन्धी महासन्धि अनुमोदन गरिसकेकाले समावेशी स्वास्थ्य, पुनःस्थापना र सहायक स्वास्थ्य सामग्री अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकार सुनिश्चित गर्ने माध्यम रहेको बताएका छन्। 

स्वास्थ्यका हरेक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न उनले आग्रह गरे। अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य प्रणालीमा ल्याउन समेत उनले अनुरोध गरे। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना सरकारले एक्लैले मात्र गर्न नसक्ने उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए। उनले हरेक नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिन तीन/तीन महिनामा घरदैलौ कार्यक्रम गर्नुपर्नेसमेत बताए। 

महाशाखाका निर्देशक डा. चुमनलाल दासले अपाङ्गता भएका कारणले स्वास्थ्यमा थप जोखिम देखिएको अपाङ्गतालाई जति सक्दो चाँडो स्वास्थ्य उपचार उपलब्ध गराउनुपर्ने बताए। उनले दुर्गम क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई समेट्न गरी नेपालको स्वास्थ्य प्रणालीलाई अपाङ्गता समावेशी बनाउने अभियान भइरहेको जानकारी दिए। उनले अपाङ्गता भएका व्यक्तिलाई सहज सेवा उपलब्ध गराउन नयाँ बन्ने भौतिक पूर्वाधारमा अपाङ्गमैत्री बनाउन आफूहरूले निर्देशन दिएको बताए। 

नेपाल जनसङ्ख्यीय तथा स्वास्थ्य सर्वेक्षणले अपाङ्गता भएका व्यक्तिको ६ प्रतिशत जनसङ्ख्याको क्रियात्मक क्षमतामा अति र तीव्र किसिमको कमी रहेको देखाएको छ  ३३ प्रतिशतमा मध्यम किसिमको कमी देखिएको छ। 

यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४.८ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९.२ प्रतिशत अन्य स्वास्थ्य सेवामा पहुँच नपुगेको उल्लेख गरिएको छ। नेपालमा ५४ हजार ६३८ जनाले पुनःस्थापना पाइसकेका र दुई हजार १६३ जनाले अपाङ्गता परिचयपत्र समेत पाइसकेका जनाइएको छ। व्यक्तिमा १० प्रकारका अपाङ्गता हुने गर्दछन्।

सरकारले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाका लागि फिजियोथेरापी तथा पुनःस्थापना केन्द्र सञ्चालन, अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका २०७६, एकीकृत स्वास्थ्य सूचना प्रणालीमा स्वास्थ्य पुनःस्थापना सेवासम्बन्धी तथ्याङ्क सङ्कलन, पुनःस्थापना सेवासम्बन्धी चिकित्सकीय प्रोटोकल र पुनःस्थापना सेवासम्बन्धी मापदण्ड निर्माण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.