|

बाँके : समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।

भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ जना बिरामीले नियमित रूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए। उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्। उनीहरूले पालो पाएका छैनन्। 

भेरीमा चारवटा डायलासिस मेसिन छन्। तीमध्ये एउटा आपत्‌कालीन अवस्थामा र अरू तीनवटा नियमित रूपमा बिरामीका लागि  प्रयोग गरिँदै आएको छ। गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए। 

अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ। कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा. श्रेष्ठको भनाइ छ। कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरू निजी तथा भेरीको आपत्‌कालीन कक्षमा आएर सेवा लिन थालेका छन्। नियमित डायलासिस सेवा लिनेहरू भेरीमा लाइनमा बस्ने गरेका छन्। भेरीका तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ। भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गाैलाका बिरामीको अवस्थालाई मद्देनजर गरेर पाँचवटा डायलासिस मेसिन थप गर्ने तयारी भएको बताए। आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट सङ्क्रमित र एउटा मेसिनबाट आपत्‌कालीन बिरामीलाई सेवा दिने योजना रहेको उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.