|

धनगढी : राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरू बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरूको नाम दलहरूले बुझाएका हुन्।

निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद बन्ने मौका पाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सांसदहरूको सिफारिस सूचीमा सुदूरपश्चिम प्रदेशबाट ५ जनाको नाम अटाएको हो।

निर्वाचन आयोगलाई बुझाएको सूचीमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसले ३ जना, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १/१ जनालाई प्रतिनिधिसभा सांसदका लागि सिफारिसमा गरेका छन्। ती पाँचजनामध्ये काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवा, ईश्वरी न्यौपाने र महासनाइ नेपालीले सांसद बन्ने अवसर पाएका छन्।

देउवा डडेल्धुरा, न्यौपाने कैलाली र नेपाली बाजुराबाट सिफारिस भएका थिए। यस्तै माओवादी केन्द्रले कैलालीकै रूपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयालबहादुर शाहीलाई समेटेको छ।

माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन्। राष्ट्रिय दल बनेका सात दलमध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका पाँचजना मात्रै सांसद हुने भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.