|

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।

केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबाट सर्लाही र रौतहटका काठ तस्करले करिब दुई दर्जन सालका रुख काटेर गोलिया बनाएर लगेका छन्। 

चुनावको वेलामा मात्र रौतहटको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनबाट दुई दर्जनभन्दा बढी सालका रुख काटेर साइकलमा राखेर लग्ने गरेको पाइएको छ। स्थानीय बासिन्दा अजय पटेलका अनुसार रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनबाट रौतहट र सर्लाहीका काठ तस्करले दैनिक रूपमा सालका रुख काटेर लग्ने गरेका थिए। 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले वन कर्मचारी चुनावमा खटिएका वेला राष्ट्रिय वन र साझेदारी वनबाट काठ चोरेर लगेको बताए। ‘काठ तस्करले वनमा काँचो सालका रुख काटेर बनाएको केही गोलिया हामीले बरामद गरेका छौँ।’
 
स्थानीय बासिन्दा भने वन कर्मचारीको मिलेमतोमा वनमा चोरी तस्करी बढेको दाबी गर्छन्। सहायक वन अधिकृत रामकेवल रायकै मिलेमातोमा चोरी तस्करी भइरहेको उनीहरूको आरोप छ। वन कर्मचारीकै मिलेमतो चोरले काटेका सालका रुख चन्द्रनिगाहपुरमै रहेका चिरान मिलमा बिक्री हुने गरेको उनीहरूको भनाइ छ। रंगपुर साझेदारी वन क्षेत्रमा पछिल्लो समय दैनिक सालका रुख काटेर लगेको खबर आफूले पनि पाएको चन्द्रपुर नगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र चौधरीले बताए।

गत मंगलबार मात्रै रौतहटको वनमा सालको काँचो काठसहित ईश्वरी चौलागाईँ नामका व्यक्तिलाई पक्राउ गरेको चेतनगर सब डिभिजन वन कार्यालयका प्रमुख बालकिशोर सिंहले जानकारी दिए। चोरी तस्करीमा संलग्नलाई पक्राउ गर्दा राजनीतिक दलका नेताले छुटाउन दबाब दिने गरेका कारण समेत वन जोगाउन गाह्रो भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णले बताए। पर्याप्त वन कर्मचारीको अभावमा चोरी बढेको उनको भनाइ छ। 

रौतहटको वन सुरक्षाको बाधकको रूपमा वनका कर्मचारी नै छन्। लामो समयदेखि डिभिजन वन कार्यालय रौतहटमा रौतहट जिल्लाका मात्र ९० प्रतिशत कर्मचारी कार्यरत छन्। सशस्त्र वन रक्षकदेखि सहायक वन अधिकृत हुँदै वन पाले र पियनसम्म स्थानीय भएका कारण रौतहटको वनमा हुने चोरी तस्करीमा उनीहरूकै हात हुने वन कर्मचारी बताउँछन्।

डिभिजन वन कार्यालय रौतहटमा ११० जना कर्मचारीको दरबन्दी रहेकोमा ९३ जना कर्मचारी कार्यरत छन्। डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारी मध्य ९० प्रतिशत कर्मचारी रौतहट जिल्लाका नै हुन्। स्थानीय कर्मचारीकै कारण रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयवासी बताउँछन्। मातृका यादव वनमन्त्री हुँदा जिल्ला वन कार्यालय रौतहटमा कार्यरतसबै वन कर्मचारीको जिल्ला बाहिर सरुवा भएको थियो। 

विस्तारै उनीहरूले राजनीतिक दलका पहुँचका आधारमा पुनः घर पायक ठाउँमा सरुवा मागेर आएका कारण रौतहटको वनमा चोरी तस्करीले स्थान पाएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा भरत आचार्यको भनाइ छ। वन गस्ती निस्कनासाथ स्थानीय वन कर्मचारीले काठ चोरीमा संलग्नलाई जानकारी दिने गरेका कारण तस्कर भाग्ने गरेका छन्। वन कर्मचारीले काटेको रुख मात्र फेला पर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.