|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि म्याग्दी सदरमुकाम बेनी बजारसम्म पुग्ने सडकको लम्बाई १३ किलोमिटर रहेको छ। ठाउँ–ठाउँमा भत्किएको सडकलाई स्तोरन्नती गरेर दुई लेनमा विस्तार गर्ने गरी काम सुरु भयो। सडकमा बचेको कालोपत्रे भत्काएर फालियो, सडकको भित्ताहरू काटेर सडकमा ढुङ्गा र माटो थुपारियो।

सडक धुलाम्मे र हिलाम्मे बनेको छ। हिउँदको बेला भए पनि सडकका कुनै ठाउँमा साना सवारीहरू डुब्ने सक्ने खाडल छन् त कतै अगाडिको सवारीले उडाएको धूलोले पछाडिको सवारीले सडक नै देख्न सक्दैन। बाटो हिँड्दै गरेका पैदल यात्रीहरू धूलोले ढाकिएर केहीबेरमा नै नचिनिने बन्छन्। सडकको अवस्था हेर्दा लाग्छ सडकले अब काँचुली फेर्न लागेको छ। अहिले निर्माणको बेलामा सास्ती भोग्नु परेको भए पनि सडक बनेपछि भने सुन्दर सडकमा गुड्ने रहरले धूलो खानेहरूको मन सन्तुष्ट छ।
तर सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले सडकको काम नै छाडेर हिँडेपछि नागरिकले कहिलेसम्म खाडल र धुलाम्मे सडकको सास्ती खेप्नुपर्ने हो भन्ने यकिन छैन। २०७७ सालको चैतमा एपेक्स खड्गकृष्ण जेभीले सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। तर पछिल्ला दुई महिनायता निर्माण कम्पनीले सडकको काम अलपत्र छाडेर बसेको छ।

सडक चौडा पर्ने क्रममा जलजला गाउँपालिका–७ केराबारी नजिकै स्थानीयसँग गत असोजमा सामान्य विवाद भएपछि निर्माण कम्पनीले काम रोकेको थियो। लगत्तै निर्माण सामग्रीको अभाव भएको बताउँदै निर्माण पक्षले कामलाई निरन्तरता दिएन। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्ने मालढुङ्गा–बेनी सडक खण्ड आसपासका स्थानीयले भने निर्माण व्यवसायीले चार महिनादेखि सडकको काम नगरेको बताउँछन्।

ठेक्का सम्झौताको बेलामा सडक निर्माण लागि आवश्यक पर्ने नदीजन्य पदार्थको आपूर्ति स्थानीय खोला र नदीबाट गर्ने भन्ने सर्त मन्जुर भई ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर नदीजन्य पदार्थको उत्खननको विषयमा सधैँ विवाद हुँदै आएको जलजला गाउँपालिकामा निर्माण कम्पनी पनि यही समस्याको मारमा पर्न पुग्यो। गत २०७८ असार २९ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक पहिचान बिथोलिने गरी नदीमा मेसिन लगाएर नदीजन्य पदार्थ निकाल्न नपाइने भन्यो। यही निर्णयका कारण निर्माण कम्पनीले सडकका लागि आवश्यक नदीजन्य पदार्थ निकाल्न नपाउँदा काम अहिले ठप्प अवस्थामा छ।

कालीगण्डकी नदीबाट सामग्री निकाल्न नपाएको भए पनि निर्माण पक्षले काम नै रोकेर बस्नुपर्ने अवस्था भने थिए। लेन विस्तारका लागि गरिने भित्तो कटानका क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर लगायतका सामग्रीहरू प्रयोग गर्नेमा स्थानीय प्रशासन र आयोजना कार्यालयले सहमति दिएका थिए। निर्माण कम्पनीले यही सहमतिको आधारमा काम अघि बढाउँदै जाँदा केराबारीमा पुगेपछि भने स्थानीय नागरिकसँग विवाद भयो।
केराबारीमा रहेका रहेका केही ढुङ्गा खानी व्यक्तिको स्वामित्वमा रहेको तथा केही सामुदायिक वन क्षेत्रमा रहेको भन्दै स्थानीय नागरिकले विवाद गरेपछि निर्माण कम्पनीले काम रोकेर बसेको छ।

 निर्माण कम्पनीलाई प्रशासन र आयोजनाको ताकेता

सडक अलपत्र अवस्थामा रहेको तथा भित्ता काट्नुका साथै सडक नै भत्काएर राखेको अवस्थामा यात्रीले सास्ती पाएको व्यापक गुनासो बढेपछि स्थानीय प्रशासनले यसमा चासो दिएको छ।

मालढुङ्गा–बेनी सडक खण्ड पर्ने जलजला गाउँपालिकाका प्रवक्ता हरिविकास जि.सी का अनुसार सडकको समस्या समाधान गर्न जलजला गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा छलफल भएको छ।

छलफलमा गाउँपालिकाका जनप्रतिनिधिहरू, प्रशासनका कर्मचारीहरू र कालिगण्डकी कोरिडोर आयोजनाका प्रमुख जगत प्रजापति, निर्माण व्यवसायीको तर्फबाट अमृतप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई सडकका काम यथाशीघ्र पुनः सुरु गर्न आयोजना कार्यालय र अन्य सरोकारवाला निकायहरूबाट ताकेता गर्ने निर्णय भएको छ।

‘ठेकेदार पक्षले काम नगर्दा सडक अलपत्र परेको हुँदा पर्वत जिल्ला प्रशासन कार्यालय र जलजला गाउँपालिकाको समन्वयमा यात्रुहरूको कष्टकर यात्रालाई सहज बनाउन लागिएको छ। मालढुङ्गादेखि बेनीसम्म मेसिन प्रयोग गरी सम्पूर्ण बाटो सम्माउने मिलाउने कुरा भएको छ’, उनले भने, ‘ठेकेदारलाई समेत ताकेता गर्ने गरी कालिगण्डकी कोरिडोर  केरोला नाकाका आयोजना प्रमुख जगत प्रजापतिसँग लिखित सहमति गरेर हस्ताक्षर पनि गरिएको छ।’

भत्काइएको सडकका कारण सडकमा देखिएको जोखिमको पहिचान गरी यथाशीघ्र समाधान गरी आवतजावतलाई सहज बनाउन आयोजना प्रमुख प्रजापतिले जिम्मेवारी लिने तथा १५ दिनभित्रमा सडक सुधारको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने भनिएको छ।

यस्तै सडक निर्माणलाई तीव्रता दिन नदीजन्य निर्माण सामग्रीको सहज उपलब्धताको लागि सम्बन्धित स्थानीय तह (जलजला गाउँपालिका) को कार्यालयले जिम्मेवारी तोक्ने भनिएको छ।

यस्तो छ अहिलेसम्मको प्रगति

आयोजना प्रमुख प्रजापतिका अनुसार अहिलेसम्म सडकको २४ प्रतिशत काम मात्रै पूरा भएको छ। आउँदो चैत महिनासम्ममा योजना सम्पन्न गर्ने लक्ष्य राखेर कामको थालनी भएको थियो। सुरुवाती अवस्थामा निर्माण सामग्रीको उपलब्धता सहज हुनुका साथै स्थानीय नागरिकसँग पनि विवाद नहुँदा काम तीव्र गतिमा भइरहेको थियो।

तर पछिल्लो समयमा देखिएको सामग्रीको अभाव र स्थानीयसँगको विवादका कारण नै आयोजनाको प्रगति हुन नसकेको प्रजापति बताउँछन्। ‘सुरुमा निकै राम्रो भौतिक प्रगति भइरहेको अवस्था थियो। कहीँ कतै विवाद देखिएको थिएन, निर्माण कम्पनीले पनि तीव्रताका साथ काम गरेर आउने चैतमा सक्ने गरी काम गरिरहेको अवस्था थियो’, उनले भने, ‘तर अहिले ठेकेदार काम नै बन्द गरेर बसेको अवस्थामा भौतिक प्रगति हुने त कुरै भएन। अब तोकिएको समयमा काम सक्न समस्या देखिएको छ। लामो समय रोकिनुले थप लामो समय लिन्छ नै।

कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाएपछि दुई करोड खर्चेर क्रसर मेसिन जडान गरेको व्यवसायीले त्यो पनि चलाउन नपाउँदा समस्या भएको उनको भनाई छ। सडकमा प्रयोग हुने ढुङ्गाजन्य बस्तुको प्रशोधनको लागि आयोजनाले सञ्चालन गरेको क्रसरले विद्युत प्राधिकरणलाई मासिन एक लाख रुपैयाँ महसुल तिर्नुपर्ने हुन्छ।

अहिले क्रसर नचलेको अवस्थामा पनि ठेकेदार कम्पनीले उक्त महसुल तिर्नुपर्ने अवस्था छ। क्रसर चलाउन खोज्दा त्यसका लागि आवश्यक पर्ने पदार्थमा स्थानीयले विरोध गर्दा निर्माण कम्पनी नै चेपुवामा परेको छ। तर जिल्ला प्रशासन कार्यालय पर्वतले भने ठेक्का लिइसकेपछि कुनै पनि बहाना बाजी नचल्नुका साथै जुन कुनै अवस्थामा पनि निर्माण कार्य पूरा गरेको हुनुपर्ने बताएको छ।

 सास्ती भोग्दै यात्री

असोजदेखि रोकिएको कामले पर्वत जिल्लाका मात्रै यात्रीहरूलाई सास्ती दिएको छैन। मालढुङ्गाबाट जाने यो सडक म्याग्दी र मुस्ताङ जिल्लाका लागि जाने प्रमुख सडक मार्ग हो। सडकको काम रोकिँदा मुस्ताङसम्मका यात्रीले सास्ती भोग्नुपरेको छ।

त्यसमा पनि मुस्ताङ पर्यटकीय क्षेत्र भएकाले दैनिक सयौँको संख्यामा पर्यटकहरु ओहोरदोहोर गर्ने बाटो नै मालढुङ्गा–बेनी सडक हो। तर यही सडकले हरेक दिन सास्ती दिन थालेपछि पर्यटकहरु पनि हैरानीमा छन्।

मुक्तिनाथ आउजाउ गर्ने तीर्थयात्रीहरूले बाटोको काम रोकिएको र सडक यात्रा गर्न लायकको नरहेको प्रचार गर्दा पर्यटन क्षेत्रमा नै धक्का पर्ने देखिएको छ। सामान्यतः आधा घण्टा वा केही बढी समय लाग्ने १३ किलोमिटर सडकको यात्रा पार गर्न अहिले डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको छ।

मुस्ताङ र म्याग्दीदेखि पर्वतका जलजलाबाट बागलुङ, कुश्मा वा पोखराका लागि छुटेका एम्बुलेन्सहरू नै सडकमा अलमलिनुपर्दा गम्भीर अवस्थामा रहेका बिरामीहरू सडकका कारण जोखिममा परेका छन्। सडक काटिएका कतिपय ठाउँमा गेगरका कारण बाटो साँघुरो बन्दा घण्टौँसम्म जाममा बस्नुपर्दा यात्रीले झनै समस्या भोग्नुपरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.