|

रौतहट : रौतहटको भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्।

रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ।

भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिछवा र महादेवपट्टीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको विभिन्न स्रोतले बताएका छन्।

गौर भन्सारमा रहेका प्रहरीले सो क्षेत्रमा रकम संकलन गर्दासमेत जिल्ला प्रहरी कार्यालयले कुनै कारबाही गरेको छैन।  मुख्य भन्सार नाकाअगाडिको विद्युतीय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरेका छन् तर तस्करीका दृश्य र सुरक्षाकर्मीले खुलेआम भन्सारको ढाटमा रकम असुलेको दृश्य ती क्यामेराले कैद गर्दैनन्।

गौर भन्सार नाकाबाटै तस्करी भएर आएको सामान जिल्ला प्रहरी कार्यालयको बाटो हुँदै गढवामा रहेको बसपार्कसम्म पुग्ने गरेको छ। भन्सारदेखि बसपार्कसम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जाँदा जाँचमा खटिएका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गरेको बताउँछन् स्थानीयहरू।

सशस्त्र प्रहरीका उच्च अधिकारीको संरक्षणमा सदरमुकामभन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरीबाट सबैभन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन्। ​लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको बताइन्छ।

सदरमुकामभन्दा पूर्वपट्टी रहेको बेलबिछवा र सँगैको ब्रह्मपुरीबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म तस्करहरूले मदिरा लैजाने गर्छन्। कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागि बदनाम यो ठाउँमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ।

सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको बताए पनि तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.