पुस १५ भित्र नतिजा प्रकाशित गर्ने त्रिविको ‘डेट एक्सपायर’

|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा नियन्त्रण कार्यालय बल्खुको गेटमै एउटा कालो ब्यानर टाँसिएको छ। जहाँ लेखिएको छ, ‘विद्यार्थीको भविष्यमाथिको खेलवाड बन्द गर! त्रिविले नतिजा प्रकाशनमा गरेको अचाक्ली, ढिला सुस्ती र लापरबाहीका विरुद्ध विरोध प्रदर्शन, आयोजक अखिल (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समिति।’

त्रिविले एक वर्षभन्दा बढी समय बितिसक्दा पनि व्यवस्थापन संकायअन्तर्गत बिबिएस चौथो वर्ष र मानविकी संकायको बिए तेस्रो वर्षको अन्तिम नतिजा प्रकाशित गरेको छैन। यसैकारण विद्यार्थीहरूले त्रिविको चर्को विरोध र आलोचना गरिरहेका छन्।

मंगलवार ६ महिनाभित्र नतिजा आउनुपर्ने वेला एक वर्ष नाघ्दा पनि त्रिविले परीक्षाफल प्रकाशन गर्न नसकेको भन्दै नेविसंघले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विरोध प्रदर्शन गर्‍याे। ६ महिनाभित्र आउनुपर्ने नतिजा एक वर्षमा नाघ्दा पनि त्रिवि किन मौन ?, त्रिवि हाम्रो रिजल्ट खोइ?, रिजल्ट कुर्न नसकेर साथी खाडी गइसक्यो, टियू साह्रै अल्छी भयो, रिजल्ट पर्खिँदा पर्खिँदा हामी थाकिसक्यौँ जस्ता प्लाकार्ड बोकेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए।

नतिजा प्रकाशन नगरी स्नातकोत्तरमा भर्नाको सूचना

त्रिविले विद्यार्थीमाथि अर्को मजाक पनि गरेको छ। ब्याचलर (स्नातक)को अन्तिम वर्षको नतिजा प्रकाशित नगरी मास्टर्स (स्नातकोत्तर) को भर्ना सूचना निकालेपछि यतिखेर यसको चौतर्फी विरोध र आलोचना भइरहेको छ। त्रिविले पुस ६ गते स्नातकोत्तर तह प्रथम सेमेष्टरको भर्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययनअन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०७९।०८० का लागि स्नातकोत्तर तह प्रथम सेमेष्टरको नयाँ भर्ना तालिका त्रिविको सूचनामा उल्लेख छ। जसमा आवेदन फाराम वितरण र बुझाउने समय पुस ५ गतेदेखि माघ ४ गतेसम्म तोकिएको छ। 

प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डिनको कार्यालयले निर्धारण गरेअनुसार हुने उल्लेख छ। सूचनामा भनिएको छ, ‘कक्षा सञ्चालन माघ २२ गतेदेखि हुनेछ। विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय‚ अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनुपर्ने छ। आवेदन दिँदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्ने छ।’ 

यी तालिकाअनुसार भर्ना तथा कक्षा सञ्चालन गर्न त्रिविले सम्बन्धित क्याम्पसलाई निर्देशन दिएको छ। यो सूचनाले झनै समयमा नतिजा प्रकाशित नभइरहेका वेला विद्यार्थी आक्रोशित र चिन्तित छन्।

नतिजा प्रकाशित गर्ने त्रिविको ‘डेट एक्सपायर’, विद्यार्थीहरू चिन्तित 

त्रिविले यो सूचना जारी गरेपछि प्रकाशित हुन बाँकी सबै नतिजा पुस १५ भित्र प्रकाशित गर्ने भनेको थियो। त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले यही पुस १५ भित्र सबै बाँकी नतिजा प्रकाशित हुने लक्ष्य राखिएकाले नै यो भर्नासम्बन्धी सूचना प्रकाशित गरेको यसअघि थाहाखबरलाई जानकारी दिएका थिए।

तर तोकिएको समय कटेर ६ दिन बितिसक्दा पनि अझै बाँकी नतिजा प्रकाशित भएको छैन। बिए तेस्रो वर्षको नतिजा कुरिरहेका अमिर लामाले त्रिविले विद्यार्थीहरूको भविष्यमाथि चरम खेलवाड गरेको भन्दै आक्रोश पोखे।

‘एक वर्षमा पनि नतिजा प्रकाशित गर्न नसक्ने यो कस्तो त्रिवि हाे?, कति साह्रो लापरबाही? यसरी हाम्रो भविष्यमाथि खेलवाड गर्न त भएन’, जोरपाटीस्थित कुटुम्ब कलेजमा अध्ययनरत लामाले भने। उनका अनुसार बिए तेस्रो वर्षको परीक्षा गत साउन महिनामा भएको थियो। 

किन नतिजा प्रकाशनमा ढिलाइ ?

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक साधुराम अर्यालले नतिजा प्रकाशन ढिलाइ हुनुमा धेरै कारण रहेको बताए। ‘मुख्य त यहाँ प्राविधिक कर्मचारीको अभाव छ। वेला वेला फेरिरहन्छ, कहिले विरामी हुन्छन्, कारण धेरै छ, ठ्याक्कै दिने जवाफ पनि होइन, सबै जवाफ दिनै सकिँदैन’, उनले भने।

कति दक्ष जनशक्ति छन् र कति जनाको अभाव छ ? हो भन्ने प्रश्नमा भन्न नमिल्ने भन्दै उनी पन्छिए। अहिले तीव्र रूपमा उत्तरपुस्तिका परीक्षणको काम भइरहेको र यो महिनासम्म सबै नतिजा प्रकाशित हुने उनले जानकारी दिए। ‘अब बिए तेस्रो र बिबिएस चौथो वर्षको मात्रै नतिजा प्रकाशन बाँकी छ, काम भइरहेको छ’, उनले भने।  

त्रिविले नतिजा प्रकाशन ढिलाइ हुनुमा अर्को कोभिड–१९ लाई पनि बहाना बनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले कोभिडका कारण तोकिएको परीक्षा केन्द्रमा विद्यार्थी पुगेर परीक्षा दिन नसक्ने भएपछि पायक पर्ने कलेजहरूमा गएर परीक्षा दिन पाउने व्यवस्था गरेको थियो।

सोही व्यवस्थाअनुसार परीक्षार्थीले विभिन्न क्याम्पसमा पुगेर परीक्षा दिएका थिए। यही कारण उत्तरपुस्तिका जम्मा गर्न समय लागेकाले पनि समयमा नतिजा प्रकाशन गर्न नसकेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले जानकारी दिए।

उनले भने, ‘पहिला कोरोनाकै वेला देशभर परीक्षा लियौँ। परीक्षा लिएपछि एउटा कापी पनि छोड्न मिलेन, त्यही भएर एउटा एउटा गरी उत्तरपुस्तिका खोजेर जम्मा पार्नुपर्‍याे। त्यसैले ढिला भयो। कतिपयले अनलाइन फाराम भर्दा विद्यार्थीले विवरण बिगारेका कारण पनि समस्या भयो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.