काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरूलाई पनि आह्वान गरेको छ।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले गठबन्धनबाहिर रहेका दलहरूलाई पनि विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए।
‘हामी आफैँ पनि सत्ता साझेदार दल हौँ। त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउनका लागि अन्य दललाई पनि आग्रह गर्छौं,’ उनले भने, ‘पार्टी नै सरकारमा भएकाले सांसदहरूलाई ह्विप लगाउन पर्दैन। त्यो सांसदहरूको जिम्मेवारी हो। हामीले पहिला नै सबै जिम्मेवारी पार्टी सभापतिलाई दिइसकेका छौँ।’
गठबन्धनबाहिर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।