|

विराटनगर : नेपालमा कलाकार धेरै छन् तर कलाका पारखी भने कमै भेटिन्छन्। यस्तो चुनौती स्विकार्दै चित्रकलालाई बजारीकरण गर्ने उत्साहमा नेपालका धेरै कलाकारले यसै क्षेत्रमा दशकौँ गुजारेका छन्।

अधिकांश कला काठमाडौँ केन्द्रीकृत भएको पूर्वेली कलाकारहरूको गुनासो नभएको होइन। काठमाडौँमा लाखौँमा बेच्न सकिने चित्र पूर्वको मोफसलमा हजारको मूल्यमा मात्रै विक्री हुने गरेको कलाकारको अनुभव छ।

ललित कला संगठनका सदस्य निवास पोखरेल करिब ४५ वर्षदेखि चित्रकला क्षेत्रमा आबद्ध छन्। उनी व्यावसायिक हिसाबभन्दा पनि रुचिले यो क्षेत्र रोजेको बताउँछन्। उनले आफ्ना ५० देखि ६० वटा चित्र विक्री पनि गरिसकेका छन्। काठमाडौँमा झैँ पूर्वमा कलाको मूल्य नपाइने उनको अनुभव छ।

कला के हो भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘कला जीवन हो र प्रकृतिमय छ। प्रकृतिसँग भिज्न र संस्कृतिलाई बुझ्न सक्नुपर्छ।’ चित्रकला आफ्नो भावना व्यक्त गर्ने माध्यम रहेको बताउने उनी प्रकृतिलाई अध्ययन गर्ने माध्यम पनि चित्रकला रहेको बताउँछन्।

पौराणिक कालदेखि नै नेपाललाई कलाको माध्यमले चिनिने गरेको बताउने उनी १३ औँ शताब्दीदेखि कलालाई विशेष महत्व दिएको बताउँछन्। त्यसो त पछिल्लो समय अहिले पश्चिमी संस्कृतिले पूर्वेली कला बिर्साएको समेत उनी गुनासो गर्छन्।

‘पश्चिमीपन मात्रै ल्याएकाले पूर्वेली कला अलिकति बिर्सिए जस्तो लाग्छ’, उनी भन्छन्, ‘तुलनात्मक हिसाबले हाम्रो कलाको आफ्नै महत्त्व छ।’

पछिल्लो समय पश्चिमाहरूले नेपालको कला माग्ने गरेको बताउँदै उनले विभिन्न स्वाद लिने पारखीहरूले पूर्वी कलालाई स्विकार्न थालेको बताए। उनले कलाकारले यसलाई निरन्तरता दिए चित्रकलाको माध्यम बनाएर जीविकोपार्जन गर्न सक्ने अवस्था रहेको उनले बताए।

यस्तै ललित कला संगठनका अध्यक्ष जेपी चौधरीले कला सबै केन्द्र केन्द्रीकृत भएको गुनासो गर्छन्। यति लामो समयसम्म पनि चित्रकला र हस्तकला मोफसलमा फस्टाउन नसकेको उनी बताउँछन्। यो क्षेत्रलाई काठमाडौँ बाहिर पनि कलाकार छन् भन्ने प्रोत्साहन गर्न स्थानीय प्रदेश तथा संघीय सरकारले पनि बेवास्ता गरेको उनले बताए। विराटनगरबाट चित्रकला कमै निर्यात हुने गरेको र धेरै जस्तो धरानबाट निर्यात हुने गरेको उनले बताए।

धेरैजसो कला विदेश निर्यात हुने हुँदा यो क्षेत्रमा बाँच्न सकिने उनको भनाइ छ। प्रदेश १ मा चित्रकला क्षेत्रमा जीवन गुजारिरहेका करिब २५ जना र देशभरमा ५ देखि ६ हजारसम्म रहेको उनले जानकारी दिए।

‘कति व्यावसायिक हिसाबले यो क्षेत्रमा आउँछन् त कति सोखले’, उनले भने। यसै क्षेत्रलाई निरन्तरता दिने र मेहनत गरे कला बेचेर घरखर्च थेग्न सकिने उनी बताउँछन्।

विराटनगर पर्यटकीय क्षेत्र नभएकाले पनि सोचे जस्तो नभएको उनको भनाइ छ। उनले आफूले बनाएका २२ वटा चित्र विक्री भएको बताउँदै भने, ‘मैले ६० देखि ६५ हजारसम्ममा बेच्ने गरेको छु।’ पछिल्लो समय कोठा डेकोरेशनका लागि पनि चित्रकला लिने गरेका उनले बताए।

यस्तै झापाका छितेन शेर्पा चित्रकला क्षेत्रबाट जीवनयापन गर्न सकिने बताउँछन्। उनले सरकारको मुख ताक्नुभन्दा पनि आफै सबल हुन सके यो क्षेत्रमा आम्दानी राम्रै हुने उनको भनाइ छ।

‘कतिपय साथीले सरकारले सहयोग गरेन भन्ने गुनासो गर्नु हुन्छ। सरकार कमजोर छ, हामी सबैलाई थाहा छ’, उनी भन्छन्, ‘सरकार कमजोर भइरहँदा हामी जनता पनि दुर्बल छौँ, आफू सबल भयो भने आफ्नो हुन्छ।’

आफूले लगनशील भएर काम गर्न सक्ने व्यक्तिगत तर्फबाट आफैंलाई फाइदा हुने उनी बताउँछन्।

कलाकारले व्यावसायिक पाटोलाई निरन्तरता दिने हो भने यसलाई सुदृढीकरण गर्न सके जीवनलाई चलाउन सक्ने मात्रै नभएर पूर्णरूपमा काम गर्न सकिने उनको भनाइ छ।

यो क्षेत्रबाट जीवन चलेको छ त ? भन्ने प्रश्नमा उनी हाँस्दै भन्छन्, ‘एउटा कलाकारलाई यही प्रश्न सोधिन्छ, कलामा लागेको व्यक्तिलाई सन्तुष्टि पाउन अर्थ आर्जन गर्नुपर्छ भन्ने छैन।’

बाँच्नका लागि साधारण जीवनशैली अपनाएर पनि जिउन सकिने उनी बताउँछन्। उनले कलाकारले आफ्नो मनमा लागेको कुरा कलामार्फत उतार्न सकियो भने त्यो नै सन्तुष्टि र कमाइ रहेको उनको तर्क थियो। उनी भन्छन्, ‘जीवन सन्तुष्टि पनि त हो नि, होइन र ?’

धेरै भ्याट तिर्नुपर्ने अवस्थाले पनि आफ्नो आयस्रोत नबताउने र गोप्य नै राख्ने गरेको उनी बताउँछन्। विश्व बजारलाई नेपालमा ल्याउन नसकेको विषय सधैँ खड्किने बताउँदै उनी रैथाने कला प्रस्तुत गर्न नसक्नु पनि चुनौती रहेको बताउँछन्।

‘नेपालको भौगालिक चित्र विदेश निर्यात हुनेगर्छ। हामीले कुँदेको चित्रमा मौलिकता हुनुपर्छ’, उनले भने, ‘नेपालको मौलिकता राम्ररी पस्किन सके भने विश्वबजारलाई नेपालमा ल्याउन सकिन्छ।’

आफूले बनाइएको पेन्टिङ उनले ४८ हजारसम्ममा बेचेको सुनाउँदै भने, ‘काठमाडौँमै बनाएर विक्री गरेको भए ४ लाखसम्म बेच्न सकिन्थ्यो तर पूर्वमा कला बल्ल फस्टाउँदै छ।’ भर्खरैका युवा कलाकारलाई जोडेर लान नसक्नु पनि चुनौतीको विषय रहेको उनी बताउँछन्।

‘कलाकारहरूलाई टेवा पुर्‍याउने काम गर्न सकिएको छैन। विराटनगरमा असंख्य कलाकार छन्’, उनले भने, ‘आजका युवाहरूलाई जोडेर लग्न नसक्नु पनि एउटा चुनौती रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.