|

विराटनगर : जीवनयात्रामा अनेक आरोहअवरोह छिचोल्दै व्यावसायिक धारलाई एउटा गतिमा लिएर अघि बढिरहेकी छिन् विराटनगरकी किरण व्यास।

विभिन्न उत्तरचढाव पाखा लगाउँदै व्यावसायिक उडानलाई सफलताका साथ अवतरण गराउन त्यति सहज नहुँदो हो। तैपनि ती अप्ठ्यारो परिस्थितिभित्र सम्भावनाको खोजी गर्दै अघि बढिरहेकी छिन् उनी।

बुवा डा.रामजीप्रसाद व्यासले सञ्चालनमा ल्याएको बेकरीलाई २१ वर्षदेखि आफूले सम्हाल्दै र समेट्दै आइरहेकी छिन्। अहिले उनले किरण केक नाम दिएर विराटनगरको बजारदेखि सुनसरीको इनरुवासम्म ब्राण्ड विस्तार गर्न सफल भएकी छिन्। किरण केकमा उत्पादन हुने विभिन्न प्रकारका बिस्कुट र केकका आइटमसँगको नाता अहिलेदेखिको मात्रै होइन।

बुवाले सञ्चालनमा ल्याएको समय जुन वेला प्रविधिदेखि निकै टाढा थियो। आगोको भट्टीको माध्यमबाट बेकरी अर्थात् केक, बिस्कुटको आइटम बनाइन्थ्यो, त्यही समयदेखि उनले बुवालाई सघाउँदै आइरहेकी थिइन्। अझ उनकै भाषामा भनौँ बिस्कुटको भट्टीसँगै उनको बाल्यकाल बितेको थियो।

बुवाले सञ्चालनमा ल्याएको व्यावसायिक धरोहरलाई गुम्न दिनुहुन्न भन्ने उद्देश्यले प्रतिस्पर्धाको बजारमा हिम्मतका साथ अघि बढेको उनी सुनाउँछिन्।

‘मेरा बुवाले शुरु गरेको यो व्यवसाय मैले बाल्यकालदेखि नियालेकी छु। अझ भनौँ मेरो बाल्यकाल बिस्कुटको भट्टीसँग बितेको छ’, उनले भनिन्, ‘बुवाले सुरु गर्नुभएको यो व्यवसायलाई डगमगाउन दिनुहँदैन भनेर नै मैले यसलाई  चुनौती आए पनि अवसर खोज्दै अघि बढेकी हुँ।’

अहिले उनले विराटनगरमा ४ वटा र सुनसरीको इनरुवा एउटा गरी पाँचवटा स्थानमा शाखा समेत विस्तार गरेकी छिन्। त्यसो त उनले व्यावसायिक यात्रामा सफलता हासिल गर्न आफ्नाले दिएको चुनौतीको सामना गर्नुपर्ने अवस्था सृजना नआएको पनि होइन तर परिवारको साथ, हौसला र आफूसँगै काम गर्ने कर्मचारीको दर्बिलो साथले कहिल्यै हरेस नखाएको उनले बताइन्।

इच्छाशक्ति, मेहनत र संघर्षको यात्रा सहज सम्झिएर अघि बढ्न सके कहीँ कतै सफलता चुम्न सकिने तर्क राख्ने उनी परम्परागत मेसिनलाई परिमार्जित गर्दै  नयाँ ढंगबाट व्यवसाय अघि बढाउँदै लग्ने योजना रहेको समेत बताइन्।

एउटा महिलालाई सफलता चुम्न श्रीमानको पनि सहयोग आवश्यक रहेको बताउने उनी महिलाहरूले अवसर पाए पनि नेतृत्व पंक्तिमा आफूलाई उभ्याउन पहिले परिवार, समाजका निम्तिने विविध बाधासँग लड्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना हुने उनको अनुभव छ।

यस्तै चुनौती र सफलताबीचको व्यावसायिक यात्रामा उनले हाल ३५ जनालाई रोजगारी दिँदै आएकी छिन्।

‘एउटी महिलाका लागि नेतृत्वको पंक्तिमा उभिन परिवारसँगै धेरै कुराको चुनौती बेहोर्नुपर्ने रहेछ। त्यसमा श्रीमान् र छोराहरूको बलियो साथ आवश्यकता पर्छ’, उनले भनिन्, ‘यस्तै चुनौतीका बाबजुद पनि यात्रा अघि बढाइरहेकी छु। अहिले ३५ जनालाई रोजगारी दिएकी छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.