|

काठमाडौं : विगत ७ वर्षदेखि नियमित हुन नसकेको नेकपा एमाले निकट अनेरास्ववियूको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। फागुन २ गतेदेखि ४ गतेसम्म भएको २३ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

बडाल निवर्तमान महासचिव पनि हुन्। बडाल ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाए। सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार राति विद्युतीय मेसिनमार्फत मतदान भएको थियो।

निर्वाचनमा १ हजार ५१७ मत खसेको थियो। त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन्। उनले ७३३ मत प्राप्त गरे। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरति भट्टराई र विनिता काफ्ले विजयी भएका छन्। अनेरास्ववियूको राष्ट्रिय महाधिवेशन प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने भए पनि ७ वर्षदेखि नियमित हुन सकेको थिएन। 

पछिल्लो समय नेपालको शैक्षिक क्षेत्र अनेक बेथितिमा रुमलिदै गएको छ। शैक्षिक मुद्दा बोक्छु भन्ने विद्यार्थी संगठन पदका लागि जित्ने मात्रै तर विद्यालय र विश्वविद्यालय तहमा भएका समस्या समाधानमा त्यति जागरुक भएको देखिँदैन।

यिनै विद्यार्थीहरूको हक अधिकारको सुनिश्चतता गर्दै शैक्षिक क्षेत्र सुधारका लागि आवाज बुलन्द पार्ने जिम्मेवारी अब अनेरास्ववियूका नवनिर्वाचित अध्यक्ष बडालको नेतृत्वको हातमा आएको छ। उनका कार्यकालमा के कति क्षेत्र सुधारका काम गर्छन्‚ त्यो समयले देखाउनेछ।

‘शिक्षाका लागि बाहिर गन्तव्य बनाउने सोचमा परिवर्तन गराउँछौँ’

नवनिर्वाचित अध्यक्ष बडालले विद्यालयदेखि विश्वविद्यालय तहसम्म देखिएको र भएका विकृति विसंगति अन्त्य गर्ने काममा संगठन लाग्ने बताए।

नेपालमा बढी राजनीतिकरण, सरकारी संयन्त्रको कमजोरीपन लगायत अनेक कारणले गुणस्तरीय शिक्षा पाउन नसकेपछि अध्ययन गर्न विदेश जाने मानसिकता पहिला नै बोकेका हुन्छन् विद्यार्थीहरू।

यी मानसिकतामा परिवर्तन गराउने खालका काम गर्ने अध्यक्ष बडालको प्रतिबद्धता छ। उनले थाहाखबरसँग भने‚ ‘हामी भर्खरै निर्वाचित भएका छौँ। यो संगठनलाई कसरी पहिलो शक्तिको रूपमा स्थापित गर्न सक्छौ भन्नेमा हामी जुट्छौँ। विद्यार्थीले भविष्यको गन्तव्य विदेश बनाइरहेका छन्। त्यो सोच परिवर्तन गर्ने अभियान हामी चलाउँछौँ।’ 

उनले अबको यो नयाँ नेतृत्वले कार्य योजना तयार पार्ने तयारीमा संगठन रहेको बताए। ‘पदाधिकारीहरूको बैठक चलाइरहेका छौँ। स्ववियु निर्वाचन समापन भएपछि अनेरास्ववियूले हाम्रो २ वर्षे कार्यकालका कार्य योजना तयार पार्छौँ। यसमा विद्यालयदेखि विश्वविद्यालयसम्मको समस्या पत्ता लगाई समाधान गर्नेसम्मका योजना समेटिन्छ। जल्दाबल्दा शैक्षिक मुद्दा समेटिनेछ’‚ उनले भने। 

‘त्रिविको क्यालेन्डर लागू नहुनुको कारण खोजी गरिरहेका छौँ’

पछिल्लो समय यहाँका विश्वविद्यालयहरू भद्रगोल अवस्थामा पुगेका छन्। वर्षदिन बित्दा पनि वार्षिक परीक्षा नतिजा प्रकाशन नगर्ने, नतिजा प्रकाशन गर्ने वेला उत्तरपुस्तिका गायब पारी पुनः परीक्षा दिन लगाउने यी जस्ता चरम लापरबाही त्रिभुवन विश्वविद्यालयमा छ। यस्ता बेथिति अन्त्य गर्ने प्रण अनेरास्ववियूले गरेको छ।

नवनिर्वाचित अध्यक्ष बडालले भने‚ ‘विश्वविद्यालयको समस्या सन्दर्भमा त्रिविको क्यालेन्डरअनुसार त्रिवि चलाउन नसकेकोमा दोषी के-के हुन्? भनी हामी खोजिरहेका छौँ। क्यालेन्डरअनुसार चलाउन हाम्रो प्राथमिकता रहन्छ। त्यही अनुसार आगामी दिनमा कार्य अगाडि बढाउँछौँ।’

नेपालको संविधानले निःशुल्क शिक्षाको प्रत्याभूत गरे पनि त्यो व्यवस्थाबाट अझै विद्यार्थीहरू वञ्चित रहेको उनको भनाइ छ। ‘शिक्षालाई मौलिक हकमा समावेश गरिएको छ। संविधानले निःशुल्क शिक्षा पाइने व्यवस्था गरेको छ’‚ उनले भने, ‘तर यहाँ अहिले खुल्लमखुला शिक्षामा व्यापार भइरहेको छ। संविधानमा उल्लिखित व्यवस्था कार्यान्वयन गराउने दायित्व हाम्रो छ। यसका लागि सदा सरकारलाई दबाब दिइरहन्छौँ।

पहिलादेखि विद्यार्थीहरूको शैक्षिक हक अधिकारका मुद्दा बोक्दै आएको उनको दाबी छ। ‘म स्कुल तहबाटै शैक्षिक मुद्दा बोकेर सरकारलाई दबाब दिने काम गर्दै आएको छु। त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्न आएँ। त्यहाँ मेरै नेतृत्वमा अनेरास्ववियू जन्माएँ। अनुकूलमा पनि सहयोग गर्दै आए, कुशलतापूर्वक जिम्मेवारी निभाएको छु र अब पनि निभाउनेछु’‚ उनले भने।

अनेरास्ववियू पार्टीगत होइन विद्यार्थीको शैक्षिक मुद्दा बोक्छ : महासचिव राेकाया

प्रायः विद्यार्थी संगठन​ आफ्नो सरकार हुँदा विद्यार्थीहरूको हकहितका निम्ति केही नबोल्ने तर विपक्षमा रहँदा मात्रै सडकमा उत्रिने गर्छन्। अनेरास्ववियूका नवनिर्वाचित महासचिव नरेश रोकायाले आफ्नो संगठन पार्टीगत नभई विद्यार्थीहरूको शैक्षिक मुद्दालाई बोकेर प्रतीपक्षमै रहने बताए।

उनले भने, ‘अनेरास्ववियू प्रतिपक्षी संगठन हो। प्रतिपक्षी आन्दोलन गर्छ। यसको जुन गरिमा थियो त्यो बचाउँदै अघि बढ्छौँ। शैक्षिक क्षेत्रको विषयवस्तु बोक्छौँ।’ अनेरास्ववियू एमाले निकट संगठन भए पनि पार्टी गतमा नलाग्ने र सांगठनिक हिसाबले यो स्वतन्त्र संगठन रहने उनको दाबी छ।

‘एमालेप्रति वैचारिक सम्बन्ध मात्रै हो‚ अरू केही छैन। हामी सशक्त ढंगले प्रतिपक्षीको आन्दोलन गर्छौ, झन् यतिवेला सरकारको प्रतिपक्षी खासै छैन। यसमा प्रतिपक्षीमा रहने ठूलो अवसर हो। प्रतिपक्षीमै रहेर नेतृत्व गर्छौँ’‚ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.