कुनै हालतमा गठबन्धन जोगाएरै अघि बढ्ने माओवादीको दाबी

|

काठमाडौं : राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। निर्वाचन आयोगले फागुन १३ गते उम्मेदवारी दर्ताका लागि समय तोकेको छ।

निर्वाचन आउन १७ दिन बाँकी रहँदा कुन दलबाट राष्ट्रपति हुने विषय पेचिलो बन्दै गइरहेको छ। आइतबार साँझ नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि परिस्थिति बदलिएको स्रोतको भनाइ छ। 

सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका कांग्रेस नेतासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहयोग गर्ने वचन दिएको कांग्रेस नेताहरूले बताउन थालेका छन्न्। 

‘कांग्रेसले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमतिको सम्भावना छ। कांग्रेसका साथीहरूबाट नयाँ शिराबाट अगाडि बढ्न आग्रह गरिएको छ। यसमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ,’ प्रचण्डनिकट स्रोत भन्छ। 

कांग्रेसले पुस १० गते अगाडिको गठबन्धन ब्युँत्याएर जान गरेको प्रस्तावमा प्रधानमन्त्री सकारात्मक देखिएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काम गर्न असहज महसुस गरिरहेको बताउने गरेका छन्। 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले कांग्रेसको उम्मेदवारमा राष्ट्रिय सहमति खोजिने बताए। उनले कांग्रेसले उठाएकै व्यक्तिमा सहमति हुने सम्भावना रहेको बताए। यद्यपि, आफूहरू गठबन्धन जोगाएर जाने अवस्थामा रहेको उनको भनाइ छ। 

आइतबारको भेटमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस नेताहरूले पुस १० गते अगाडिको घटनाक्रम स्मरण गराएका थिए। उनीहरूले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिलेर लडेको विषय स्मरण गराएको भेटमा सहभागी एक नेताले बताए। 

‘पहिला जे भयो भयो। पुस २६ गतेपछि परिस्थिति बदलिएको छ। अब मिलेर जानुपर्छ। राष्ट्रपतिमा हामीलाई सहयोग गर्नुहोस् भनेर प्रस्ताव गरेका छौँ। यसमा प्रधानमन्त्रीजी पनि सकारात्मक नै हुनुहुन्छ। उहाँले पार्टीभित्र छलफल गरेर टुंगो लगाउने बताउनुभएको छ,’ बैठकमा सहभागी एक कांग्रेस नेताले थाहाखबरसँग भने। 

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभामा आफूहरू ठूलो दलको हैसियतमा रहेकाले माओवादी केन्द्रलाई सहयोगका लागि आग्रह गरिएको बताए। प्रतिगमनविरुद्ध एक भएको र दुईवटा निर्वाचन पनि मिलेर लडेकाले नयाँ शिराबाट जाने विषयमा छलफल गरिएको बताए। 

हिजोको भेटमा एमाले बाहेकको उम्मेदवारको विकल्पबारे पनि छलफल भएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारे के गर्ने? भन्ने विषयमा जिज्ञासा राखेका थिए।

एमाले नेता कर्ण थापाले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना नरहेको बताए। उनले माधव नेपालका पछिल्ला अभिव्यक्तिहरूले राष्ट्रपतिमा उम्मेदवार बनाउने परिस्थितिका नरहेको बताए। 
 

‘उहाँ एमालेलाई सिध्याउने बाटोमा हिँडिरहनु भएको छ। उहाँका पछिल्ला अभिव्यक्तिले राष्ट्रपतिको उम्मेदवार बनाउने किसिमका छैनन्,’ उनले भने। 

प्रचण्डको ढुलमुले नीतिप्रति ओली रूष्ट

गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री हुँदा एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति बन्यो। कांग्रेसले प्रधानमन्त्री नदिएपछि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड दुवै पद एमालेलाई दिन राजी भए। तर, पुस २६ गते कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रचण्डको बोली फेरिएको छ। 

उनले राष्ट्रिय सहमतिका आधारमा सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने अडान लिए। सोहीअनुसार प्रचण्ड नेपाली कांग्रेससँग नजिकिएसँगै अध्यक्ष ओली रूष्ट बनेका छन्। पूर्वसहमति तोडेर ढुलमुले नीति लिएका प्रचण्डको बोली फेरिएपछि ओली रिसाएका हुन्।  

‘प्रचण्डजीले पुस १० गतेको सहमति तोड्न खोज्नुभएको छ। हामीलाई यो कुरा स्वीकार्य छैन। उहाँमा ढुलमुले नीति देखियो,’ एमालेका एक नेता भन्छन्। 

दुई नेताबीचको आन्तरिक विवाद निरूपण गर्न अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच नियमित जसो भेटवार्ता भइरहे पनि छलफल सकारात्मक हुन सकेको छैन। 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रस्ताव ल्याएपछि अध्यक्ष ओली रूष्ट बनेका छन्। उनले पुस १० गतेको सहमतिअनुसार जानुपर्ने भएकाले अब छलफलको औचित्य नरहेको जवाफ प्रचण्डलाई दिइसकेका छन्।

पार्टीको कार्यक्रममा आइतबार झापा पुगेका अध्यक्ष ओली काठमाडौं फर्किसकेका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा छलफल गर्नुपर्‍यो भन्दै काठमाडौं बोलाएपछि उनी फर्किसकेको एमाले स्रोतले जानकारी दियो। 

‘प्रधानमन्त्रीजीले आइतबार फोन गरेर काठमाडौं आउनुपर्यो भन्नुभयो। तर, अध्यक्ष कमरेडले तपाईंसँग जति छलफल गरे पनि पुस १० गतेको सहमति नै अन्तिम हुन्छ। अब के छलफल गरिरहनुपर्यो र? एउटै विषयमा कति छलफल गर्ने? म आउँदिन तपाईं जे गर्ने हो गर्नुस् भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक स्थायी कमिटी सदस्यले भने, ‘तर, उहाँ(प्रधानमन्त्री) ले तपाईं नआई भएन भनेपछि अध्यक्ष कमरेड फर्किसक्नु भयो।’ 

एमाले नेता थापा पुस १० को सहमतिअनुसार एमालेको उम्मेदवार तय हुने भएकाले अर्को विकल्पमा सहमति नहुने बताउँछन्। 

‘पुस १० गतेको सहमति माओवादी केन्द्रले तोड्दैन भन्नेमा हामी आशावादी छौँ। एमालेले उठाउने उम्मेदवारमा उहाँहरूले अनावश्यक चासो राख्नुभयो। यसको अर्थ भएन,’ थापाले भने।  

अनावश्यक बाह्य चासो

राष्ट्रपतिको उम्मेदवार चयन गर्न दलहरूलाई सकस परिरहेका बेला बाह्य हस्तक्षेप बढ्न थालेको छ। गत हप्ता काठमाडौं आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्रा राजनीति दलका सबै शीर्ष नेताहरूसँग भेट गरेर फर्किसकेका छन्। 

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका अन्य नेताहरूसँग भेट गरेका थिए। नेताहरूसँगको भेटमा उनले राष्ट्रपतिका विषयमा चासो राखेका थिए। 

यस्तै, नेपालको आन्तरिक मामिलाका जानकार एवं भारतका बुद्धिजीवी एसडी मुनिले राष्ट्रपतिका लागि चार जनाको नाम नै तोकिदिए। उनले राष्ट्रपतिका लागि योग्य भनेर गैर राजनीतिक चार जनाको नाम उल्लेख गरेका हुन्।

‘नेपालमा सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज छ’, ट्वीटरमा उनले लेखेका छन्, ‘देवेन्द्रराज पाण्डे, प्रा.बराल (सम्भवतः लोकराज बराल), दमन ढुंगाना र अनुराधा कोइराला जस्ता इमान्दार र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्ति योग्य छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.