|

काठमाडौं : आलंकारिक भूमिका रहेको राष्ट्रपति पदको निर्वाचन पेचिलो बनेको छ। फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि सत्ता र प्रतिपक्षी दलबीच पेचिलो बन्ने देखिएको हो।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पुस १० गतेको सहमति विपरीत राष्ट्रपतिमा ‘राष्ट्रिय सहमति’ को अड्को थापेपछि परिस्थितिले नयाँ मोड लिएको छ। 

माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको टुंगो लाग्नुपर्ने बताएपछि नेकपा एमाले झस्किएको छ। अध्यक्ष केपी शर्मा ओली एमालेबाट राष्ट्रपति बनाउन विभिन्न विकल्पमा जुटेका छन्।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मानिएको माओवादी केन्द्रले गत आइतबार साँझ नेपाली काँग्रेस नेताहरूसँग भएको छलफलमा ‘ग्रिन सिग्नल’ दिएपछि अध्यक्ष ओली विभिन्न विकल्पमा जुटेका हुन्। 

आफूले प्रस्ताव गरेका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन नगरेपछि उनको नजर पूर्वसहकर्मी एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतिर गएको छ। 

अध्यक्ष ओलीले एमाले नेताहरू डोरमणि पौडेल, गुरु बराल लगायतको नाम प्रस्ताव गरेपछि प्रचण्डले असहमति जनाएका थिए।

यसअघि अध्यक्ष ओलीले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतको नाम प्रस्ताव गरेका थिए तर प्रचण्डले ओलीका विश्वासपात्रलाई समर्थन नहुने बताएपछि उनी अन्य विकल्पमा जुटेका हुन्। 

‘केपी कमरेडले दुईजना डोरमणि र गुरु बरालको नाम प्रस्ताव गरे पनि अध्यक्ष कमरेडले असहमति जनाउनुभएछ। त्यसपछि उहाँ अन्य विकल्पमा जानु भएको हो’, प्रधानमन्त्री निकट एक नेताले थाहाखबरसँग भने, ‘उहाँले प्रस्ताव गरेका नाममा सहमति जुटाए भोलि हामी नै अप्ठेरोमा पर्छौं। यस कारण हामीले राष्ट्रिय सहमतिको विषयमा बोल्दै आइरहेका छौँ।’

अध्यक्ष ओलीले सोमबार साँझ महाराजगञ्जस्थित एक घरमा भएको ४ घण्टा लामो वार्तामा एकीकृत समाजवादी एमालेमा समाहित गर्न र राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरे।

‘केपी ओलीजीले हाम्रा अध्यक्ष कमरेड (माधव नेपाल)सँगको भेटमा राष्ट्रपतिको रूपमा अघि सार्ने प्रस्ताव गर्नुभएछ तर त्यसका लागि पार्टी एमालेमा समाहित गर्न भन्नुभएछ’, एकीकृत समाजवादीका एक नेताले भने। 

अध्यक्ष नेपालले राष्ट्रपतिको विषयमा बोल्न आनाकानी गर्दै ‘पर्दा’भित्र नै रहन दिनुपर्ने बताए। यद्यपि उनले आफ्नो पार्टी पनि पावर सेयरिङमा सहभागी हुनुपर्ने बताए। 

‘प्रेसमा आएका कुरा सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन। विभिन्न पक्षले के के अनुमान गर्छन्‚ सुनौँ। अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन। पर्दाभित्रै रहन दिनुपर्छ, पर्दाभित्र नै रहोस्’‚ अध्यक्ष नेपालले भने, ‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ। अरूका निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरूले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन।’ 

ओलीको कुटिल चाल

नेपाली काँग्रेसका नेताहरू आइतबार राति राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्रीनिवास बालुवाटार पुगे। भेटमा कांग्रेस नेताहरूले केपी ओलीले यसअघि दुईपटक प्रतिनिधिसभा विघटन गरेको र निर्वाचनमा आफूहरू मिलेर गएको विषय स्मरण गराएपछि प्रधानमन्त्री प्रचण्ड लचिलो देखिएका छन्। 

काँग्रेस नेताहरूले राष्ट्रपतिमा सर्वस्वीकार्य उम्मेदवार पाउने जवाफ दिएपछि प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने वचन दिए।

काँग्रेस सभापति शेरबहादुर देउवा पार्टीका उपाध्यक्ष, महामन्त्री, वरिष्ठ नेतासहितका नेताहरू लिएर बालुवाटार पुगेपछि अध्यक्ष ओली पनि सतर्क बनेका छन्।

उनले सर्वस्वीकार्य व्यक्ति नल्याए माओवादी केन्द्रको साथ नपाउने भएपछि एकीकृत समाजवादीका अध्यक्षलाई राष्ट्रपतिमा अघि सार्ने नीति लिएका हुन्।

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई दलको रूपमा नहेर्ने ओलीले राष्ट्रपतिमा अफर गरेसँगै माओवादी केन्द्र सशंकित बनेको छ। 

‘ओलीजीले हिजोसम्म माधव नेपालको पार्टीलाई दलको रूपमा हेर्नुहुन्नथ्यो तर परिस्थिति बदलिने संकेत पाएपछि उहाँ(माधव नेपाल)लाई अगाडि सार्नुमा केही रहस्य छ। राजनीतिक परिघटनाबारे उहाँ चलाख हुनुहुन्छ। यो पनि ओलीजीको कुटिल चाल हुनसक्छ। यसमा हामीलाई पनि सोच्न बाध्य बनाएको छ’‚ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने। 

हिजोसम्म ओली र नेपालबीच पानी बाराबारको स्थिति थियो तर ओलीले परिस्थिति नियन्त्रणमा लिन अचानक राष्ट्रपति बन्न प्रस्ताव गरेपछि स्वयं एकीकृत समाजवादी पार्टी पनि सशंकित बनेको छ।

समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले दुई नेताहरूबीच पछिल्लो समसामयिक विषयमा कुराकानी भए पनि राष्ट्रपतिबारे औपचारिक प्रस्ताव नआएको बताए। 

‘नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच सुमधुर सम्बन्ध छैन। उहाँले हामीलाई दलको मान्यता दिनुभएको छैन। पार्टी एकताको कल्पना गर्न सकिँदैन’‚ प्रवक्ता खतिवडाले थाहाखबरसँग भने‚ ‘ओलीजीले आफू चौतर्फी रूपमा घेराबन्दीमा परेपछि सम्बन्ध सुधारको प्रयास गर्नुभएको हुनसक्छ तर राष्ट्रपतिमा औपचारिक प्रस्ताव गर्नुभएको छैन।’ 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले नेताहरूबीच पछिल्लो घटनाक्रमबारे छलफल भएको बताए। 

ओलीको ढोक्सामा पर्लान् माधव नेपाल?

आजभन्दा दुई वर्ष अघिसम्म केपी ओली र माधव नेपाल एउटै दलमा थिए। माधव नेपालले पार्टी फुटाएर गएपछि दुई नेताबीचको सम्बन्धमा चिसोपना आएको छ।

सार्वजनिक कार्यक्रमहरूमा पनि दुवैले एक अर्कालाई खुवै गाली गर्थे तर माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएपछि दबाबमा परेका अ‍ोली नेपालसँग नजिकिएका छन्। 

ओलीले गत माघ २२ गते प्रतिनिधिसभाको रोष्टमबाट कांग्रेसलाई लक्षित गर्दै भनेका थिए– यदि यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने यो स्वागतयोग्य छ। ढोक्सा हो भने म भन्न चाहन्छु, जाल हो भने म भन्न चाहन्छु, माछा नभएको खोलामा जाल फ्याँके जस्तै हुनेछ। केही यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ। त्यस पानीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेछैन।

उनै ओलीको भाषामा भन्ने हो भने यति वेला उनी माधव नेपालमाथि ढोक्सा थापिरहेका छन्। नेपाललाई राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेका ओलीको ढोक्सामा पर्ने सम्भावना बढेर गएको छ। 

एकीकृत समाजवादी सचिवालय सदस्यका अनुसार तत्काल उक्त सम्भावना नरहेको बताउँछ। 

‘ओलीजीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थाप्यो भन्नुहुन्थ्यो। अहिले त्यही ढाेक्सा हामीमाथि थाप्न खोज्दै हुनुहुन्छ। उहाँकाे ढाेक्सा थाप्ने प्रयास तत्कालै सफल हुने छाँट छैन्’‚ ती सचिवालय सदस्यले भने, ‘पुरानो गठबन्धन फुटाएर नयाँ गठबन्धन बनाउनु भएको छ। हामी त्यसमा आबद्ध छैनौं। अध्यक्ष कमरेडले यति चाँडै अपरिपक्क निर्णय गर्नुहुन्न भन्ने लाग्छ।’ 

ओलीले थापेको ढोक्सामा एकीकृत समाजवादी पर्ने सम्भावना कतिको छ? भन्ने प्रश्नमा प्रवक्ता खतिवडा भन्छन्, ‘परिस्थिति त्यसरी विकसित भएको छैन। अहिले भ्रूण अवस्थामा छौं। पार्टीभित्र छलफल भएपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ।’   

राष्ट्रपतिको निर्णय प्रचण्डले गर्ने

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा आफैं निर्णय गर्ने भएका छन्। सोमबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता गर्ने दिन भएकाले उक्त विषयमा निर्णय गर्ने अधिकार आफैंसँग राखेका हुन्। 

‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौं। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले भनेका छन्, ‘सहमति नभएको अवस्थामा के गर्ने र कस्तो पात्रलाई समर्थन गर्ने भनेर मलाई अधिकार दिनुस्, किनकि तत्कालै बैठक बस्न सम्भव हुँदैन।’

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य दीनानाथ शर्माले शान्ति प्रक्रिया, संविधानको रक्षा, संघीयताबारे प्रतिबद्ध भएको व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न सकिने बताए। 

‘हालसम्म अड्किएर रहेको शान्ति प्रक्रिया, संविधानको रक्षा र संघीयताका विषयमा प्रतिबद्ध व्यक्तिलाई हाम्रो समर्थन रहन्छ। चाहे त्यो कांग्रेस होस् या एमाले’, उनले थाहाखबरसँग भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.