|

गौर : बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरका कारण रौतहटका उद्योगी व्यवसायी तथा सर्वसाधारण बिचल्लीमा परेका छन्। 

बैंकहरूको ब्याजदर एक्कासी अस्वाभाविक वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियत दरमा ऋण लिएकाहरू मर्कामा परेका छन्। 

बैंकहरूको ब्याजदर ११ प्रतिशतबाट बढेर १८ प्रतिशतसम्म पुगेपछि बैंकको किस्ता तिर्न नसकेर ऋणीहरू समस्यामा परेका छन्। बैंकको ब्याजदर उच्च विन्दुमा पुगेपछि ऋण लिएका कतिखेर घरघडेरी लिलाम हुन्छ भन्ने चिन्तामा परेका छन्।

एकातर्फ देशमा बढेको महँगीको मार खेपिरहेका व्यवसायी तथा आमनागरिक अहिले बढेको बैंकको चर्को ब्याजदरको मार खेप्न बाध्य छन्। 

यसै वेला अत्यासलाग्दो महँगी छ। जनताको दैनिक खर्च भने आकाशिएको छ तर ज्याला र पारिश्रमिक बढेको छैन। अर्कोतर्फ विभिन्न कामका लागि नागरिकले बैंकबाट लिएको कर्जाको ब्याजदर झन् झन् महँगो हुँदै छ। यसले ऋणीहरूलाई थप समस्यामा पारेको छ। 

उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण चेपुवामा परेको उपभोक्ताकै काँधमा बढ्दो ब्याजदरको भार पनि थपिएको छ। कसैले त्यो आर्थिक बोझ प्रत्यक्ष उठाइरहेका छन् भने कतिपयले उत्पादनको लागतमा भएको वृद्धिले थप मूल्यवृद्धि हुँदा अप्रत्यक्ष रूपमा उपभोक्ताकै रूपमा थप भार खेपिरहेका छन्।

देशको अर्थतन्त्र निकै कमजोर भएको तथा महँगी ह्वात्तै बढेका कारण व्यापार व्यवसाय चौपट भएको अवस्थामा बैंकको ब्याजदर उच्च बिन्दुमा पुगेका कारण बैंकको किस्ता तिर्न नसकेर व्यवसायीलाई यतिखेर बाँच्नै मुस्किल भएको नेपाल सुनचाँदी महासंघका मधेश प्रदेश अध्यक्ष रामजी साह सोनारले बताएका छन्। 

उनले भने, ‘कसैले ९ प्रतिशतमा त कसैले १० र ११ प्रतिशत ब्याजदरमा बैंकबाट कर्जा लिएका छन् तर अहिले १८ प्रतिशतसम्म पुगेपछि ऋणीलाई किस्ता तिर्न निकै सकस भएको छ।’ 

बैंकहरूले ९, १० र ११ प्रतिशत ब्याजदरमा कर्जा दिए पनि अहिले १८ प्रतिशतसम्म ब्याज लिने गरेका कारण व्यवसायी तथा सर्वसाधारण निकै समस्यामा परेको उनले बताए।

‘व्यापार छैन, सटर भाडा त्यतिकै महँगो छ’‚ उनी भन्छन्, ‘भाडा तिर्ने कि बैंकको किस्ता तिर्ने भन्ने अवस्थामा व्यापारी पुगेका छन्।’ ब्याजदर बढेकै कारण व्यवसायबाट पालयन हुनुपर्ने अवस्था आएको समेत उनले बताए।

केही वर्षअघि एक बैंकबाट १०.६५ प्रतिशत ब्याजदरमा गरुडा नगरपालिका वडा नं ५ का जलन्धर साहले घर बनाउन कर्जा लिए। कर्जा लिएरै भए पनि उनको सपना पूरा त भयो तर पछिल्लो एक वर्षमा बढेको कर्जाको ब्याजदरले घर लिलाम हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहेको छ।

‘घर त बन्यो, बैंकले नै फिर्ता लैजाला जस्तो छ’, उनी भन्छन्, ‘यत्रो महँगो ब्याज कसरी तिर्नु खै ?’

ब्याजदर वृद्धिले स्वरोजगामूलक व्यवसाय गरिरहेका युवा पनि उत्तिकै प्रभावित छन्। एक वर्षअघि मात्रै बैंकबाट कर्जा लिएर शिवनगरमा व्यवसाय सुरु गरेका माधवनारायाण नगरपालिकाका शिवजी सिंहले व्यापार पनि घटिरहेका वेला कर्जाको ब्याजदर बढ्दा निद्रा हराएको गुनासो गर्छन्।

‘त्यति वेलाको आम्दानी हेरेर कर्जा लिएको थिएँ। ब्याज बढे पनि यति माथि जाला भन्ने सोचेकै थिइनँ’, सिंह भन्छन्, ‘महँगीले केही चिज छोइनसक्नु छ। कमाएको पैसाले परिवार चलाउनै मुस्किल छ, बालबच्चाको पढाइ र औषधि उपचार खर्च गर्नै पर्‍यो। यस्तो अवस्थामा बैंकको किस्ता कसरी तिर्ने?’

जिल्लाका अधिकांश व्यवसायीको व्यवसाय यतिखेर बढ्दो ब्याजदरको चपेटामा परेका छन्। अहिले मध्यम र निम्न मध्यम वर्गमा ऋणीलाई नियमित किस्ता तिरेर बल्लतल्ल जोडेको सम्पत्ति कसरी जोगाउने भन्ने चिन्ता छ। महँगीले आक्रान्त विपन्न वर्गलाई दैनिक गुजारा चलाउनै सकस छ।

आर्थिक मन्दीका कारण उपभोक्ताको क्रय शक्ति समेत घटेको छ। बजारमा भीडभाड छ तर व्यापार छैन। व्यापारीलाई यतिबेला सबैभन्दा बढी तनाव बैंकको ब्याजदरले दिएको छ। कैयौँ व्यापारी सटर बन्द गरेर भनिरहेका छन्, ‘व्यापारी चुस्ने गरी ब्याज बढाउने बैंकहरू मुर्दाबाद !’

केही वर्ष कोरोना महामारीले थलिएका व्यवसायी अहिले बैंकको बढ्दो ब्याजदरले फेरि थलिएका छन्। व्यवसायीलाई एकातिर व्यापार नचल्नुको पीडा छ भने अर्कोतिर चर्को महँगीमा बैंकको ब्याज र किस्ता तिर्नुको पीर। तैपनि सरकार टुलुटुलु हेरेर मात्र बसेको व्यापारीको गुनासो छ।

उद्योगी व्यवसायीहरूले बढ्दो ब्याजदरको विरोध गर्दै बैंकले अस्वाभाविक रूपमा वृद्धि गरेको ब्याजदर घटाउन सरकारसँग माग गरेका छन्। 

चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी बनेको भन्दै उनीहरूले ब्याजदर घटाउन माग गरेका हुन्। बढ्दो बैंकको ब्याजदरको विरोध गर्दै जिल्लाका कतिपय व्यवसायीले बैंकमै धर्ना दिने तयारी समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.