|

काठमाडौं : नेपालको आन्तरिक मामिलामा दक्खल राख्‍ने भारतीय बुद्धिजीवी एसडी मुनीले राष्ट्रपतिमा चार जनाको नाम सुझाए।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेका बेला मुनीको खुलमखुला चुनौतीले नेपालमा बाह्य हस्तक्षेप रहेको स्पष्ट हुन्छ। 

मुनीले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपतिको माग जायज रहेको उल्लेख गर्दै गैरराजनीतिक चारजना देवेन्द्रराज पाण्डे, प्रा.लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएपछि नेपालमा आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रहेको भान हुन्छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहँदा नेकपा एमाले एवं नेपाली कांग्रेसले आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्।

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहँदा मुनीको यस्तो धारणाले नेताहरूमा स्वतन्त्र निर्णय गर्नसक्ने क्षमता नरहेको पुष्टि हुन्छ। 

गत फागुन १ गते सचिवस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने भेटवार्ता गरेर फर्किएका छन्। छोटो समयमा राजनीतिक दलका सबै प्रतिनिधिसँग भेट गरेका उनको भ्रमण राष्ट्रपति निर्वाचनमा केन्द्रित थियो। 

यस्तै, अमेरिकाबाट पनि एक महिनाको अवधिमा तीनवटा उच्चस्तरीय भ्रमण भइसकेका छन्। माघ १५ गते अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग निकाय (युएसएआइडी)की प्रशासक सामन्था पावरले नेपाल भ्रमण गरिसकेकी छन्। 

दक्षिण तथा मध्यएशिया मामिला विभागकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर फागुन १ गते काठमाडौं आएर फर्किसकेकी छन्। राष्ट्रपति बाइडेनको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया पनि उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेर फर्किइन्। 

यस्तै, नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रचण्डसँग भेट गरेका हुन्। उनले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए। 

राष्ट्रपतिको निर्वाचनमा दलहरूबीच खिचातानी भइरहेका बेला एक महिनाको अवधिमा दुई देशबाट भएका उच्चस्तरीय भ्रमण यसै विषयमा केन्द्रित रहेको बताइएको छ। 

बक्सिङ रिङ बन्ने खतरा

२०७८ जेठ २९ गते पाँचजना पूर्व-प्रधानमन्त्रीहरूले देशमा बाह्य हस्तक्षेप बढेको भन्दै संयुक्त विज्ञप्ति जारी गरे। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध एकै कित्तामा उभिएका पाँच पूर्व-प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले भनेका थिए– नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यानाकर्षित गर्न चाहन्छौँ।

तर, तीनै नेताहरू यतिबेला आफू अनुकूलको परिस्थिति निर्माण गर्नका लागि बाह्य शक्तिहरूलाई अनुमति दिइरहेका छन्। नेपालले आन्तरिक रूपमा समाधान गर्नुपर्ने विषयमा दलहरूले बाह्य शक्तिलाई मैदानमा उतारेका छन्। 

परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डे आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप निम्त्याउन नेपालका नेताहरूले भूमिका खेलेको बताउँछन्। उनले नेताहरूका गलत प्रवृत्तिका कारण देशलाई बक्सिङ रिङमा परिणत हुने खतरा रहेको बताए। 

‘आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप निम्त्याउने नै नेपाली नेताहरू हुन्। यसरी नेपाल देशलाई बक्सिङ रिङमा परिणत हुने खतरा हुन्छ,’ पाण्डेले थाहाखबरसँग भने। 

पूर्व-राजदूत राजेश्वर आचार्यले नेपालको कमजोर परराष्ट्र नीति र नेताहरूको कमजोर भूमिकाबाट बाह्य शक्तिले खेल्न मौका पाउने बताए। उनले अमेरिकाले नेपालसँग सिधा सम्पर्क राख्न थालेपछि भारतले आफ्नो प्रभुत्व जमाउने प्रयास गरिरहेको बताए। 

‘नेपालको तरल राजनीतिक अवस्था रहेका बेला विभिन्न मुलुकहरूका स्वार्थ अनुकूलका सक्रियता छन्। उनीहरू (बाह्य शक्ति) देशको आन्तरिक भूराजनीतिक स्थिति र नेतासँगको प्रत्यक्ष सम्पर्कका कारण सक्रिय छन्। पहिले अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्थ्यो। तर, अहिले अमेरिका प्रत्यक्ष रूपमा आफैँ संलग्न भएपछि भारत झस्किएको छ। किनकि भारत आफूलाई यसियाको शक्तिशाली र प्रभावशाली राष्ट्रको रूपमा आफूलाई उभ्याउन खोज्छ। तर, हामी जस्तो मुलुकले अन्य देशलाई स्पेश दिने कि नदिने भन्ने निर्क्योल गर्नुपर्छ।’

नेपालका राजनीतिक दलहरू एकजुट भएर बाह्य शक्ति राष्ट्रहरूलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्नका लागि आफ्नो ‘ओपिनियन’ भन्न सक्नुपर्ने आचार्यको भनाइ छ। 

‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेताहरूले नै एकै स्वरमा भन्न सक्नुपर्छ– यो हाम्रो आन्तरिक विषय हो, तिमिहरूले हस्तक्षेप गर्न पाउँदैनौँ। राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचन भारत, चीन, अमेरिका, भुटान लगायतका देशहरूमा पनि हुने गर्छन्। तर, नेपालले हस्तक्षेप गर्दैन,’ उनले भने, ‘हामीले नामै तोकेर उपर्युक्त पात्रको नाम उल्लेख गर्दैनौँ। तर, भारतीय एकजना व्यक्तिले नामै तोकेर भन्नु वाञ्छनीय हुँदैन।’ 

पूर्वराजदूत नीलाम्बर आचार्यले नेताहरूले नै बाह्य शक्तिलाई प्रवेश गराएकाले उनीहरूलाई गाली गर्नुको कुनै अर्थ नहुने बताए। उनले देशको आन्तरिक मामिलामा निर्णय गर्ने क्षमता राख्नुपर्ने बताए।  

‘दलहरूले आफ्नो अनुकूलको व्यक्ति भए बाह्य शक्तिलाई प्रवेश गराउँछन्। हामीले विदेश नीति परिवर्तन गर्न ढिला गरिसक्यौँ। विश्वमा नयाँ नयाँ परिवर्तनहरू आइरहेका छन्। यसबाट हामी पनि अछुतो रहन सक्दैनौँ। आन्तरिक मामिलामा निर्णय गर्ने क्षमता राख्नुपर्दछ,’ आचार्यले भने।  

नेकपा एमालेका सांसद रघुजी पन्तले शक्ति राष्ट्रका प्रतिनिधिहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरे। नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधीन नभएको मुलुकको लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गरे।

उनले हाम्रो राजदूतले भारतको विदेशमन्त्रीसमेत भेट्न नपाउने तर त्यहाँका विदेश सचिवले प्रधानमन्त्री, पूर्व-प्रधानमन्त्रीसमेत भेटन पाउने विषय सही नभएको पनि विषय उठान गरे। 

सांसद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भने पनि सो अनुसारको काम गर्न नसकेको बताए। 

 ‘आज दुःखको कुरा हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा विदेशमा भारतको एउटा जेएनयूका पूर्व प्रोफेसरले हाम्रा पूर्व-राजदूतको नाम, हाम्रा पूर्व-सभामुखको नाम, पूर्व-अर्थमन्त्री, मानवअधिकारवादी लगायतका ३-४ जनाको नाम यिनीहरू चाहिँ नेपालको राष्ट्रपति हुनका लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छन्। कस्तो दिन आयो?,’ पन्तले भने, ‘ यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने। त्यो देशको विदेश सचिव आएपछि हाम्रो सारा अखबारका कटिङ हेरौं–लाजमर्दो लाग्छ। सारा पूर्व-प्रधानमन्त्रीलाई भेटेको छ। सारालाई भेटेको छ। यस्तो किन हुन्छ? त्यसैले म यो विदेशीहरूसँगको भेटघाटलाई नेपाल सरकारको ध्यान एकदम तदारूकताका साथ यसतर्फ जाओस् भनेर आग्रह गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.