|

विराटनगर : राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै  केन्द्रमा सत्ता समीकरण फेरिएको छ। जसको असर प्रदेशमा समेत  पर्न थालेको  छ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारबाट  नेकपा एमाले र  राप्रपाले सरकार  छोड्दै गर्दा प्रदेश १ मा भने तत्काल सरकार नछोड्ने बताइएको छ।

प्रदेश १ मा नेकपा एमालेका  हिक्मतकुमार कार्कीको नेतृत्वमा मओवादी, राप्रपा र जसपा सहभागी रहेका छन्।  

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय सरकार र प्रदेश सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय  गरेको थियो। तर, प्रदेश १ सरकारबाट  तत्काल  अलग नहुने राप्रपाका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिएका थिए। 

प्रदेश १ मा अन्य प्रदेशको भन्दा भिन्न परिस्थिति भएकोले अहिलेको सरकारलाई निरन्तरता दिने राप्रपाका नेताहरू बताउँछन्।

यता, जसपाको पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने पार्टीको कुनै ठोस् निर्णय नआएको जसपाका नेता एवम् पूर्व-स्वास्थ्यमन्त्री जयराम यादव बताउँछन्। ‘सरकारलाई हामीले दिएको समर्थन यथावत छ, त्यो फिर्ता गर्ने या नगर्ने भन्ने पार्टीमा कुनै निर्णय भएको छैन,’ उनले भने,‘केन्द्रमा त मन्त्री क्याविनेटमा छैनौँ, यता प्रदेश १ मा एकजना  सरकारमा हुनुहुन्छ, त्यो के गर्ने भन्ने अहिले नै कुनै छलफल भएको छैन।

यता, सत्ता साझेदारको ठूलो दल नेकपा माओवादी केन्द्रले पनि प्रदेश १ सरकारबाट  तत्काल नबाहिरिने माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन्।

नयाँ सत्ता समीकरणको विषयमा प्रदेश १ मा कुनै पनि छलफल नगरेको बताउँदै उनले सत्ता समीकरण फेरबदल भइहाल्ने सम्भावना नरहेको बताए। ‘अहिलको सरकरमा हाम्रो सहभागिता पनि छ,हाम्रो समर्थन कायमै  छ,’ उनले भने, ‘तत्काल अहिलेको  सरकारको निरन्तरता हुन्छ।’

नेकपा एमालेको तर्फबाट मन्त्री रहेको सामाजिक विकासमन्त्री बुद्धिराज भण्डारीले सरकार आफ्नै दलको नेतृत्वमा रहेकाले   सरकारबाट बाहिरिन जरुरी नरहेको बताए। ‘हामीलाई  सरकार छोड्न कुनै आवश्यकता छैन, प्रदेशमा हाम्रो सरकार छ’उनले भने,‘अरूलाई सहज छैन सरकार चलाउन, प्रतिपक्षसँग मिल्दा सरकार बन्न गाह्रो छ,  राप्रपा संघमा बाहिरिसकेको छ, प्रदेशमा जारी छ तर प्रदेश १ समर्थन फिर्ता लिएको छैन त्यसैले प्रदेश १ सरकारलाई गाह्रो छैन।'

प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्ने  ९३  जना  सांसद छन्।  प्रदेशसभामा बहुमतको लागि ४७ सांसदको आवश्यकता पर्छ।  एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.