|

काठमाडौं : राष्ट्रपतिको निर्वाचन आउन ६ दिन बाँकी छ।  फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन्।

पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ। यस्तै उपाध्यक्ष नेम्वाङलाई हालसम्म कुनै पनि दलले खुलेर समर्थन गरेका छैनन्। 

राष्ट्रपतिका दुवै उम्मेदवारहरूले आ–आफ्नो तरिकाले भोट मागिरहेका छन्। नेम्वाङले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी पार्टी कार्यालयमा पुगेर भोट मागे। रास्वपाले ‘राष्ट्रपति चुनावमा पुस १० को सहमतिलाई मध्यनजर गर्छौं’ भन्ने जवाफ दिए पनि नेम्वाङलाई नै भोट दिन्छौं भनेको छ। 

सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएकाले रास्वपाले अन्तिममा पौडेलकै पक्षमा मतदान गर्ने निर्णय पनि गर्न सक्ने चर्चा छ।

राप्रपाले पनि २४ गते बैठक बसेर निर्णय गर्ने बताएको छ। एकीकृत समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र त्यसबाट पछि हट्न नसकिने भएकाले भोटको आश नगर्न जवाफ दिएको छ।

नेम्वाङले नेपाली कांग्रेसबाहेकका दलहरूसँग पनि भोट मागिरहेका छन्। उनले शुक्रबार ८ दलीय गठबन्धनमा रहेको लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग पनि भोट मागेका छन्। यद्यपि नेम्वाङले लोसपा र नागरिक उन्मुक्तिको भोट पाउने सम्भावना देखिँदैन।

जसपासँग पनि भोट माग्ने नेम्वाङको तयारी छ। तर ८ दलीय गठबन्धनबाट उपराष्ट्रपति पाउने सहमति गरेर बसेको जसपाले पनि नेम्वाङलाई समर्थन गर्न सक्ने संभावना छैन।

यता नेता पौडेलले विभिन्न दलका नेताहरूलाई व्यक्तिगत रूपमा भेटेर भोट मागिरहेका छन्। ८ दलीय गठबन्धनले संघ र प्रदेशका सांसदहरूलाई प्रशिक्षण नै दिएको छ। बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले शुक्रबार सातै प्रदेशका मुकाममा प्रदेशसभा सदस्यहरूलाई भेला गरी प्रशिक्षण दिएको छ।

बागमती प्रदेशको अभिमुखीकरण भने शुक्रबार काठमाडौंमै गरिएको छ। पौडेलले प्रशिक्षण कार्यक्रममा उपस्थित सांसदहरूलाई भेटेर भोट मागेका छन्। 

गोप्य मतदानले नेम्वाङ आशावादी, पौडेल सशंकित

राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ जना सांसदले मत हाल्न पाउँछन्।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सदस्यहरूले गोप्य रूपमा मतदान गर्न पाउने छन्। उनीहरूले स्वविवेकले राष्ट्रपति चुन्न पाउँछन्। यसमा दलको ह्पि लाग्दैन। गोप्य मतदान भएका कारणले दुवै उम्मेदवारहरू आफूले निर्वाचन जित्नेमा ढुक्क जस्तै छन्।

एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङले गोप्य मतदान भएकाले आफूले अन्य दलहरूको पनि भोट पाउने बताए। उनले संविधानको संरक्षक र पालना गर्न आफूले उम्मेदवारी दिएको बताए। 

‘यसमा गोप्य मतदान हुन्छ। प्रतिनिधिसभाको जस्तो प्रस्ताव होइन। यसमा क्रस भोटको सम्भावना हुन्छ। राष्ट्रपतिको निर्वाचनमा विवेकको मत प्रयाेग गर्नुहुन्छ। अहिलेसम्म जति पनि सांसदहरूसँग कुराकानी गरेको छु सकारात्मक प्रतिक्रिया पाएको छु। त्यसैले निर्वाचन जित्नेमा ढुक्क छु,’ उनले भने। 

एमालेका सचिव योगेश भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत नेम्वाङलाई सहयोग गर्न सकारात्मक रहेको बताउँछन्। 

उनले भने,‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो। संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ।’ लोसपाका नेताहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, उहाँहरूले बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ तर उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौँ। राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन। माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छाैं यसमा प्रधानमन्त्री पनि सकारात्मक कुरा भएको बुझेका छौँ ।’

आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता पौडेल विजयी हुनेमा कांग्रेस नेताहरू ढुक्क जस्तै छन्। कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा चुनाव जित्नेमा आफूहरू विश्वस्त रहेको बताउँछन्।

‘हामीलाई निर्वाचन जित्न समस्या छैन। यद्यपि औपचारिक रूपमा सांसदहरूलाई पनि भन्नुपर्यो। रामचन्द्र पौडेललाई राष्ट्रपतिमा किन विजयी गराउने भन्ने विषयमा स्पष्ट हुनुपर्यो नि! त्यसैले अभिमुखीकरण कार्यक्रमहरु भइरहेको हो, ’ उनले भने। 

नेपाली कांग्रेस विशेषगरी नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरूसँग सशंकित देखिएको छ। कांग्रेसले पुस १० गते भएको राजनीतिक परिदृश्य ताजै रहेकाले राष्ट्रपति निर्वाचनमा झट्टै विश्वास गर्न सकेको छैन। 

‘केही आशंका हुने नै भयो। गोप्य मतदान हुने भएकाले आदिवासी जनजातिको भोट नेम्वाङजीले तान्ने आशंका हामीलाई छ। त्यही भएर सांसदहरूलाई बोलाएर प्रशिक्षण दिएका हौं,’ कांग्रेसका एक पदाधिकारीले थाहाखबरसँग भने, ‘हिजो ओलीलाई छोडेर आएकाले आज हामीलाई छोड्दैनन् भन्ने के आधार रह्यो र?’  

तथापि कांग्रेस, माओवादी केन्द्र, जसपासहितका मधेशवादी दलहरूसँग विश्वस्त भने हुने सकेको छैन। कांग्रेसले प्रदेश र केन्द्रका सांसदहरुलाई प्रशिक्षण नै दिइरहेको छ। 

​यो भेलाले तपाईंहरू गठबन्धनका सांसदहरूप्रति ढुक्क हुनुहुन्न भन्ने देखायो नि! भन्ने थाहाखबरकाे प्रश्नमा ती पदाधिकारीले भने, ‘केही सांसदहरू नयाँ हुनुहुन्छ। उहाँहरूलाई भोट हाल्ने तरिका सिकाउनुपर्यो। साथै उहाँहरूलाई पछिल्लाे समय विकसित राजनीतिक घटनाक्रमबारे स्पष्ट पार्नुपर्ने भएकाले पनि यो भेलाको आयोजना गरिएको हो।’ 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान र गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा पौडेल उपयुक्त पात्र भएको बताउँछन्। 

‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गोप्य मतदानको धज्जी उडाउँदै चुनाव अगाडि नै आफूहरूलाई नतिजा थाहा हुने बताए। 

‘भोट तलमाथि हुन्छ भन्ने लाग्दैन। मतभार हिसाब भइहाल्छ। चुनावसम्म छलफल हुन्छ। दलहरूबाट निर्णय हुन्छ। पहिले नै हामीलाई रिजल्ट थाहा हुन्छ, तलमाथि भए लज्जा हुन्छ,’ उनले भने।

महामन्त्री थापाले यसपटक राष्ट्रपतिको निर्वाचनमा हस्ताक्षर नहुने भएकाले संयमित भएर भोट हाल्न सांसदहरूलाई आग्रह गरे। उनले सांसदको भोट बदर भयो भने लाज नै हुने बताए। 

‘यसपटक हामी हस्ताक्षर गर्दैनौं। हरियो मतपत्र संघको, रातो प्रदेशको। २ जना राष्ट्रपति उम्मेदवारको फोटो भएको मतपत्रमा माथि रामचन्द्र पौडेलको नाम छ। तल सुवास नेम्वाङको नाम छ। फोटो भएको ठाउँमा खाली कोठामा स्वस्तिक चिन्ह छाप लगाउने हो। सजिलो छ,’ थापाले भने, ‘यस्तोमा पनि सांसदको भोट बदर भयो भने लाज नै हुन्छ। बदर भयो भने कसलाई भन्न जाने?’

यस्तो छ मतभार

राजनीतिक परिस्थिति नबदलिए आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा पौडेल स्वतः विजयी हुनेछन्। राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ। ८ दलीय गठबन्धनसँग ३२ हजार १२३ मतभार रहेको छ भने एमालेसहित, रास्वपा र राप्रपा गरी तीन दलसँग १९ हजार ३४२ मतभार रहेको छ। 

प्रतिनिधिसभामा ७७, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेको नेपाली कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ। यस्तै माओवादी केन्द्रसँग ७ हजार ७४५ , एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादी पार्टीसँग २ हजार १४५, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, उन्मुक्तिसँग ८९२ र जनमोर्चासँग २०६ मतभार रहेको छ। 

एमालेसँग १५ हजार ३९१, राप्रपासँग २ हजार ४५० र स्वतन्त्र पार्टीसँग १ हजार ५०१ मतभार रहेको छ। साथै नेमकिपासँग २२३, हाम्रो नेपाली पार्टीसँग ९६, समाजवादी पार्टीसँग ४८, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र स्वतन्त्रको ७४८ मतभार रहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.